माघ २३, काठमाडौं । बिगत दुई दशकदेखि शिक्षण पेशामा आवद्ध र संचालकको भूमिका निर्वाह गरिरहेकी कर्तव्यनिष्ठ र मेहनती महिलाको नामले परिचित छिन् बिमला खड्का । भक्तपुरको दुवाकोटस्थित गुरुकुल विद्यामन्दिरकी संचालक तथा प्रिन्सिपल खड्काले आफ्नो छुट्टै परिचय बनाएकी छिन् । जागिरे जिवनलाई पूर्णविराम दिएर आफूले सकेको लगानिमा सुरु गरेको स्कुलले उनलाई आज नाम, काम र दाम सबै कुरा दिएको छ । उनले स्कुल संचालन गर्नुभन्दा अगाडी विभिन्न एनजिओ, आइएनजीओ तथा शिक्षण पेशामा संघर्ष गरिन् । उनको संघर्ष, स्कुल संचालक तथा प्रिन्सिपलको रुपमा सम्हालिरहेको जिम्मेवारीको सेरोफेरोमा नेप्लिज वुमनसँग उनले कुराकानी गरेकी छिन् ।
सानैदेखि जिवनमा केही गर्छु भन्ने, आटिलो स्वभाव र स्पष्ट वक्ता खड्का बुबा कृष्ण बहादुर खड्का र आमा तारा खड्काको कोखबाट जन्मिएकी उनी तिन सन्तानमध्येकी दोस्रो सन्तान हुन्। दोलखा जिल्लाको गौरीशंकर गाविस वाड–५ मा जन्मिएकी उनी हाल कागेश्वरी मनोहरा नगरपालिका वाड–९ काठमाडौंकी स्थायी वासिन्दा हुन् । उनी एक सन्तानकी आमा हुन् । श्रीमान बम बहादुर बस्नेत पेशाले फरक भएपनि आफ्नो सफलतामा उनको ठूलो हात रहेको बताउँछिन् । उनले अंग्रेजी र समाजशास्त्रमा स्नातोकत्तरसम्मको अध्ययन पूरा गरेकी छिन् ।
उनका पिता शिक्षक भएका कारण सानैदेखी उनलाई पनि शिक्षक बन्ने चाहाना थियो । प्रारम्भिक तथा माद्यामिक शिक्षा उनले दोलखाबाट नै पूरा गरिन् । उनको विद्यावारिधिसम्मको अध्ययन पूरा गर्ने अठोट छ । तर स्कुलको जिम्मेवारी सम्हालेदेखी उनले आफ्नो अध्ययन पूरा गर्ने सोच भने थाति राखेकी छिन् ।
विक्रम संम्वत २०७१ सालमा उनले ५ जना विद्यार्थीबाट किन्डरगार्डेन सुरु गरेकी हुन् । उनी भन्छिन्, ‘२०७१ माघबाट सुरु गरे तर २०७२ मा भुकम्प आयो र ३ महिना वन्द गरे । तैपनि मैले आफ्नो अठोटलाई टुक्रा हुन् दिइन् । ५ जना बाट सुरु गरेको मेरो कार्यस्थलमा अहिले १५० भन्दा बढी विद्यार्थी पुगेका छन् । विद्यालय संचालन गर्दा होस वा व्यक्तिगत जिवनमा धेरै नै उत्तारचढाव आएपनि कहिल्यै नहार्ने उनले आफैसँग प्रतिवद्धता गरेकी छिन् । यस्लाई निरन्तर दिएर बालबालिकालाई भोलीका दिनमा उनिहरुको भविष्य र सरल जिवनका लागि धेरै गर्न बाँकी रहेको उनी जानकारी दिन्छिन् । उनी भन्छिन्, नथाकी र चुनौतीलाई समाना गर्दै निरन्तर हाँकिरहेकी छु ।’
विद्यामन्दिर संचालन गर्नुभन्दा अगाडी उनले माध्यामिक र उच्चमाध्यामिक विद्यालयमा लामो समय काम गरिसकेकी थिइन्। सुरुका दिनमा उनलाई साना बालबालिकाहरुलाई पढाउन, आफू अभ्यस्त हुन, विद्यार्थीलाई अनुशासनमा ल्याउन र कक्षा सिकाइमा अभ्यस्त गराउन निकै समय लाग्यो । अहिले त्यो लगाव र धैर्यताले उनमा निखार ल्याएको उनी अनुभव गर्छिन् ।
सरकारी शिक्षक आयोगमा खड्काले नाम निकालेकी थिइन् तर सरकारी भन्दापनि शैक्षिक क्षेत्रमा आफै केही गर्छु भनेर स्कुल संचालन गर्ने निर्णय गरिन् । त्यसपछि उनले आजका मितिसम्म पछाडी फर्केर हेर्नुपरेको छैन् ।
उनको समयमा पनि नेपाली समुदायमा विवाहित नारीलाई बाहिर निस्किएर काम गर्न खासै सजिलो थिएन् । तथापि उनले विवाहपश्चात नै शिक्षण पेशामा आफ्नो योजना कार्यन्वयन गर्न सुरु गरिन् । त्यो बेला उनले विभिन्न टिक्काटिप्पणी सामना गर्नुपर्यो । तर उनले कहिल्यै पनि हार मानेर आफ्नो कामलाई किनारा लगाइनन् । यसैकारण पनि उनले आज आफ्नो क्षमतालाई उचाइमा पुर्याएकी छिन् । यसै सन्दर्भलाई जोड्दै भिन्छिन् – ‘परिवार र श्रीमानको साथ पाउन सकियो भने महिलाहरु हरेक क्षेत्रमा अगाडी बढ्न सक्छन् । यो भन्दापनि श्रीमान र श्रीमतीको पेशाको क्षेत्र मिल्यो भने झन धेरै उपलब्धी हासिल गर्न सकिन्छ । यो कुरा मिलेन भने अत्यन्तै संघर्ष गर्नुपर्छ । म संचालक र प्रिन्सिपल मात्र भएर हुँदैन् साथमा छोरी छिन । आमाको भूमिका पनि जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्छ । सबै जिम्मेवारी निर्वाह गरेर स्कुल स्थिापित गर्न मैले ठूलो संघर्ष गरेकी छु ।'
स्कुल संचालनको प्रेरणाको स्रोत घरपरिवार र आफै स्वयमलाई ठान्ने खड्काको कमान्डमा संचालित गुरुकुल विद्यामन्दिरमा टिचिङ्ग र ननटिचिङ्ग स्टाफगरि २३ भन्दा बढीलाई उनले रोजगार दिएकी छिन् । देशको अहिलेको शैक्षिक अवस्थाको विषयलाई जोड्दै उनी नेपालको शिक्षा क्षेत्रमा धेरै कुरामा सुधार ल्याउन आवस्यक रहेको तर्क गर्छिन् । तर उनी अहिलेको शिक्षामा महिला तथा बालिकाहरुको सहभागिता उल्लेख्य रहेको छ भन्दै खुशी व्यक्त गर्छिन् । र, पछिल्लो समय धेरै महिलाहरुको संख्या शिक्षण पेशामा आवद्ध भएका कारण नयाँ जेनेरेसनका युवतीहरुमा पनि शिक्षा पहिलो प्राथमिकतामा पर्न थालेको उनी दावी गर्छिन् । यही संन्दर्भलाई जोड्दै उनी भन्छिन्, ‘एउटा घरमा आमा शिक्षित भए परिवारका सबैलाई उनले परिवर्तन गर्न सक्छिन् भन्ने भाष्य तर्कसंगत छ । यस्को पूर्ण प्रभाव अहिलेको शैक्षिक क्षेत्रमा परेको छ । अहिले स्कुल, विश्वविद्यालय तथा विभिन्न शिक्षालयहरुमा केटीहरुको संख्या उल्लेखिय छ । पछिल्लो शैक्षिक क्षेत्रमा महिलाको सहभागिता कस्तो छ भन्ने विषयलाई लिएर गरिएका सर्वेक्षणहरुका अनुसार विद्यावारिधी गर्ने पुरुषको संख्याभन्दा महिलाको संख्या बढी छ । यस्तै कलेज तथा विद्यालय शिक्षामा सहभागि बालिक तथा किशोरीहरुको संख्या पनि उस्तै आकर्षक छ । यो एउटा ज्वलन्त उदाहरण हो । तथापि, कतिपय दुरदराजका जिल्लाहरुमा भने अझैपनि महिला शिक्षामा देखिएका चुनौती तथा दयनिय अवस्था बेलाबेलामा सुन्नमा आइरहने गर्छन् । यस्ता कुराहरुलाई पनि सम्वन्धित निकायहरुले बेलैमा ध्यानदिनुपर्छ । अबका छोरीहरु शिक्षाबाट बञ्चित गरिनु हुन्न । र, सरकारी तथा गैरसरकारी शिक्षालयहरुमा गुणस्तरीय शिक्षालाई दिगो बनाइ आगामी दिनमा अहिले भइरहेका तथा देखिएका कमिकम्जोरीहरुलाई बेलैमा व्यवस्थापन गर्नुपर्छ । ताकी आगामी दिनमा भावी पिढिं गुणस्तरिय शिक्षाबाट टाढा हुनु नपरोस् ।’
आगामी दिनमा आफूले जग बसाएको शिक्षालयमा आवस्यक परिवर्तनलाई प्राथमिकतामा राखेर आधुनिक शिक्षालाई चुस्त दुरुस्त बनाउँन जोड दिने कुरामा उनी दृढ रहेको बस्नेत बताउँछिन् । तथापि, पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा देखिएको आधुनिक शैलीको उत्तारचढाव र त्यसले अहिलेको अवस्थामा उनीहरुमा निम्त्याएका नकरात्मक प्रभावलाई जोड्दै उनी हरेक कुरामा सानैदेखि व्यवहारिक शिक्षा दिन र आफ्ना सन्तानलाई सकरात्मक बनाउँनका लागि परिवारको ठूलो भूमिका रहेको भन्दै बेलैमा यस्ता कुरामा ध्यानदिन सम्पूर्ण आमाबुबाहरुलाई उनी आग्रह गर्छिन् । भावनामा बहकिएर सन्तानलाई गरिने कतिपय व्यवहारले उनीहरुमा नकरात्मक बानिको विकास गर्न नहुने विचार व्यक्त गर्छिन् । परिवारको सकरात्मक व्यवहार तथा सिकाई र शिक्षालयमा गरिने स्पष्ट व्यवहारले नै अहिलेका आधुनिक बालबालिकालाई सहि मार्ग दिन सकिने उनको सुझाव छ ।