भाद्र ११, रोल्पा । वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा खटिरहेका छन् ।
आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन मानिएको यस जिल्लामा माओवादीले सशस्त्र द्वन्द शुरुपछि चर्चित बनेको होलेरी घटना धेरैको मनमा ताजै छ । द्वन्दकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, द्वन्दमा प्रयोग गरिएका वङ्कर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि युद्ध पर्यटनको रुपमा रहेका छन् ।
पर्यटनको राम्रो सम्भावना रहे पनि जिल्लामा पर्यटक भने निकै कम मात्रै भित्रिएको जिल्ला समन्वय समितिका पर्यटन फोकल पर्सन दीपक डिसीले जानकारी दिए । उचित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग र दीर्घकालीन कार्ययोजना बन्न नसक्दा रोल्पाले पर्यटक तान्न नसकेको बताइन्छ । जलजला होलेरी गोरिल्ला पदमार्ग र बेनी पोखरा ढोरपाटन थवाङ हुँदै रुकुम जोड्ने दुई वटा पदमार्गको निर्माण गर्न सके रोल्पालाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना रहेको डिसीले बताए ।
पछिल्लो समयमा रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले समेत साहित्यिक कार्यक्रम गर्न थालेपछि काठमाडौंदेखि स्रष्टा आन्तरिक पर्यटकका रुपमा आएका थिए । रोल्पामा पर्यापर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनसँगै दश वर्ष लामो माओवादी सशस्त्र द्वन्दले रोल्पालाई युद्ध पर्यटनको सङ्ज्ञा थपिदिएको थियो । पर्यटनको धेरै सम्भावना भए पनि यसलाई लाभ लिने गरी ठोस योजना तथा कार्यक्रम भने बन्न नसकेको जिल्लावासीको गुनासो छ ।
जलजला, रुन्टी, गढीलेख, शिव गुफा, शिव पार्वती गुफा, शिव पञ्चायन आदि रोल्पाका धार्मिक पर्यटनका गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा हरेक वर्ष हजारौं तीर्थालु दर्शन र पूजापाठ गर्न आउने गर्छन् । यी धार्मिक क्षेत्रप्रति भक्तजनको यति अगाध आस्था छ की असार साउनको झरीमा समेत घण्टौँ पैदलयात्रा गरेर त्यस क्षेत्रमा आफ्नो मनोकाँक्ष पुरा गर्न पुग्ने गर्छन् । जलजलामा बराह देवताको पूजा गर्ने र रुन्टीमा प्रभु महाराजको पूजा गर्नेको असाध्यै भीड लाग्ने गर्दछ ।
ऐतिहासिक गाउँ थवाङ, जेल्वाङजस्ता सांस्कृतिक महत्व बोकेका स्थल सांस्कृतिक पर्यटनको केन्द्र मानिन्छन् । मगर बाहुल्य क्षेत्र रहेकाले यहाँको जनजीवन, भाषा, संस्कृति हेर्ने तथा बुझ्ने चाहानाले यो ठाउँको आकर्षण बढेको छ । खासगरी थवाङमा हरेक वर्षको भुम्या पर्व हेर्नका लागी देश विदेशबाट मानिस आउने गर्छन् । जलजला, सुनछहरी, विवाङ दह यहाँका पर्यापर्यटीयस्थल हुन् । जलजलाको मनमोहक दृश्य, सयौँ थरिका फूल तथा दलदले जमीनले विशेष आकर्षण गर्दछ । सुनछहरी नेपालकै लामो झरना भनिन्छ यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन । यसैगरी विवाङ दहलाई पनि पर्यापर्यटनको अर्को वैभव मानिन्छ ।
आफूहरुले स्थानीय तहसँग समन्वय गरी पूर्वी रोल्पाको पर्यटन विकासमा अभियान चालेको सुनछहरी गाउँपालिका–४ का हर्क घर्तीले जानकारी दिए। पूर्वी रोल्पाको सो गाउँपालिकामा पर्ने सुनछहरी झरनाको सुनछहरी संयुक्त युवा क्लबले स्थानीय निकायको सहयोगमा सरोकारवालासँग मिलेर त्यसको प्रचारप्रसारमा जोड दिएको छ ।
सोही गाउँपालिकाको गाउँमा १२ भदौमा पर्यटन महोत्सव हुँदैछ विवाङ दहको प्रचारप्रसारका लागि खेलकूद भनेर । सदरमुकामदेखि २८ कोष टाढा पर्ने सो स्थानमा हुन थालेको खेलकूद कार्यक्रम पनि स्थानीय विवाङ दह युवा क्लबले नै गर्न लागेको हो । नेपाल पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द भने सबैको मुखमा पर्यटन झुण्डिए पनि व्यवहारमा पर्यटनको योजनाबद्ध विकासमा लागेको नदेखिएको र पर्यटनका लागि विनियोजित रकम जम्मा हुने गरेको टिप्पणी गर्छन् ।