चैत १२ काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरबाट गत फागुन २९ गतेदेखि हराइरहेकी एक बालिकाको आज घरनजिकै खोलामा शव फेला परेको छ ।
स्थानीय बेचन अलीको १३ वर्षिय छोरी गुलशना खातुनको शव घरदेखि पश्चिम करिब पाँच सय मिटर पर खोला किनारमा फेला परेको हो ।
स्थानीयका अनुसार शव डढेको जस्तो देखिन्छ । अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
बालिका स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् । उनी गत फागुन २९ गते ९ बजे घर बाहिर निस्केकी थिइन् । छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन् ।
सूचना पाउनासाथ आफ्नो तर्फबाट आवश्यक खोजतलास र अनुसन्धान गरिएकोमा १३ दिनपछि आज शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए । बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिन अघि मात्रै वैदेशिक रोजगारीका लागि कतारतर्फ गएका थिए ।