असोज १०, काठमाडौं । नेपालले २०५९ असोज १० मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो।
गर्भपतनले नेपालमा कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ। मुलुकी ऐनको ११औं संशोधनद्वारा गर्भपतनले कानुनी मान्यता पाएको थियो। कानुनी मान्यता पाएको २० वर्षमा नेपालले गर्भपतनलाई स्वास्थ्य सेवाको रुपमा मात्रै नभई महिलाको प्रजनन अधिकारको रुपमा अंगिकार गरिसकेको छ।
नेपालको संविधानले मौलिक हकको रुपमा अंगिकार गरेको प्रजनन स्वास्थ्य सेवा अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य सेवालाई व्यवस्थित गर्न सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ र नियमावली ०७७ लागु गरिएको छ। कानुनी मान्यता पाएको दिनलाई सम्झना गर्दै सात वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइन्छ। यस वर्ष ‘सुरक्षित गर्भपतनः अपराध होइन, अधिकार हो’ भन्ने नाराका साथ आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको छ।
काठमाडौं महानगर पालिकाकी उपमेयर सुनिता डङ्गोलले जानकारी नहुँदा पनि धेरैले समस्या भोग्नुपरेको बताइन्। उनले सुरक्षित गर्भपतन महिलाको प्रजनन् स्वास्थ्य अधिकार भएकाले यसलाई अपराधन भन्न नमिल्ने जिकीर गरिन्।
दिवसको अवसरमा परिवार कल्याण महाशाखा, महिला कानुन र विकास मञ्च, आइपास नेपाललगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। आइपास नेपालले गर्भपतनको इतिहासदेखि वर्तमानसम्मका विभिन्न घटनाक्रमहरुलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरेको थियो। महिला विकास र कानुन मञ्चका कार्यकरी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालमा सुरक्षित गर्भपतनको सुरूआतदेखि हालसम्मको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे। सो क्रममा उनले हालसम्म ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको बारे जानकारी रहेको बताए। अझसम्म पनि ५८ प्रतिशतले महिलाले असुरक्षित गर्भपतन गराइरहेको तथ्यांक छ।
स्वास्थ राज्यमन्त्री हिराचन्द्र केसीले कानुनत धेरै अधिकार प्राप्त भएको तर त्यसअनुसार कार्यान्वयनमा समस्या रहेको बताए। सुरक्षित गर्भपतनबारे स्कुल शिक्षामै समावेश गर्न आवश्यक रहेको उनले जोड दिए। साथसाथै सुरक्षित गर्भपतनको अधिकारको दुरुपयोग पनि हुन सक्ने भएकाले ख्याल गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आमा बन्ने चाहना हुँदाहुँदै श्रीमानको इच्छा नहुँदा बन्न नपाएको, अपाङ्गता भएकाहरूले आमा बन्न पाउने अधिकारको विषयलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिइन्।