वैशाख १७,काठमाडौं । राजावादीको चैत १५ को प्रदर्शनमा गोली लागेर घाइते भएका ३ जना अझै अस्पतालमा उपचाररत छन् ।
एक महिना पुग्दा समेत पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा, तीघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री सिभिल अस्पतालमा र पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा अस्पतालमा उपचार चलिरहेको छ ।
श्रेष्ठको पाखुरामा स्टिल राख्ने काम सकिए पनि पाखुराको नशाको अप्रेसन गर्न अझै बाँकी छ । खत्रीको उपचार सकिन अझै दुई महिना लाग्ने परिवारका सदस्यले बताएका छन् । घाऊ ठूलो भएकाले सामान्य सजर्रीहरु भइरहेको उनको परिवारले बतायो । लुइँटेलको पेटको अप्रेसन अझै बाँकी छ । ‘दुईवटा आन्द्रा पेट बाहिर नै राखेर उपचार भइराखेको छ’, लुइँटेलले भने,‘अझै अप्रेसन बाँकी नै छ, अस्पतालबाट कहिले डिस्चार्ज हुने हो कुनै टुंगो छैन ।’
अस्पतालमा उपचारत र उपचारपछि डिस्चार्ज भएकाहरुलाई आर्थिक समस्याले सताउन थालेको छ । उपचार खर्च सरकारले निस्शुल्क गर्ने भनेपनि बाहिर किन्नुपर्ने औषधिसँगै बिरामी र कुरुवाको बसाईं नै कष्टकर बनेको छ । काम गरेर गुजरा चलाउने उनीहरु आराम गर्नुपर्ने भएकाले घरखर्च नै चलाउन मुस्किल भएको हो ।
हातमा गोलीको छर्रा लागेका दोलखाका रामचन्द्र बुढाथोकी आफू घाइते भएपछि परिवारको गुजरा चलाउनै मुस्किल भएको बताउँछन् । ‘गाडी चलाएर परिवारको खर्च धानेको थिएँ,’ बुढाथोकीले भने,‘बिहान बेलुका भात खान पनि मुस्किल भएको छ । सरसापटी र उधारोमा किनेका छौं । कसरी तिर्ने टुंगो छैन ।’
उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए ।