भदौ १३, काठमाडौं । तालिबानको पहिलो २० वर्षे शासनकाल टाउको छिनाउने, ढुङ्गा हानेर हत्या गर्ने र बुर्का लगाउन बाध्य पार्ने सहितका महिला विरूद्धका क्रूरता
प्रकट भएका थिए। लडाकुहरू सत्ताबाट बाहिर गएपछि अफगानिस्तानका महिलाहरूले महत्त्वपूर्ण प्रगति हासिल गर्ने क्रममा कतिपय मन्त्री, नगरप्रमुख, न्यायाधीश र प्रहरी अधिकृत बने।तर अहिले उनीहरूको भावी बाटो अनिश्चित बनेको छ।
‘उनीहरूले आफ्ना कपडा, कपाल र दाह्री बदलेका छैनन्। उनीहरूले आफ्नो विचार कसरी बदल्न सक्छन्र ?
'सङ्घर्ष र बलिदानको आवश्यकता'
एक जना महिला पत्रकारले देशका उच्च अधिकारीसँग अन्तरवार्ता गरेको विश्वको अधिकांश ठाउँमा शायदै समाचार बन्छ।
तर महिला र छात्राहरूलाई तालिबानले क्रूर दमन गरेको इतिहासका कारण तालिबानका एक जना वरिष्ठ अधिकारी मौलवी अब्दुल हक हेमादले तेलो न्यूजकी समाचार प्रस्तोता वहिस्ता अर्गन्धको प्रश्नको सामना गर्न सहमति जनाएका थिए।
मङ्गलवार गरिएको उक्त अन्तरवार्ताले अर्को परम्परा पनि तोडेको थियोस् तालिबान नेताले त्यसरी टेलिभिजन स्टुडिओमा दिएको त्यो पहिलो अन्तरवार्ता थियो। तर त्यस्तो मौका पाएपनि अर्गन्ध अझै आशङ्का व्यक्त गर्छिन्।
उनले बीबीसीसँग भनिन्, 'उनीहरूले हामीलाई अफगान महिनासँग कुनै समस्या छैन, हामी उनीहरूका कामलाई समर्थन गर्छौँ भनेका छन्। तर मलाई डर लागिरहेको छ।'
उनले काबुलको उनको स्टुडियो र शहरको वातावरण फेरिएको र आफू पहिला जस्तै पाहुनाहरूसँग विवादित विषयहरूमा खुलेर नबोल्ने गरेको बताइन्।
'मलाई लाग्छ एक वा दुई महिनापछि उनीहरूले हाम्रा लागि कानुन ल्याउनेछन्। मलाई लाग्छ उनीहरूले हामीलाई चाहेको कुरा गर्न दिने छैनन्। उनीहरूले स्वतन्त्र रूपमा रहन कठिन बनाइदिनेछन्।'
'अहिले उनीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन् तर हामी सावधान हुनुपर्छ। म एकदमै सावधान छु।'
सन् १९९० को दशकको अन्त्य र सन् २००० को दशकको सुरुमा शरिया वा इस्लामवादी कानुनको कडा व्याख्यासहित तालिबानले अफगानिस्तानमा शासन गरेका थिए जसका क्रममा उनीहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि समेत प्रतिबन्ध लगाएका थिए।
तालिबान सत्तामा फर्किने अवस्था आए लगत्तै कतिपय टेलिभिजन च्यानलहरूले महिलाहरूलाई समाचार प्रस्तोताको भूमिकाबाट अलग गरे भने कतिले राजनीतिक कार्यक्रम सट्टा इस्लामिक बहसलाई स्थान दिइरहेका छन्।
तर बदला भाव नदेखिएपछि धेरै वटा च्यानलहरू आफ्नो पुरानै तालिकामा फर्किएका छन्। हालैको पत्रकार सम्मेलनमा झन्डै ३ करोड ३० लाख मानिसहरूमाथि अब शासन गर्ने तालिबानले इस्लामवादी कानुनको परिधिभित्र रहेर महिलाहरूलाई पनि काम गर्न र सिक्न दिइने उल्लेख गरेको छ।
तर धेरै ठाउँहरूमा लडाकुहरूले महिलाहरूलाई काम गर्न जानबाट रोकेका छन्। कतिपय महिलाहरूले बीबीसीलाई भयका कारण आफूहरू परै बसेको बताएका छन्।
समाचार कक्षलाई संवेदनशील समयमा आफ्नो आवश्यकता रहेको ठान्दै अर्गन्ध काममा फर्किइन्।
'मैले आफैँलाई भनेँ, जानुपर्छ‘ यो अफगान महिलाहरूको लागि महत्त्वपूर्ण समय हो।'
कार्यालय जाने क्रममा उनलाई तालिबानहरूले रोकेर शरिया अनुसार पुरुष आफन्तलाई साथ नलगाई किन एक्लै हिँडिरहेको भनेर प्रश्न गरेका थिए।
'हामी राम्रो अवस्थामा छैनौँ। हामीलाई थाहा छ यो अफगानिस्तानका महिलाहरूको लागि राम्रो होइन। भावी पिँढीका लागि सङ्घर्ष र बलिदानी हुनुपर्छ।'
'यो उनीहरू अघिल्लो कार्यकाल जस्तो छैन'
काबुलमा निजी क्लिनिक र एउटा अस्पतालमा काम गर्ने एक जना स्त्रीरोग विशेषज्ञले राजनीतिक अस्तव्यस्तताले आफ्नो जीवनलाई गाह्रो नपारेको बताइन्।
'म तीन दिनपछाडि काम गर्न आएँ। अवस्था सामान्य छ,' नाम खुलाउन नचाहने ती चिकित्सकले भनिन्।
उनले तालिबानहरूले महिला चिकित्सकहरूलाई अस्पताल र निजी क्लिनिकमा आएर काम गर्न भनेको पनि उल्लेख गरिन्।
तालिबानले सक्रिय रूपमा कतिपय ठाउँमा मानिसहरूलाई काममा फर्कन भने पनि भयको वातावरण कायम रहेकाले मानिसहरू नफर्किरहेको उनको भनाइ छ।
अफगानिस्तानका कैयौँ ग्रामीण भेगहरूमा स्वास्थ्य सेवा उपलब्ध छैन वा एकदम न्यून मात्रामा उपलब्ध छ।
मातृ मृत्युदर घटाउन उक्त देशले नर्स र महिला स्वयंसेविकाको सङ्ख्या बढाउन कदमहरू चालेको छ। काबुलकी स्त्रीरोग चिकित्सक आशावादी छन्।
अस्पताल जाने आउने क्रममा उनले सडकमा कम मानिसहरू देखेको र धेरै पसलहरू बन्द भएको आफूले देखेको उनले बताइन्।
तर तालिबानले कपडा जाँचका लागि आफूलाई नरोकेको उनको भनाइ छ।
'यो उनीहरूको अघिल्लो कार्यकाल जस्तो छैन। अघिल्लो कार्यकाल भन्दा अलिकति राम्रो छ।'
'महिलाहरू मुद्दा बनेका छैनन्'
अफगानिस्तानको संसद्का २७ प्रतिशत सिट महिलालाई आरक्षित गरिएको छ र अहिले ६९ जना महिलाहरू संसद्मा छन्। तर तालिबानको नेतृत्वक्रममा कोही पनि महिला छैनन् र उनीहरूले समावेशी सरकार गठन गर्छन् भन्ने पनि स्पष्ट छैन।
'हामीलाई उनीहरूको मुद्दा पनि थाहा छैन। उनीहरू कहिल्यै महिलाको बारेमा छलफल गर्दैनन् त्यो हाम्रा लागि चिन्ताको विषय हो,' एक जना सांसद फरजाना कोचाइ भन्छिन्।
महिलाहरू बिनाको सरकारलाई अन्तर्राष्ट्रिय समुदाय र नागरिक समाजले उत्तरदायी रूपमा नलिने उनको भनाइ छ।सडकमा कम महिलाको उपस्थिति जस्तो पछिल्लो नाटकीय परिवर्तनले उनले गम्भीर असहजता महसुस गरेकी छन् तर उनी केही महिलाहरू रोजगारी र शिक्षामा फर्किरहेको स्वीकार गर्छिन्।
'सबै महिलाहरू भयभित भएर ढोका थुनेर बसिरहेका छैनन्। तर महिलाहरू सामाजिक, मानसिक र राजनीतिक रूपमा चुनौती भोगिरहेका छन्। हामीमध्ये अधिकांश लुकिरहेका छौँ। हामी सामाजिक सञ्जालमा देखिन सक्दैनौँ, काम गर्न सक्दैनौँ र घरबाट बाहिर निस्कन सक्दैनौँ।'
काबुलमा ठूलो सङ्ख्यामा महिलाहरूले बुर्का किनिरहेको पनि उनले बताइन्।
तालिबानले सत्ता हातमा लिनुभन्दा अघिबाट नै कोचाइले सशस्त्र समूहबाट धम्कीहरू पाउने गरेकी थिइन्। उग्रवाद विरुद्ध आलोचनात्मक धारणा राख्ने धेरै महिला राजनीतिकर्मीहरू अहिले लुकिरहेका छन्।
२६ वर्षको उमेरमा नगरप्रमुख चुनिँदा कान्छी मेयर बनेकी जारीफा जाफारीले तालिबानको हातबाट आफ्नो हत्या कुरिरहेको बताइन्।
उनले ब्रिटिश अखबार द इन्डिपेन्डेन्टलाई भनिन्, 'म उनीहरू यहाँ आऊन् भन्दै प्रतीक्षा गरिरहेकी छु। म र मेरो परिवारको लागि कुनै सहयोग उपलब्ध छैन। म परिवार र मेरा श्रीमान्सँग बसिरहेकी छु। र तिनीहरू म जस्ता मानिसहरूका लागि आउनेछन् र मलाई मार्नेछन्।'
'म उनीहरूलाई विश्वास गर्दिनँ'
तालिबानहरूले महिला अधिकारबारे भन्ने र व्यवहारमा देखाउने कुरा फरक रहको अफगान शिक्षिका र अधिकारवादी पास्ताना दुर्रानी बताउँछिन्।
बीबीसीसँग कुरा गर्दै उनले विगतमा महिलालाई बुर्का लगाउन बाध्य पारेको र १० वर्षभन्दा माथिको उमेरका छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको उक्त इस्लामवादी समूहले महिला अधिकारका बारेमा थप प्रस्ट पार्नुपर्ने बताइन्। दुरानीले जीवनको जोखिम रहेपनि आफूले बोल्नुपर्ने बताइन्।
'हेरतमा किशोरीहरूले विश्वविद्यालय जान पाएनन्। कान्दाहारका छात्राहरूलाई घर जान भनियो र उनीहरूका पुरुष आफन्तलाई उनको ठाउँमा ब्याङ्कमा काम गर्न भनियो।'
उनले थपिन्, 'तालिबानहरूले विभिन्न देशहरूबाट अफगानिस्तानको मान्यताप्राप्त सत्ताको वैधानिकता खोजी रहेका छन् तर त्यही समयमा उनीहरूले व्यवहारमा के गरिरहेका छन्रु या आफ्नो तल्लो तहमा उनीहरूको नियन्त्रण छैन या उनीहरू वैधानिकता चाहन्छन् तर काम गर्न चाहँदैनन्। यो दुई फरक कुरा हो।'
महिला अधिकारको अर्थ हिँडडुल गर्न पाउने अधिकार, समाजमा घुलमिल हुन पाउने अधिकार, राजनीतिक अधिकार, प्रतिनिधित्वको अधिकार वा मतदानको अधिकार के हो त्यो प्रस्ट हुनुपर्ने उनको भनाइ छ।
जर्मनीले महिलाहरूको अधिकार संरक्षित नगरिए अफगानिस्तानलाई सबै सहायता रोक्ने बताएको छ। कतिपय विश्लेषकहरूले तालिबानहरूले विश्व नेताहरूको समर्थन जुटाउन महिलाहरूलाई बढी स्वतन्त्रता दिने टिप्पणी गरिरहेका छन्।तालिबानहरूले विद्यालयको पाठ्यक्रम बदल्ने चिन्ता पनि दुर्रानीलाई छ।'के छात्राहरूले नियमित पाठ्यक्रम पढ्न पाउँछन् या सबै अफगानले जस्तै इस्लाम मात्रै पढ्न पाउँछन्रु ' उनको प्रश्न छ।'म त्यसमा उनीहरूलाई विश्वास गर्न सक्दिन।'
'मलाई स्वतन्त्रता चाहिएको छ'
अफगान राजधानीमा बसिरहेकी एक जना उद्यमी जसले आफ्नो परिचय जोगाउन उपनाम आजदा प्रयोग गरिरहेकी छन्, उनी तालिबानको प्रतिवद्धतालाई विश्वास गर्दिनन्। नयाँ शासकहरूबाट त्रसित उनको सामान्य माग छ।
'मलाई सबै अफगानको प्रतिनिधित्व रहेको नयाँ सरकार हेर्न मन छ। मलाई तालिबान, प्रतिरोधी समूह, साधारण समूह र सबै धर्म चाहिएको छ। यदि त्यसो भयो भने हामीसँग नयाँ देश हुनेछ र नयाँ भविष्य हुनेछ र अझ चम्किलो भविष्य हुनेछ।'
तर वास्तविकता अझै कठिन बन्दै गइरहेको छ। व्यवसाय बन्द भएपछि र मानिसहरू देशबाट भागिरहेपछि उनले आफ्नो आर्थिक स्वतन्त्रता गुमाइरहेकी छन्।तालिबानको पुरानो शासनले आफूलाई अझै तर्साइरहेको उल्लेख गर्दै उनले अहिले पनि व्यवहार सुध्रने अपेक्षा आफूले नगरेको उनले बताइन्।'उनीहरूले आफ्ना कपडा, कपाल र दाह्री बदलेका छैनन्। उनीहरूले आफ्नो विचार कसरी बदल्नसक्छन्र' यस्ता हल्लाहरूप्रति मेरो विश्वास छैन।'तालिबानले महिला र विभिन्न जातीय समुदायलाई उपेक्षा गरे अफगानिस्तानमा हिंसाको नयाँ श्रृङ्खला सुरु हुने उनले बताइन्।'एउटा अर्को युद्ध हुनेछ। यदि हामी लडेनौँ भने हामी बाँच्न सक्ने छैनौँ। म पनि त्यसमध्ये एक हुनेछु। मैले आफ्नो जीवन गुमाउन सक्नेछु। तर त्यो ठिक छ। म साहसिलो हुनुपर्छ। म अफगानिस्तानबाट भाग्न सक्दिनँ। मसँग त्यै एउटा विकल्प छ।'
- बीबीसी