वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८ वर्षको भइन्। उनको साथमा दुई छोरा र दुई छोरी छन्। सात वर्षअघिदेखि निरन्तर गिट्टी कुट्ने काममा उनी व्यस्त छिन्।
परिवारलाई लालनपालन, पढ्ने, लत्ताकपडा दिने सबै जिम्मेवारी धनरुपाको काँधमा छ। ुविगत सात वर्षदेखि मेरो दैनिकी गिट्टी कुटेरै चलिरहेको छ, उनले भनिन्। कहिले बजार आसपास त कहिले खोला किनारको छेउमा चिसोको बेवास्ता गर्दै सडक छेउमै गिट्टी कुट्दै आएकी छिन् उनी। घरको आर्थिक अवस्था कमजोर भएकै कारण चार सन्तान, पति र आफ्नो जीवन गुजाराका लागि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
छोराछोरी कसरी पाल्नेरु श्रीमानले कमाई गरेको एक पैसा पुग्दैन, गिट्टी कुटेरै सामान्य घरखर्च चलेको छ। श्रीमान् पनि मजदुरी काम गर्छन्। कुनै दिन त भोकै बस्छौँ,धनरुपाले भनिन्।
छोराछोरीले पनि खाली समयमा आमासँगै गिट्टी कुट्ने गर्छन्। आर्थिक अवस्था नाजुक भएकै कारण चार सन्तानलाई विद्यालयमा पढाउन मुस्किल भएको उनले बताइन्। परिवार पाल्नकै लागि गाउँमा गिट्टीबाहेक अन्य कुनै विकल्प नभएकाले लामो समयदेखि गिट्टी कुटेर सामान्य घर व्यवहार चलेको उनले बताइन्। तर आफूले दुःख गरेर दिनभर कुटेको गिट्टीले गाउँमा उचित मूल्य नपाउँदा उनलाई आफ्नो परिश्रम खेर गएजस्तै लागेको छ।
स्थानीय बजार तथा गाउँमा पक्की घर निर्माण गर्ने व्यक्तिले सस्तो मूल्यमा गिट्टी खरिद गर्न खोज्दा आफूहरू मारमा परेको उनको दुखेसो छ। दिनमा दुई(तीन बोरा जति मात्र गिट्टी कुट्ने उनलाई आफ्नो उमेर समेत ढल्कँदै गएकोले अबका दिनमा परिवारको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। छोराछोरी साना हुँदा गिट्टी कुटेरै भए पनि सात वर्ष जेनतेनका साथ हिम्मत गरेर छोराछोरी पालेकी उनलाई अब बाँकी दिनको मात्र चिन्ता लाग्ने गरेको सुनाइन्।तर सबै छोराछोरीलाई गिट्टी कुटेरै भए पनि हालसम्म जेनतेन खुसी दिलाएकी छिन् उनले।
त्यस्तै सिंगाचौरकै ३४ वर्षीय सरस्वती सार्कीले पनि तीन वर्षदेखि गिट्टी कुट्दै आएकी छिन्। बिहानदेखि साँझसम्म हातमा फोका उठ्ने गरी गिट्टी कुट्दासमेत यसबाट सोचेजस्तो आम्दानी हुन नसकेको उनको भनाइ छ। घरको आर्थिक अवस्था न्यून भएको र परिवारको घरखर्च टार्नका लागि चिसो ठाउँमा बसेर दिनभर गिट्टी कुट्नु परेको उनी बताउँछिन्। पाँच सन्तानकी आमा सरस्वतीको जेठो छोरा बिहे गरेर अलग भइसकेका छन्। उनका पति घरको रेखदेख गर्छन्। कान्छो छोरा सानो छ। निजी विद्यालयमा पढ्छन्। दुई छोरीसँगै कान्छो छोराको लालनपालन पढ्ने सम्पूर्ण जिम्मेवारी सार्कीको हातमा निर्भर छ।
उनका अनुसार गिट्टी कुटेर आएको पैसाले सामान्य घरखर्च मात्र पूरा हुने गरेको छ। ुगाउँमा गिट्टीको मूल्य प्रतिबोरा एक सय छ। जेनतेन दिनमा तीन सय रुपैयाँ जति कमाइ हुन्छ,ु उनले भनिन्। घरमा आयआर्जन गर्ने अन्य कुनै स्रोत नहुँदा गिट्टी नै परिवारको मुख्य पेसा भएको छ। आफूहरूले कुटेको सबै गिट्टी गाउँमै बिक्री हुने गरेको उनले बताइन्।
त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-१ कुलालबाडा गाउँकी ३२ वर्षीया धनु कुलाल पनि घरखर्च टार्ने भन्दै केही वर्षदेखि अनुकूलताको आधारमा खोला किनारमा गिट्टी कुट्न सुरु गरेकी छिन्। घरको उत्पादनले वर्षभरि खान नपुग्ने भएकाले घरव्यवहार चलाउने भन्दै गिट्टी कुट्ने काममा लागेको उनको भनाइ छ। श्रीमानले गाउँमा ज्याला मजदुरी गर्छन्। तर परिवार चलाउन, नानीबाबुहरूलाई शिक्षादीक्षा दिन अप्ठेरो भएकाले केही वर्षबाट आफूले पनि गिट्टी कुट्न थालेको धनुले बताइन्।
ुमिठो खान, राम्रो लाउन मन त कसको हुन्न र१ तर, मन मारेर बस्नु परेको छ। माछामासु महिनामै मात्रै खाने हो। नयाँ लुगा किन्न दसैं-तिहार नै कुर्नुपर्छ। महँगी बढ्दै गएकाले खर्च पुर्याउन कठिन छ, उनले भनिन्,सबैभन्दा ठूलो चुनौती भनेकै हामीलाई नानीबाबुहरूको स्कुल खर्च हो। राम्रो शिक्षा दिने भनेर बोर्डिङ स्कुलमा भर्ना गरेकाले महिनाको५/६ हजार फिस बुझाउनु पर्छ। सरकारी स्कुलमा पढाउँदा पनि हुन्थ्यो, भन्ने त लाग्छ, तर गाउँलेले आफ्ना नानी निजीमै पठाइरहेकाले हामीलाई पनि दबाब परेको हो।
उनले गाउँमा गिट्टीको मूल्य एकदम कम भएको गुनासो गरिन्। यसका लागि आफूहरूको परिश्रम खेर नजाने गरी अब कुनै पनि निकायले गिट्टीको मूल्य निर्धारण गरिदिनुपर्ने माग राखिन्।
केही समय यता जुम्लाका प्रत्येक गाउँ-गाउँमा समेत सडक सञ्जाल विस्तार हुन थालेपछि गाउँका न्यून आय भएका परिवारका महिला गिट्टी कुट्ने पेसामा आबद्ध भएका हुन्। कर्णाली राजमार्गले छोएको जुम्लाका नगरपालिका तथा गाउँपालिकाको अधिकांश खोला किनार तथा विभिन्न ठाउँमा यहाँका महिलाले गिट्टी कुटेर नै जीविकोपार्जन गर्दै आएका छन्।
यस क्षेत्रका महिलाले कुटेको गिट्टी सदरमुकाम खलंगा तथा जुम्लाका अन्य सबै स्थानीय तहसम्मका स्थानीय बजार, लगायत विभिन्न गाउँ-ठाउँमा बिक्री हुने गरेको छ। गिट्टीको मूल्य प्रतिट्याक्टर ४ हजारदेखि ५ हजार तथा प्रतिबोरा १ सय रुपैयाँको दरले बिक्री हुने गरेको स्थानीय बताउँछन्। यता जुम्लाका कुनै पनि स्थानीय तहले गिट्टी र बालुवा उत्खनन तथा बिक्रीका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाउन सकेका छैनन्।