असोज ७, झापा । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोलका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए।
टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् ।
समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।
त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन । सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयवासी श्यामनारायण गनगाई बताउछन् ।
यहाँको ट्युबवेलबाट आउने पानीमा अत्यधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन । “सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन”, श्यामनारायण भन्छन्, “पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो ।”
स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउछन् । उनी भन्छन्, “हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए ।”
सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउछन् ।