Web : Image
असार १३, घोराही । प्रदेश नं ५ का मुक्त कम्लहरीले शुक्रबार छैटौँ मुक्ति दिवस मनाएका छन् । विसं २०७० मा कम्लहरीले लगातार सिंहदरबार घेराउ आन्दोलन गरेका थिए ।
सो आन्दोलनपछि सरकारले सोही वर्ष असार १३ गते उनीहरुसँग १० बुँदे सहमति गरेको थियो । सोही सहमतिपछि कम्लहरीले यस दिनलाई मुक्ति दिवसका रुपमा घोषणा गरे र मनाउन थाले । विगत छ वर्षको दौरानमा कम्लहरी मुक्तिका लागि पर्याप्त नभए पनि धेरै काम भएको उनीहरुको भनाइ थियो
सो अवसरमा प्रदेश नं ५ का उपसभामुख कृष्णी थारुले सरकारसँगको सहमतिपछि कम्लहरीका लागि धेरै काम भएको बताउनुभयो । “केही भएको छैन भन्न मिल्दैन, केही न केही काम भएको छ”, उहाँले भन्नुभयो, “सङ्घीय र प्रदेश सरकारले शिक्षा, सीप र रोजगारीमा ध्यान दिएको छ, नीति निर्माणको काम गरेको छ ।” उहाँले कम्लहरीलाई मुक्तिपछि पनि आफ्नो जीवन सुरक्षित गर्नका लागि अझै सङ्र्घष गर्न आग्रह गर्नुभयो । विगतका दिन सम्झँदै उहाँले भन्नुभयो, “मैले धेरै यातना सहे, चाहेको जस्तो लागाउन, खान पाइएन । आफू बच्चा हुँदा अरुको बच्चा स्याहारेर बसियो”, उहाँले अगाडि थप्नुभयो “कामको सम्मान र जस कहिले पाइएन । बेसाहारा जीवन बिताइयो तर अहिले अवस्था फेरिएको छ ।”
उपसभामुख थारुले अहिले आफुहरुले ३८ वटा नीति प्रमाणीकरण गरिसकेका र अझै ११६ भन्दा धेरै नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले कम्लहरी, कमैया, दलित, मुुस्लिम, पछाडि परेका वर्ग, शिक्षा, स्वास्थ्य, रोजगार, अपाङ्गता भएका, भूमि व्यवस्थापन लगायतको विषयमा नीति निर्माण गरेर व्यवस्थित कार्य गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
कम्लहरीको अधिकारका लागि वकालत गर्दै आउनुभएका अधिवक्ता फकला थारुले अब कम्लहरीलाई मुक्त गर्ने मात्र नभएर शिक्षा, सीप र रोजगार दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले कम्लहरीका लागि मासिक एक हजार रुपैयाँ भत्ताको व्यवस्था गरेकामा धन्यावाद दिँदै थप सीपमूलक कार्यक्रम ल्याउनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा कम्लहरी अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कमलहरी विकास मञ्च बाँकेका अध्यक्ष दिलकुमारी चौधरी र बर्दियाकी अध्यक्ष कमला चौधरीलाई सम्मान गरिएको थियो ।
रासस
Share this with your friends: