असोज ११, काठमाडौं । खुल्ला स्वाभाव र हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनी सामाजिक सेवा, कलाकारिता र राजनीतिलाई एकै साथ बढाएर पनि समाजमा आफ्नो छुटै पहिचान स्थापना गर्न सफल सुनिता घिमिरे बिराटनगरबासीका लागि एक उदाहरणिय महिला हुन् ।
बिराटनगर महानगरपालिका वाड नम्बर १ पोखरिया, भट्टाचोक निवासी घिमिरेले जीवनका धेरै पल संघर्ष गरेर आफूलाई आजको अवस्थामा ल्याएकी हुन् । खाइरहेको सरकारी जागिरलाई २०७५ सालमै छोडेर कलाकारिता र सामाजिक सेवालाई प्राथमिकता दिइरहेकी छिन् ।
२०४६ सालको पञ्चायति सरकारको आन्दोलनमा सक्रिय सहभागिता जनाएकी घिमिरे आन्दोलन पश्चात बिराटनगर महिला संघको समितिमा कोषध्यक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाइन् । यसपछि उनको राजनीतिक यात्रा आरम्भ भयो ।
यसपछि २०४८ सालतिरको कुरा हो उनी समुदायमा आधारित पुर्नस्थापना कार्यक्रममा सहभागी भई विभिन्न अपांगता भएका बालबालिकाहरुको सेवामा ३ वर्ष निशुल्क स्वयंसेवक भएर सेवा प्रदान गरेको अनुभव घिमिरेसँग छ । सामाजसेवा आफ्नो रगतमै भएको महसुस गर्ने घिमिरेले जिवनमा धेरै समय त समाजसेवा नै गरेर बिताएको उनले नेप्लिज वुमनलाई बताइन् । अपांगता भएका बालबालिकाहरुको सेवामा ३ वर्ष निशुल्क सेवा गरेपछि उनले ४ वर्ष तलबिरुपमा पनि काम गरिन् । उनले त्यो बेलामा बहिरा तथा सुस्त श्रवणहरुका लागि विशेष शिक्षा दिने र सो क्षेत्रमा कार्यरत सहजकर्ता र शिक्षकहरुलाई विभिन्न क्षेत्रमा गई तालिम प्रदान गरेकी छन् । त्यो बेलामा घिमिरेको कामको कदर गर्दै जिल्ला शिक्षा कार्यलय मोरङले उत्कृष्ट शिक्षक राष्ट्रिय सम्मान पत्र र पदक सहित सम्मान गरेको थियो । यो उनको जिवनको अत्यन्तै महत्वपूर्ण र सम्झनलायक क्षण भएको र आफूलाई गर्व महसुस हुने गरेको उनी बताउँछिन् । यसपछि पनि घिमिरेले अपांगता भएका बालबालिकाहरुको सेवामा काम निरन्तर गर्ने अवसर पाइन् । विक्रम संम्वत २०६० साल बैशाख १५ गतेबाट उनले बिराटनगरस्थित श्री जनता नमुना उच्च माध्यमिक विद्यालयमा बहिरा युनिटमा इन्चार्जको रुपमा काम गरिन् ।
समाजसेवी घिमिरेको शिक्षा क्षेत्र बाहेक कालाकारिता क्षेत्रमा पनि उनको देन उत्तिकै प्रशंसा गर्न लायक छ । कलाकारिता क्षेत्रमा ८ वर्षको कलिलो उमेरदेखि नै उनले प्रवेश गरिन् । आरोहण गुरुकुल र देशका विभिन्न ठाउँमा मन्चन गरिएका नाटकमा उनले अभिनय गरेकी छिन् । उनले ३ वटा ठूलो पर्दामा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छिन् । जस्तो सुपर गोर्खे, सेन्टि भाइरस र जारी लगायतका फिल्मसँगै उनले १ दर्जन जति सर्ट मुभिमा पनि अभिनय गर्ने सफल कलाकार हुन् घिमिरे । उनी सफल गितकार पनि हुन् । नेपाली फिल्म यो साइनो मायाको २ मा उनले लेखेको गितले निकै नै चर्चा कमायो ।
१६ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी घिमिरेलाई उनका श्रीमान असित कुमार घिमिरेले हर कुरामा साथ दिएकै कारण स्नातकसम्म अध्ययन गर्ने अवसर पाएको उनले बताइन् । पारिवारिक व्यवस्थापन तथा सन्तानको हेरचाहमा व्यस्त हुँदा उनले २५ वर्षको उमेरमा प्लस टु को अध्ययन पूरा गर्न सफल भइन् । घिमिरेको पालामा महिलाहरुलाई शिक्षा क्षेत्रमा त्यति अग्रसर गराउने बेला थिएन तथापि उनले भने घिमिरले विवाह पश्चात नै जीवनका सपना पूरा गर्ने मौका पाएकोमा आफूलाई भाग्यमानि ठान्छिन् । एक छोरा र एक छोरी दुई सन्तानकी आमा घिमिरे आफूले छोरी पनि आफू जस्तै समाजसेवामा लागिपर्ने खालको भएको उनी बताउँछिन् ।
उनकी छोरीको नाम कृति घिमिरे हो । हाल उनी नर्सिङ कलेज विराटनगरमा नर्सिङका विद्यार्थीलाई पढाउँछिन् । कृतिकाले आफू सुत्केरी भएको बेला पनि एउटा फालिएको बच्चालाई टिपेर अस्पताल लगेर बचाएर जिवन दिएकी छिन् । अरुले बेवास्ता गरेर बच्चा अन्तिम अवस्थामा पुग्दा पनि कसैले नटिपेको बच्चालाई उनले उक्त बच्चालाई बचाएको कुराले आमा सुनितको हृदय अहिले पनि खुशीले भरिन्छ ।
यस्तै, राजनीति क्षेत्रमा पनि सक्रिय सुनिता घिमिरेको योगदान सबै क्षेत्रमा उत्तिकै छ । नेपाली कांग्रेस बिराटनगर इलेक्टेड नगर सचिव भइसकेकी घिमिरे हाल नेपाल ट्रेड युनियन प्रदेश नम्वर १ को महिला समिति अध्यक्ष हुन् ।
तथापि घिमिर आफ्नो मुख्य पेशा भने समाजसेवालाई ठान्छिन् । चाहे त्यो राजनीतिक क्षेत्रबाट होस वा कलाकारिता उनी आफूलाई समाजसेवा गर्दा शान्ति मिल्ने गरेको बताउँछिन् ।
आर्थिक रुपमा सक्षम परिवार भएपनि उनी आफ्नो संघर्षले आजको अवस्थामा आइपुगेकी हुन् । उनी भन्छिन्, ‘अहिले जिवन शुन्य लाग्छ । आर्थिक रुपमा सम्पन्न भए । पहिलो जस्तो घर चलाउन अहिल गाह्रो छैन । अहिले त अरुलाई नै सहयोग गर्ने भएकी छु । सुपरिचित भएकी छु । जीवन संघर्ष नै रहेछ । धारिलो हुनका लागि संघर्ष गरिरहन पाउँ भन्ने लाग्छ ।’
घिमिरे महिला परिवर्तनका विषयमा भने फरक धारण राख्छिन् । पहिला भन्दा परिवर्तन त आयो तर शहरमा भन्दा गाउँका महिलाहरुमा परिवर्तन आएको उनले महसुस गरेकी बताउँछिन् । उनी भन्छिन्, ‘ पहिले गाउँमा महिलाहरु प्रताडित हुन्थ्ये । पछि चेतनामुलक कार्यक्रम गाउँमा धेरै प्रवेश गरेपछि अहिले गाउका महिला निकै नै सक्रिय सचेत भएका छन् । शहरका भन्दा पनि सक्रिय छन् । शहरमा बरु अहिले संघर्ष गरिरहेका महिला प्रताडित भएका छन् । पिडित छन् । यहाँ बरु चेतना कम छ । यस्तो हुनुको कारण शहरमुखी चेतनामुलक कार्यक्रम नभएर भन्दा पनि आफ्नो परिवारबाट बञ्चित हुन्छुकी भन्ने कुराले गर्दा यस्तो भएको हो । आत्माविश्वासको कमिले गर्दा पनि यस्तो भएको हो । क्रान्ति गर्न सक्ने र सचेत महिलाहरु भएपनि शहरमा यस्ता धेरै समस्या छन् ।’
महिलाहरुको विषयमा घिमिरे थप्दै भन्छिन, ‘सबै महिलाहरुले गर्न सक्छन् । महिलाबिना घर त के देश चल्न सक्दैन् । नारीले नारीलाई नै सहयोग गर्न सक्नुपर्छ । सबै नारीमा क्षमता छ । एक नारीले अर्काे नारीलाई आलोचना गर्छन् । तर महिला सशक्तिकरण हुनलाई महिलाले महिलालाई नै सहयोग गर्नुपर्छ । सभासम्मेलनमा मात्र हैन भाषणमा मात्र सिमित हुनु भएन व्यवाहारिक रुपमा पनि आउनु पर्यो । तव मात्र महिला शक्ति बन्छ । अझै आउनुपर्छ परिवर्तन । तुलनात्मक रुपले हेर्ने हो भने पहिले भन्दा अहिले महिलाहरु धेरै नै अगाडि आइसकेका छन् ।’
बिराटनगरबासीका लागि सामाजिक कार्यदेखि व्यवहारिक झमेला सुल्झ्याउन सारथी बनेकी सुनिता घिमिरेसँग धेरै मानिसहरु समस्या लिएर आउँछन् । दैनिकजसो उनी सामाजिक मेलमिलाप तथा व्यवस्थापन गर्नमै व्यस्त हुन्छिन् । उनी प्रहरी कार्यलय काउन्सिलिङको लागि गइरहनुपर्छ । उनको योगदानको मुल्याङकन गर्दै बिराटनगरबासीले उनलाई देशको नेता बन्नुपर्छ भन्छन् । आफूलाई देशको नेता भएको हेर्न चाहान्छौ भन्नेहरु धेरै सुभचिन्तकहरु भएको बताउने घिमिरे बिराटनगरबासीका लागि मात्र हैन पूर्वाञ्चलकै आशाकी केन्द्रबिन्दु हुन् । सहासी र सहयोगी भएकै कारण आज उनी राजनीतिक क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छिन् । साथै प्रतिभा भएकै कारण कलकारिता क्षेत्रमा पनि त्यत्तिकै लोकप्रिय छिन् । उनी त्यस्तो उदाहरणिय महिला हुन जो घरको व्यवस्थापन, सामाजिक जिम्मेवारी र राजनीतिक सक्रियतालाई एउटै मालामा उनेर कुशलता पूर्वक व्यवस्थापन गर्न सकने प्रेरणदायी महिला हुन् भन्दा फरक पर्दैन् ।