पुस २३, बुटवल । असोज ८ मा पतिबाट मरणासन्न हुनेगरी कुटिएकी पूजा असोज २९ देखि रुपन्देहीको क्रिमसन अस्पताल मणिग्राममा छन् । उनको उपचार खर्च तिर्ने र थप उपचार कसरी गर्ने भन्नेमा माइती पिरलोमा छन् । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालको सर्जीकल वार्ड । ७ नम्बर बेडमा धेरै दिनदेखि एक किशोरी पल्टिरहेकी छिन् । उनको टाउको घुजाधुजा छ भने ठाउँठाउँमा सिलाइएका छन् । घाँटीको हड्डी भाँचिएको छ । हड्डी निकाल्न घाँटी पनि त्यसैगरी सिलाइएको छ ।
अर्धचेत अवस्थाकी उनी बोल्न सक्दिनन्। इशारा पनि गर्दिनन्। शरीरको दायाँ भाग चलाउन र हल्लाउन मिल्दैन। मान्छे देख्यो कि अनुहार बिगार्छिन्। पुलुक्क हेर्छिन् र बरर आँसु खसाल्छिन्।
पाल्पा रामपुरकी १८ वर्षीय पूजा सोमै परियार दुर्घटनामा परेकी वा कुनै रोगले थलिएकी होइनन्। पतिको कुटपीटबाट यस अवस्थामा पुगेकी हुन्। चिकित्सकका अनुसार उनको मतिष्कमा ठूलो चोट छ। त्यसैले बोल्न सक्दिनन्। बिस्तारै बोली आउन पनि सक्छ, नआउन पनि। पूजालाई चिकित्सकले थप उपचारका लागि राखेका हैनन्। आफन्तले यसअघि भएको उपचार खर्च जुटाउन र थप उपचार गराउन नसक्दा उनलाई बसालिएकी हुन्।
बहिनीको रेखदेखमा खटेका दाजु सुवास परियारका अनुसार पूजाको फुटेको खोपडी निकालिएको छ। उनको खोपडी ३ महिनाअघिदेखि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा छ। नयाँ खोपडी फेर्न कम्तीमा एक लाख रुपैयाँ लाग्छ। उनको परिवारमा उक्त रकम जुटाउन सक्ने अवस्था छैन। अहिलेसम्मको उपचारबापत करिब डेढ लाख अस्पताललाई तिर्नु छ। उपचार खर्च तिर्न नसक्दा उनीहरु निस्कन सकेका छैनन्। अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले उपचारमा शतप्रतिशत सहुलियत गर्न नसक्ने बताए। ‘केही छुट दिन सकिएला तर सबै छुट गर्न सकिन्न,’उनले भने, ‘त्यसैले सर्जीकल वार्डमा केही उपचार भएको छ। रकम जम्मा गर्न पनि भनिएको छ।’
पाल्पाको निस्दी गाउँपालिका ५ पाक्दीकी पूजाले ३ वर्षअघि भोमबहादुर सौमैसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन्। १५ वर्षमै बिहे गरेकी उनी लामो समय पतिसँग बस्न पाइनन्। भोमबहादुर वैदेशिक रोजगारीमा दुबई गए। ससुरालीको लगानीमा गएका उनले घरपरिवार र ससुराली दुवैतिर हेर्थे। पतीपत्नीबीच पनि सम्बन्ध राम्रै थियो। फोन तथा इन्टरनेटमा कुरा हुन्थे। टाढाबाटै मायाप्रेम साट्थे। घरखर्च पठाउँथे। पूजा परीपक्क बन्दै थिइन्। भोमबहादुर कमाउँदै थिए। जीवन अघि बढेको थियो। यही भदौ अन्तिम साता भोमबहादुर फर्के। फर्केपछि उनी बदलिए। पूजाबाट टाढिन खोजे। उनले पूजाको चरित्रमा शंका गर्न थाले। गाउँका आफ्नै एक साथीसित नजिकिएको बहाना बनाए र तनाब दिन थाले।
तनाबबीच पूजाका जीवनमा असोज ८ कालरात्री बनेर आयो। भोमबहादुर रक्सीको नसाले मात्तिएका थिए। पतिपत्नीबीच यौन सम्बन्धका प्रसंग उठे। भोमबहादुरको कुण्ठा बढ्यो। आफू नहुँदा आफ्ना साथीसित बोलेको, हिँडेको थाह पाएको भन्दै निहुँ झिके। घरपरिवारले दलित बुहारी मन पराएका थिएनन्। त्यसैले छोराको आरोपलाई होइन भनेनन्। कुटपिट थाल्दासमेत रोकेनन्। यसले उनलाई टेवा पुग्यो। परपुरुषसँग नजिकिएको आरोप लगाउँदै मरणासन्न हुने गरी कुटे। पूजा बेहोस् भइन्।
छिमेकीले प्रहरी गुहारे। कुटपीटको अभियोगमा भोमबहादुरलाई हिरासतमा लगिए। छोरालाई प्रहरीले समातेपछि घरपरिवार अझ चिढिए। उनीहरुले बेहोस अवस्थामा पल्टिएकी बुहारीको उपचारमा वास्ता गरेनन्। माइती पक्षले अर्कोदिन मात्रै छोरी कुटिएको थाहा पाए। उनीहरु पनि उपचारका लागि रकम जुटाउन सक्ने अवस्थाका थिएनन्। गाउँमा चन्दा संकलन गरेर उपचारका लागि ल्याए। असोज ९ मा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा भर्ना भइन्। बिरामी असोज २८ गतेसम्म त्यही राखियो। अस्पतालका न्यूरोसर्जन डा। बलराम न्यौपानेले टाउको र घाँटीको शल्यक्रिया गरे। करिब ४ लाख अस्पतालमा खर्च भयो। ‘घरपक्षका नातेदारले करिब २ लाख जुटाए। माइती पक्षले २ लाख जुटायौं,’ दाजु सुवासले भने, ‘पैसा सकियो भनेपछि अस्पतालले बिरामी निकाल्न भन्यो।’ यसबीचमा डा। न्यौपाने उक्त अस्पतालबाट क्रिमसन अस्पतालमा आएका थिए। अस्पतालले चिकित्सक नभएको र बिरामीको अवस्था जटिल बनेको र चिकित्सक छैन भन्दै उतै जान दवाव दियो।
पूजा असोज २९ मा क्रिमसन अस्पतालको आईसीयूमा भर्ना भइन्। न्यूरोसर्जन डा। न्यौपानेले उपचार थाले। दुई साता आईसीयुमा बस्दा सामान्य सुधार भयो। रकम थपिँदै गयो। आफन्तले खोपडी राख्ने रकम जुटाउन सकेनन्। अन्तिममा डा। न्यौपानेले घरमै लगेर हेरचाह गर्न अह्राए। औषधि खर्चबाहेक अस्पतालले शल्यक्रिया र उपचार खर्चको करिब २ लाख रुपैयाँको बिल थमायो। चन्दा उठाएको रकम सकिइसकेको थियो। पूजाका माइतीसित अस्पताललाई तिर्ने रकम भएन। अस्पतालले रकम नतिरी घर जान पनि दिएन। त्यसयता पूजा सर्जन वार्डमा छिन्। ‘अस्पतालले दिनहुँजसो पैसा तिर्न र बिरामीलाई घर लैजान ताकेता गयो,’ उपचारमा खटेका बाबु लालबहादुरले परियारले भने, ‘यसबीचमा ५० हजार फेरि ऋण खोजेर ल्याए। तर, अरु पैसा कसरी ल्याउने कुनै उपाय छैन।’
पूजाका माइती परियार परिवारको आफ्नो जग्गा जमिन छैन। पाल्पा निस्तीमा जनता आधारभूत विद्यालयको जग्गामा खेतीपाती गरेर घरखर्च चलाउँदै आएको छ। छोरीको उपचारमा यसअघि गाउँपालिका, छरछिमेकीबाट करिब ८० हजार रुपैयाँ संकलन गरेको थियो। २ लाख ऋण खोजेको थियो। सबै रकम औषधि खर्चमा सकियो। ‘अब कोसँग माग्ने, कस्ले दिन्छ ररु जहाँ गए पनि खाली हात फर्किनुपर्छ,’ गहभरि आँसु पार्दै लालबहादुर भने, ‘बरु मरेकै भए एक शोक हुन्थ्यो। पैसा नहुनेले बाँच्नु पनि बेकार रहेछ।’
पूजा अहिले धेरै समय आँखा खोल्छिन्। भेट्न आउनेको अनुहार हेर्छिन्। बोल्न सक्दिनन्। लाग्छ, आँखाले जीवनको भीख माग्छिन् भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। उनी जिउनलाई थप उपचार जरुरी छ। कहिलेसम्म उनले जीवनका सास गन्ने हुन्। उपचार खर्च तिर्न नसक्दा अस्पतालको सैयामा कति दिन छटपटाउनुपर्ने हो त्यो पनि जान्दिनन्। ‘बिहे गरेर रम्मझम्म हुने बेलामा बहिनी जीवनको भीख मागिरहेकी छन्,’दाजु सुवासले भने, ‘हामीले त्यही भीख पनि जुटाइदिन सकेका छैनौं। दुःख लागेको छ।’