चैत १४ काठमाडौं । सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा भारतीय महिला मृत फेला परेकी छन् । भारतको राजधानी दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो १ देखि २ बजेको बिचमा गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हरिवन नगरपालिका–११ का मो। सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं। १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सेराज नामक व्यक्ति पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए र उनी आज बिहान पनि मृतकसँग भेटेर फर्किएका थिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ। विवाहित आरती दिल्लीबाट मलंगवा किन आइन् र सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।