असार १०,काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वैकल्पिक आधारहरू खोजी गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री गुरुङले बञ्चरेडाँडामा निर्माण गरिएको स्यानिटरी ल्याण्डफिल साइट सबै महिनामा बिना अवरोध सञ्चालन हुने गरी वैकल्पिक मार्गको निर्माण गरिने घोषणा समेत गरेकी हुन् ।
मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवार र अग्रणी निकायको रूपमा सबल बनाउनुपर्छ भन्ने सरकारको धारणा रहेको समेत बताइन् । उनले भनिन्, ‘नेपालको संविधान अनुसार फोहोरमैला सङ्कलन, व्यवस्थापनको लागि स्थानीय तहलाई जिम्मेवार तथा अग्रणी निकायको रूपमा सक्षम तथा सबल बनाउनु पर्दछ भन्ने मन्त्रालयको धारणा रहेको छ ।
सहकारिता, समन्वय र सहअस्तित्व नै तीनवटै तहको सरकारको अन्तरसम्बन्धको प्रमुख आधार रहेको र नेपाल सरकार कार्य विभाजन नियमावलीले फोहोरमैला व्यवस्थापन र समन्वयको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तोकेता पनि सहरी विकास मन्त्रालयले मिति २०७८ फागुन २६ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार मन्त्रालय अन्तरगत फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र स्थापना भई स्थानीय तहहरूलाई सहयोग, समन्वय तथा सहजीकरण गरिरहेको छ ।’
सहरी विकास मन्त्रालयबाट नै वीरगन्ज, नेपालगन्जमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई सञ्चालनमा आइसकेको उनले जानकारी दिइन् । त्यस्तै धनगढी, गोदावरी र शुक्लाफाँट नगरपालिकाहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणाधीन रहेको उनको भनाई छ ।