लेखक: बिना थिङ
काठमाडौं। अघिल्लो साता ‘कोसेली’ मा प्रकाशित पूर्ण पी राईको ‘पैसा र पारपाचुके’ शीर्षकको आलेखको लेखकीय दृष्टिकोणप्रति मेरा केही विमति छन् । उक्त आलेख एकपक्षीय भएकाले त्यसको सन्तुलनका लागि यो लेख तयार गरेको हुँ ।
अहिले नेपाली समाज र आम महिलाको अवस्थाबारे भइरहेका व्याख्या, विश्लेषण सतही र एकतर्फी छन् । केही पुरुष पीडित (त्यो पनि आर्थिक रूपबाट) भएको उदाहरण दिएर महिलाको वास्तविकता दबाइराख्ने काम हुनु दुस्खको कुरो हो । महिलालाई ‘नीच’ देखाइएका अखबारी खबरदेखि सिनेमासम्मले मानिसको मानसपटलमा सबै महिला खत्तमै हुँदा रहेछन् भन्ने छाप पर्ने खतरा छ । त्यसमा पनि बैदेशिक रोजगारमा गएका पुरुषहरूको श्रीमतीहरू सब खराब चरित्रका हुन्छन् भन्ने छाप पार्न खोज्नुले आम महिलामा मानसिक तनाव सिर्जना गरेको छ । तर वैदेशिक रोजगारमा गएका महिलाहरूले के कति दुस्ख भोगेका छन् रु ती महिलाहरूको श्रीमान् यता नेपालमा के कसरी बसेका छन् रु के कतिको घरबार बिग्रेको छ भन्ने लेखाजोखा भएको छैन ।
समाज हो— विकृति विसंगति हुन्छ । तर एकतर्फी मात्र विकृति विसंगति, घटनाका कुरा मिडियामा ल्याएर होहल्ला गर्ने परिपाटीले महिलाहरू कसरी मारमा परिरहेका छन् रु के–कति तनाव झेलिरहेका छन् रु त्यसको अध्ययन किन गरिएन रु यसबारे हल्लामा रम्नुभन्दा समस्याको चुरो पत्तो लगाउन जरुरी छ । त्यसैले मैले यहाँ केही उदाहरण प्रस्तुत गरेको छु। दुवै एकै विद्यालयमा पढाउँथे । तिनीहरूबीच प्रेम बस्यो । घरको अनुमतिबिनै विवाह गरे । पछि बोर्डिङको तलवमा चित्त नबुझेपछि र जिम्मेवारी बढेको बहानामा श्रीमान् वैदेशिक रोजगारीमा गए । सँगै होउन्जेल ठीकै थियो तर जब श्रीमान् विदेश पुगे त्यसपछि सुरु भयो श्रीमतीलाई मानसिक दबाब । जब स्कुल समय सकिन्छ अथवा बिदाका दिन आउँछन् तब– श्रीमतीलाई मोबाइलको जीपीआरएस अन गर्न लगाउन थाले, कहाँ–कहाँ जान्छिन् भनेर लोकेसन पत्ता लगाउनलाई । साथी अथवा आफन्तकहाँ जाँदा भाइबरमा भिडियो कल गरेर प्रमाण दिनुपर्ने । चौबीसै घण्टाको यस्तो मानसिक तनाव ! किन यस्तो गरेको प्रश्नमा श्रीमान्को उत्तर आउँछ रे, ‘नेपालमा सबैको श्रीमती पोइला गइरहेको छ । तिम्रो नि के भर रु’ यसरी, जसका लागि घरपरिवार त्यागेर आइन्, उसैले पलपल शंका गरिरहेकाले ती महिला अहिले ‘डिप्रेसन’ मा छिन् । यो प्रतिनिधि घटना मात्र हो । यसरी नियमित शंकाको दायरामा जिन्दगी बिताउन बाध्य महिला असंख्य छन् ।
प्रेम विवाहपछि उनका दुई केटाकेटी जन्मिए । तर श्रीमान् सधैं ‘हिरोगिरी’ देखाउने । घर चलाउन हम्मे भएपछि श्रीमती इजरायल गइन् । राम्रै आम्दानी हुन्थ्यो । केटाकेटी स्याहारिरहेको श्रीमान् सम्झेर महिनैपिच्छे पैसा पठाइन् । अनलाइन कुरा हुँदा सधैं श्रीमान्को पृष्ठभूमिमा घरको भित्तो देखिएपछि एक किसिमले निश्चिन्त हुन्थिन् श्रीमती । तर घर फिर्ने समयअगावै श्रीमान् भएभरको ‘ब्यालेन्स’ बोकेर टाप ।
सम्बन्धविच्छेद
अब रहयो कुरो सम्बन्धविच्छेदको । यो महिलाले भीखमा पाएको कुनै न्यायिक व्यवस्था अथवा कानुन हैन । र, यो लोग्नेमान्छेलाई ‘ब्ल्याकमेल’ गर्नको निमित्त गरिएको संघर्षको प्राप्ति पनि थिएन । वर्षौंदेखिको पितृसत्तात्मक राज्यव्यवस्थाको विरुद्धमा उठाइएको आवाजलाई गरिएको झिनो सम्बोधन मात्रै हो । पारपाचुके त्यतिखेर गरिन्छ जतिखेर सम्बन्धमा दरार पैदा हुन्छ । सम्बन्धमा त्यतिखेर दरार आउँछ जतिखेर श्रीमान् अथवा श्रीमतीले त्यस सम्बन्धलाई अगाडि लैजान नसक्ने गरी कुनै त्रुटि गर्छन् । केही त्रुटिहरूमा समझदारी गरिन्छ केहीमा गर्न नसकेर सम्बन्ध नै विच्छेद नै । नेपालको परिप्रेक्ष्यमा महिलाले घरपरिवार केटाकेटीका लागि सम्बन्धविच्छेदभन्दा बढी समझदारी गरेका छन् । यहाँ सम्बन्धविच्छेदले कानुनी मान्यता प्राप्त गरे पनि सामाजिक मान्यता भने पाएको छैन । सम्बन्धविच्छेद रहर हैन बाध्यता हो ।
पुरुष रोइलो
हाम्रा हजुरबा, बा पुस्ताका कति पुरुषको दुई वा त्योभन्दा बढी विवाह भएको पाइन्छ । उनीहरूले जतिवटा श्रीमती बटुले पनि केही आपत्ति रहँदैन्थ्यो । कारण ती श्रीमतीले खेतीपाती, जंगल, बस्तुभाउ गरेरै आफंै आफ्नो जीविकोपार्जन गर्थे । लोग्नेले सौता हाल्यो भनेर कतै उजुरी हाल्न पनि जान सक्दैनथे । कानुनतस् मुलुकी ऐन २०२० ले नै सम्बन्धविच्छेदको बारेमा बोलेको भए पनि साक्षरता दर अत्यन्त न्यून भएकैले त्यो खाले चेतना महिलाहरूमा देखिएन । घरेलु हिंसा अत्यधिक बढेर गए केही महिला बाध्य भई छुट्टिएर माइत जान्थे । तर सम्बन्धविच्छेद गरेर लोग्नेको अंश दाबी गरेर लिने चलन अथवा चेतना तिनीहरूमा थिएन ।
लामो समयदेखि नेपाली समाजमा महिलाहरूले आफ्ना पुरुषले जतिवटा श्रीमती बटुले पनि, घरेलु हिंसाले चरमबिन्दु नाघे पनि चुपचाप तिरस्कारको विष पिइरहे । २०६२–२०६३ को आन्दोलनपश्चात् भने नेपाली महिला केही जागरुक देखिन्छन् । यद्यपि यो चेतना गाउँस्तरसम्म पुग्न सकेको छैन । सहरमा बस्ने र आर्थिक हिसाबले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने महिलाहरू मात्र घरेलु हिंसा र बहुविवाहजस्ता आपराधिक गतिविधिबारे बोल्न सक्ने भएका छन् भलै यसका लागि महिला आईएनजीओ र एनजीओहरूको ‘ब्याकफोर्स’ किन नरहोस् । गलतलाई गलत भन्न सकेका छन् ।
सकभर सम्बन्ध जोड्नुपर्छ । तर जुन सम्बन्ध टुक्रिएर ध्वस्त छ भने त्यसलाई समाज र इज्जतको नाउँमा जबरजस्ती गाँसिरहनु झन् घातकसिद्ध हुन्छ । यस्तोमा सम्बन्धविच्छेद आवश्यक पर्छ । र, सम्बन्धविच्छेद गर्दा आधा सम्पत्ति महिलाले लान्छन् भन्ने जुन गुनासो छ, त्यो निरर्थक छ । के उसको सेक्युरिटीको जिम्मा राज्यले लिएको छ ? छैन भने उसले श्रीमान्बाट आफ्नो हकदाबीस्वरूप सम्पत्ति लिँदा केको आपत्ति ? आखिर ती महिलाले श्रीमान्सँगै हुँदा सम्पत्ति आर्जनमा सरसहयोग गरेकै हुन्छिन् ।
मुलुकी ऐनले बाँधेर ल्याएपछि र महिलाहरूमा चेतनाको स्तर बढेर गएपछि अंश विभाजन गर्नुपर्ने त्रासले अहिले सकेसम्म पुरुषहरू बहुविवाह गर्दैनन् । बाहिर अनेक सम्बन्ध राखे पनि प्रायस्ले घर हुल्दैनन् । यसले गर्दा पनि महिला हिंसा हुनबाट केही हदसम्म जोगिएको छ । त्यस्तै सम्बन्धविच्छेदपश्चात् महिलाले पाएको धेरथोर रकमले कुनै व्यवसाय गरेर बाँकी जीवन आर्थिक रूपमा निर्भर भएर जिउन पनि सक्ने भएका छन् । कानुन महिलामैत्री बनेको आरोप पुरुष साथीहरूको छ । वर्षौंदेखि नेपाली महिलाहरू हेपिए, दबाइए, घरेलु हिंसा भोग्न बाध्य भएका थिए । सम्बन्धविच्छेद नगरी घर न घाटको गरी महिलाहरू अलपत्र पारिएका थिए । महिलाहरूले वर्षौं आफ्ना पीडा व्यक्त गर्न नसकेरै मृत्यु वरण गरेका छन् । तिनको रुवाइ अहिले पनि नेपाली बतासमा गुन्जिरहेकै छन् । त्यसको क्षतिपूर्ति कसले दिने ? सदियौंदेखि महिलाले बगाएको आँसुको मापन गर्ने हो भने अहिले पुरुषले बगाएको सानोतिनो खोल्सी हैन महासागर बन्नेछ ।(कोसेलीमा प्रकाशित लेख )