चैत २२, ललितपुर । एक्सपोज नेपालले ललितपुरमा बुधबार गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले संघीय संसद भवनभित्रकै शौचालयमा प्याड नभएको गुनासो गरेका छन्। महिलाहरुका यस्ता समस्याहरुको समाधान गर्ने सार्वजनिक स्थलमा निःशुल्क प्याड उपलब्ध गराउन नीतिगत रुपमै पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
पूर्वमन्त्री सांसद जुलीकुमारी महतोले सरकारले छाउपडी व्यवस्था हटाउन काम गरेपनि महिनावारीका बेला प्रयोग गरिने प्याड र स्वास्थ्यको विषय सरकारको कम महत्वमा परेको बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको बताइन् । संसदसहित सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने पनि उनको प्रतिवद्धता छ ।
सांसदहरुले घरेलु प्याडको प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
पूर्वमन्त्री सांसद हितबहादुर तामाङले देशभित्र सञ्चालनमा रहेका प्याड उद्योगलाई प्रबद्र्धन गरी स्वदेशी उत्पादनलाई नै प्रमुखताका साथ प्रयोगमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्न सक्ने बताए ।
ऐन, कानुन र विधेयक निर्माण प्रक्रियामा आफूहरूको प्रत्यक्ष संलग्नता रहने हुनाले महिनावारीको विषय संसद र सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ ।
देशभित्रै रोजगारी सिर्जना गरी प्याड बनाउने सिपको प्रबद्र्धन र उत्पादन गर्ने उद्योगलाई विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो । सरकारले विद्यालयमा वितरण गर्न उपलब्ध गराएको प्याडसमेत उचितरूपमा वितरण हुन नसकेको उनको भनाइ छ ।
सांसद शुशिला श्रेष्ठले सरकारले विद्यालय क्षेत्रमा निःशुल्क वितरण गर्ने प्याड गुणस्तरीय नहुँदा झनै स्वास्थ्य समस्या बढ्ने भएकाले राज्य नै गम्भीर हुनुपर्ने बताइन् ।
सांसद ऐनबहादुर शाहीले महिनावारी र यसको स्वास्थ्यको विषय सार्वजनिक महत्वको र नीतिगत तहबाट काम गर्नुपर्ने विषय भएको औँल्याउँदै संसदमा आफ्नो शशक्त भूमिका रहने प्रतिबद्धता जनाए ।
सांसद छिरिङ ल्यामु लामा तामाङले कतिपय समुदायमा महिनावारीका भेदभावजन्य क्रियाकलाप नहुने गरेका कारण महिनावारी स्वास्थ्यको विषय ओझेलमा परेको स्मरण बताए ।
सांसद निशा डाँगीले नेपालमा उत्पादन हुने प्याडमा लाग्ने कर मिनाहा गर्न संसदमा पहल गर्ने बताइन् । संसद भवनभित्रै पनि शौचालयमा प्याड नभएको उल्लेख गर्दै उनले सार्वजनिक स्थलमा निःशुल्क प्याड पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
सांसद सपनाराज भण्डारीले सञ्चार माध्यममा समेत विदेशी उत्पादनको प्रचार प्रसार हुँदा नेपालमा उत्पादित प्याडको बजारीकरण हुन नसकेको बताए ।
सांसद कल्पना मियाँ कुसारीले स्वेदशी उत्पादनमा विश्वास गर्ने परिपाटी नहुँदा पनि स्थानीय प्याड उद्योगहरू प्रबद्र्धन हुन नसकेको बताए ।
सांसद अनिशा नेपालीले लाजको विषय र विभेदको विषय बनाइएको महिनावारीका बारेमा जनस्तरमा चेतना पुर्याउन नसकिएको बताइन् ।
सांसद आशा विकले महिनावारीका बारेमा विधेयक बनाएर प्रक्रियामा लैजान प्रयास गर्ने बताइन् ।