चैत २८ काठमाडौं । पाँच वर्ष लामो प्रेम सम्बन्ध टुटेपछि एक प्रेमीले आफ्ना साथीलाई प्रयोग गरेर प्रेमिकालाई ब्ल्याकमेल गरेका छन् । प्रेममा हुँदा प्रेमीलाई पठाएको गोप्य भिडियो प्रयोग गरेर आफूलाई ब्ल्याकमेल गरिएको उजुरीको आधारमा साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ स्थित शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् । अधिकारीले भिडियो दुरुपयोग गरेर रकम माग्ने र शारीरिक सम्बन्धको प्रस्ताव गर्ने गरेको पीडितले बताएकी छन् ।
आरोपीलाई सो भिडियो पूर्व प्रेमीले उपलब्ध गराएको आकलन गरिएको छ । साइबर ब्युरोका एसपी दीपकराज अवस्थी भन्छन्– ‘भिडियो उनले कसरी पाए भन्नेबारे अनुसन्धान हुँदैछ ।’
चैत २६ मा पक्राउ परेका आरोपी विरुद्ध प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।