चैत ७ काठमाडौं । खानपान र जीवनशैलीका कारण कम उमेरमै मुख सम्बन्धी स्वास्थ्य समस्या देखिने नेपालीको संख्या बढ्दो छ। १० वर्ष उमेर समूहमुनिका बालबालिकाहरू नै मुख सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित हुने संख्या बढ्दो छ।
विश्व स्वास्थ्य संगठनको एक रिपोटका अनुसार हाल नेपालमा १ देखि ९ वर्षसम्मका उमेर समूहका करिब ५१।२ प्रतिशत नेपाली बालबालिकामा मुख सम्बन्धी सामान्यदेखि जटिल किसिमका स्वास्थ्य समस्या देखिको छ। यसरी ९ वर्षको उमेरमै मुख सम्बन्धी स्वास्थ्य समस्या देखिने प्रायः बालबालिकामा दाँत किराले खाने रोग रहेको छ।
यस्तै १५ वर्षभन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजाका समस्याबाट पीडित भएको पाइएको छ।
यसैगरी प्रति एक लाख नेपाली जनसंख्यामा ३.४ व्यक्तिहरू ओठ र मुखको क्यान्सरबाट प्रभावित छन्। मुख स्वास्थ्य सम्बन्धी उच्च तथा मध्यम स्तरको उपचार सेवाको विस्तारमा उल्लेखनीय प्रगति हुँदै गएको छ।
यसरी मुख सम्बधी स्वास्थ्य समस्या नेपालको शहरी क्षेत्रमा भन्दा ग्रामीण र दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दन्तरोग विशेषज्ञ समेत रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मुख स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण विषय भनेको जनचेतना रहेको बताएका छन्। ‘मुख स्वस्थ भयो भने शरीर स्वस्थ हुन्छ। त्यसैले स्वस्थ मुख स्वास्थ्यका लागि सबैले बुझ्न आवश्यक छ’‚ उनले भने।
जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा मुख स्वास्थ्य समावेश भएको परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट मुख स्वास्थ्य सञ्जाललाई स्थानीय तहसम्म विस्तार गर्न सकिने अवस्था रहेको छ।
प्रायः नेपालीका लागि मुख स्वास्थ्य सम्बन्धी रोगको समयमा उपचार नहुँदा महँगो भए पनि मुखको स्वास्थ्यलाई शरीरको अन्य स्वास्थ्य समस्यालाई जस्तो महत्त्व दिएको पाइँदैन।
नेपाल सरकारको राष्ट्रिय मुख स्वास्थ्य रणनीति (२०८१–२०८७)को दीर्घकालीन सोच ‘स्वास्थ्य मुख, सुन्दर शरीर’ रहेको छ भने यसको लक्ष्य मुख स्वास्थ्यको प्रवर्धन र मुख स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, रोगहरूको रोकथाम, नियन्त्रण, उपचारको विकास र पुनःस्थापना गर्दै प्रत्येक नागरिकमा गुणस्तरीय मुख स्वास्थ्यसेवाको समतामूलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्नु रहे पनि तदनुरूपको काम नभएको पाइन्छ।