पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना भण्डारी भीरबाट लडेर गम्भीर घाइतेलाई उनलाई उपचारका लागि आफन्तले धनगढी लगे । चिकित्सकले धनगढीमा उपचार सम्भव नहुने र सुविधासम्पन्न अस्पताल समयमै पुर्याउन सके बाँच्ने झिनो आशा रहेको बताए ।
धनगढी पुर्याउन पनि ऋण गरेका आफन्तले थप खर्च जुटाउन सक्ने अवस्था थिएन । उपचार सम्भव नभएपछि ज्यानको आस मारेका आफन्तले बझाङ फर्काउने निर्णय गरे । घर ल्याउने क्रममा कात्तिक ७ गते राति डडेलधुरा पुग्दै गर्दा बाटोमै उनको मृत्यु भयो ।उनका श्रीमान् मजदुरीको सिलसिलामा भारतमा थिए ।
भोलिपल्ट दाहसंस्कारका लागि गाउँनजिकै पर्ने कालंगा नदी किनारको घाटमा लगियो । उपचारका क्रममा समस्या झेलेका आफन्तले दाहसंस्कार गर्दा पनि आपत खेप्नुपर्यो । किनकि, नदी पूरै सुकेको थियो ।
बझाङमा दाहसंस्कार गर्दा नदी किनारको चितामा शव जलाउने र नजलेको अस्थी पानीमा बगाउने चलन छ । ‘गाउँनजिकै भएको हुनाले मलामीले गाउँ गएर फेरि दाउरा ल्याए । दाउराकै बलमा लास जलाएर खरानी बनायौं,’ मृतकका देवर जीवन भण्डारीले भने, ‘नदीमा त खरानी बगाउने पानी पनि थिएन ।’ शव जलाएपछि मलामी सबैले नदीमै नुहाइसकेर मात्रै घर फर्किनुपर्नेमा पानी नभएका कारण नदीमा खाल्टाखुल्टीमा जमेको पानी छर्केर फर्के ।
१५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि नदी पूरै सुक्ने गरी सबै पानी सुरुङमा पठाएपछि केदारस्यूँ गाउँपालिकाको सैन्सु मात्रै नभएर थापागाउँ, लोतागडा, विणा, भाड्सैन, भामचौर तथा वित्थडचिर गाउँपालिकाका स्थानीयले गर्ने दाहसंस्कार कर्म प्रभावित भएको छ ।
कालंगा नदीको बुंगल नगरपालिकाको पाउटादेखि बित्थडचिर गाउँपालिकाको रुपैलसम्म करिब साढे तीन किलोमिटर नदी खण्ड गत २०७९ चैतदेखि पूर्ण रूपमा सुकाइएको छ । यो क्षेत्रमा केदारस्युँ र बित्थडचिर गाउँपालिकाका स्थानीयको मृत्यु हुँदा दाहसंस्कार गर्ने पाँच वटा मसानघाट छन् । ‘नजिक गाउँका मान्छे त दाउरा बोकेर ल्याउँछन् । टाढा–टाढाका मानिस पनि तीनरचार घण्टा लास बोकेर दाहसंस्कार गर्न यहीं आउँछन्,’ सैन्सुका धर्मराज भाट भन्छन्, ‘उनीहरूलाई झनै समस्या भएको छ । लास बगाउने पानी त छोडिदेऊ भनेर हाइड्रोका मान्छेसँग हारगुहार गर्नुपर्छ ।’ आयोजनाका कर्मचारीसँग पहुँच हुनेहरू अनुरोध गरेर दाहसंस्कार हुन्जेल पानी छोड्न लगाउने गरे पनि सर्वसाधारणलाई यो सुविधा नदिइएको स्थानीय बताउँछन् ।
आयोजनाले नदी पूरै सुकाएपछि स्थानीयको दाहसंस्कार कर्म मात्रै नभएर दैनिक जनजीवन नै प्रभावित भएको छ ।