जेठ २३, काठमाडौं । वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुनु हुँदैन । हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्ने प्रतिज्ञा गर्नुपर्ने बताएकी छन् ।
वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित नगरी हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्ने उनको भनाइ छ ।
'वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुनु हुँदैन । हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छ,' भण्डारीको शुमकामना सन्देशमा भनिएको छ, 'आजको दिन हामी हाम्रा अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्ने र भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गर्ने प्रतिज्ञा गरौं ।विश्व वातावरण दिवसले हामी सबैलाई हरियाली र समृद्ध नेपाल निर्माणको यात्रामा अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।'
वातावरण प्रदूषणका अनेक आयामहरूमध्ये प्लास्टिक प्रदूषण हाम्रो वातावरण र मानव जीवनका लागि ज्यादै ठूलो खतराको रूपमा देखा परेको उनको भनाइ छ ।
'प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले भरिपूर्ण हाम्रो देश नेपाल पनि प्लास्टिक फोहोरको हानिकारक प्रभावबाट अछुतो रहन सकेको छैन,' भण्डारीले भनेकी छन्, 'हाम्रा नदीहरू, ताल–पोखरीहरू, हिमालहरू, पहाडहरू र सहरहरू प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्न्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ ।'
यद्यपि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्नुपर्ने उनले बताएकी छन् । 'हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौं र सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौं ।हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुन:प्रयोग गर्न ठोस कदमहरू चाल्नै पर्दछ ।यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ,' भण्डारी शुभकामनामा भनिएको छ, 'प्लास्टिकको झोला, स्ट्र र बोतलहरू जस्ता एकल-प्रयोग प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्ने कामलाई प्राथमिकता दिनु पर्दछ ।साथै, हामीले हाम्रो दैनिक जीवनमा प्लास्टिकको फोहोरलाई न्यूनीकरण र उचित व्यवस्थापन गर्न सचेतनामूलक अभियानहरू सञ्चालन गर्नु पर्दछ ।'
यसका साथै, प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन र पुन: प्रयोगलाई सुनिश्चित गर्न फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नु पर्ने उनले बताएकी छन् । यसरी हामीले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्नुका साथै आर्थिक समृद्धि र रोजगारीका नयाँ अवसरहरू पनि सृजना गर्न सक्नुपर्ने उनको भनाइ छ । 'हामीले सास फेर्न स्वच्छ हावा, सफा र निर्मल पानी भएका नदी र तालतलैया अनि प्लास्टिक फोहोरको बोझबिना उभिएका कञ्चन हिमाल सहितको स्वच्छ र सुन्दर नेपाल बनाउन सक्छौं,' उनको शुभकानमा भनिएको छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’ को रूपमा मनाउन सुरु भएको यो वर्ष पचास वर्ष पुगेको छ । यो वर्ष पनि ‘प्लास्टिक प्रदूषणको समाधान’ भन्ने मुल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ यो दिवस मनाइँदैछ ।
कान्तिपुर