काठमाडौं। पाठेघर (गर्भाशय) को मुखमा असामान्य परिवर्तन भै त्यहाँका कोषकोषिकाहरूमा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्छ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेका यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
विश्व स्वास्थ्य संगठनअनुसार प्राणघातक रोग गर्भाशयको क्यान्सरले विश्वमा बर्सेनि ४ लाख ९३ हजार महिलालाई ग्रसित बनाउँछ र २ लाख ७३ हजारको मृत्यृ हुन्छ । संक्रमितमध्ये सबैभन्दा बढी १ लाख ३० हजार भारतमा छन् । पीडितहरूमध्ये झन्डै ८६ प्रतिशत महिला विकासोन्मुख देशमा पाइएका छन् । विकसित देशमा यसले महिलामा हुने क्यान्सरको करिब ६ प्रतिशत भाग ओगटेको छ भने विकासोन्मुख मुलुकमा यो आँकडा अझ ठूलो हुन सक्छ ।
जुनसुकै उमेरमा लाग्न सक्ने यो रोग, कम उमेरमा लागे बढी जोखिम हुन्छ । नेपाल जस्तो राष्ट्रमा स्क्रिनिङ कार्यक्रमको अभाव तथा ढिलो एवं फैलिइसकेको अवस्थामा मात्र उपचारका लागि आउने प्रवृत्ति, रुग्ण आर्थिक अवस्था एवं अशिक्षा मूल रूपमा जिम्मेवार रही मृत्युको मुख्य कारण बनेको छ । व्यवस्थित पूर्व परीक्षण स्क्रिनिङ कार्यक्रमलाई महलिा रोग परीक्षणको एक भागका रूपमा स्थापित गर्न सके पनि क्यान्सरबाट हुने मृत्युदरमा कमी ल्याउन सकिन्छ ।
महिलाहरूमा देखिएका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सरपछि दोस्रो प्रमुख हो । अज्ञान, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा बर्सेनि एसिया तथा अफ्रिकाका देशहरूमा थुप्रै महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको छ । नेपालमा यो रोग क्यान्सर लाग्नेहरूमध्ये करिब १५ प्रतिशतमा छ । विकसित देशहरूमा भने जनचेतना तथा समयमा हुने प्रभावकारी स्क्रिनिङ कार्यक्रमका कारण यो रोग कम हुँदैछ ।
प्रमुख कारण
पाठेघरको मुखमा हुने क्यान्सरको कारण किटानसाथ भन्न नसकिए पनि यो क्यान्सर गराउन मद्दत गर्ने तत्व निम्न छन् । विशेषगरी यौन सम्पर्क तथा भाइरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । यो रोग सबैभन्दा बढी ४०—५० वर्ष उमेर समूहमा देखिने गरेको छ । निम्न प्रकारका महिलामा यो क्यान्सर हुने खतरा बढी हुन्छ ।
–कलिलै (१८ वर्षभन्दा कम) उमेरमा विवाह भएका महिलाहरू ।
–कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिलाहरू ।
–कम उमेरमा शिशु जन्माउनेहरू ।
–दुई वा दुईभन्दा बढी पुरुषसँग यौन सम्पर्क गर्ने, वेश्यावृत्तिमा लागेका तथा बहुविवाह भएका महिलाहरू एवं पुरुषका धेरै यौनसाथी भए ।
–छिटो–छिटो र बढी सन्तान जन्माएका महिलाहरू ।
–खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिलाहरू ।
–४० वर्ष उमेर काटेका महिलाहरू ।
–महिला बन्दी ।
–रोगसँग लड्ने क्षमता कम भएका जस्तै अंग प्रत्यारोपण र केमोथेरापीपछि, एचआईभी संक्रमित ।
–पहिलेको प्याप स्मेयर खराब भए, कहिल्यै प्याप स्मेयर नगराएकाहरू ।
–कम आय भएका, अशिक्षित तथा आफ्नो शारीर एवं गुप्ताङ्गको सरसफाइमा ध्यान नदिनेहरू ।
–यौन रोग तथा गुप्ताङ्गका दीर्घरोगको उपचार नगर्नेहरू ।
–एच.पी.भी. अर्थात् हरपिस भाइरस वा अन्य यौन संक्रमण भएका महिलाहरू ।
–एच.पी.भी.संक्रमित भै धेरैपटक गर्भवती भए, ५ वर्षभन्दा लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गरिरहे र धूमपानी भए क्यान्सर हुने सम्भावना बढ्छ ।
–पाठेघर गर्भाशय अथवा यौनसम्बन्धी सूक्ष्म जीवाणुहरूको संक्रमण भैरहने महिलाहरू ।
–चुरोट, बिंडी, खैनी, तमाखु रतथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू ।
–हार्मोन तथा पिल्स लिने महिलाहरूमा खतरा केही बढी मात्रामा हुने सम्भावना हुन्छ ।
महिलाले ५ वर्षभन्दा बढी समय लगातार गर्भनिरोधक चक्की सेवन गरे पाठेघरको मुखको क्यान्सरको सम्भावना नखानेको तुलनामा ५ गुणा बढी हुन्छ । चक्कीको सेवनबाट डिम्बाशयको क्यान्सर हुने खतरा भने कम हुन्छ, जुन पाठेघरको मुखको क्यान्सरभन्दा बढी खतरनाक हुन्छ ।
लक्षणहरू
सुरुको अवस्थामा यो रोगको कुनै लक्षण देखिँदैन, चिकित्सकहरूले परीक्षणका क्रममा मात्र फेला पार्छन् । त्यसैले यो रोगको रोकथाममा नियमित परीक्षण गराउनुपर्छ । यो रोग बढ्दै गएपछि निम्न लक्षण देखा पर्न सक्छन् ।
–गुप्ताङ्गबाट गन्हाउने तथा रगत मिसिएको अस्वाभाविक तरल पदार्थ बग्छ ।
–यौनसंसर्गपछि वा लगत्तै रगत देखिन सक्छ ।
–महिनावारीको बीच–बीचमा वा महिनावारी नभएको समयमा पनि रगत देखिन सक्छ ।
–महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ ।
–रक्तस्रावका कारण रक्तअल्पता हुन्छ ।
–महिनावारी सुकिसकेका महिलाहरूमा योनिबाट रगत आउनु क्यान्सरको लक्षण हुन सक्छ ।
–रोग धेरै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, खुट्टा सुन्निने, दिसा–पिसाबमा रगत देखा पर्ने तथा दिसा–पिसाब गर्न अप्ठ्यारो हुने लक्षण देखापर्न सक्छन् ।
यो क्यान्सर पनि अरू क्यान्सरजस्तै पाठेघरबाट सुरु भएर शरीरको अन्य भागमा फैलिन सक्छ । पाठेघरको मुखको क्यान्सर नजिकको भागमा फैलने क्रममा पाठेघरको माथिल्लो भागमा, मूत्र थैलीमा, दिसा गर्ने नलीमा जान सक्छ । त्यस्तै लसिका नली तथा रक्तनलीहरूबाट फैलने क्रममा फोक्सो, हड्डी, कलेजो आदिमा पुग्न सक्छ । क्यान्सर अन्य अङ्गमा फैलिएको भए अन्य विभिन्न लक्षणसमेत देखा पर्छन् । यस्तो कुनै लक्षण देखा परे तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नुपर्छ ।
निदान (पत्ता लगाउने विधि)
पाठेघरको मुखको क्यान्सरको निदान सुरुको अवस्थामा गर्न सकियो भने उपचार पनि प्रभावकारी हुन्छ । रोग फैलिसकेको वा रोगको निदान ढिलो हुने हालको अवस्थालाई परिवर्तन गर्न यौन जीवनमा आवद्ध महिलाहरूले उक्त लक्षणहरू देखा नपरे पनि महलिा रोग विशेषज्ञबाट नियमित रूपले आफ्नो पाठेघर तथा प्रजनन अंगको परीक्षण गराउनुपर्छ र प्याप स्मेयर गराउनुपर्छ । यसले गर्दा पाठेघरको मुखमा हुने सुरुको अवस्थाको क्यान्सर पत्ता लाग्न सक्छ र उपचार गरी क्यान्सर निर्मूल गर्न सकिन्छ । आवश्यकता परे गर्भाशयको स्राव परीक्षण (प्याप स्मेयर) तथा रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली वायोप्सी जाँच्न पठाइन्छ र क्यान्सर लागे–नलागेको टुंगो लाग्छ ।