चैत १६, काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले सबै शिक्षण संस्था मंगलबारदेखि ४ दिन बन्द गर्ने निर्णय गरेको छ।
गत शुक्रबारदेखि काठमाण्डौलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ। सोही विषयलाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा परामर्श गरेका थिए। त्यसपछि मन्त्रालयमा बैठक डाकिएको थियो। सोही बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलतालाई ध्यानमा राखेर सबै शिक्षणसंस्था बन्द गर्नुपर्ने निर्णय गरिएको जानकारी गराए।
सरकारको यो निर्णयसँगै अब सबै शिक्षण संस्थाहरु शुक्रबारसम्म बन्द हुनेछन्।
देशका सयौँ स्थानमा डेढेलो लागेको छ। सोही कारण वायुमण्डलमा धुँवा र धुलोको तुवाँलो लागेको छ। लामो समयको खडेरी अनि हावा सुक्खा भएकोले तुवाँलो अझै केही दिन रहन सक्ने मौसमविद्हरुको अनुमान छ। तीव्र हावासँगै वर्षा भएमात्र वायुमण्डल सफा हुने उनीहरुको निष्कर्ष छ।