- सबिता ढकाल
म किन बोल्छु ?
म महिला !
ग्रामिण महिला !
बिपन्न कृषक परीवारमा जन्मिएको छोरी !
आमा बाको बुढेसकालमा जन्मिएको छोरी !
मेरो बाल्यकाल त्यति सुखद रहेन, आठ बर्षको उमेरदेखि मैले ज्याला पर्मको लागि मेलापातको काम शुरु गरेको हुँ। मैले कापी कलम, ड्रेस, विद्यालयको फी जुटाउनको लागि दरौंदीको बालुवा बोकेको छु; एक मोहोर प्रति पाथीको दरले। घाँस दाउरा गर्दा गाउँमा मैले नचाहारेको कुनै भीर, पाखा, खेत खोल्सा छैनन् । आठ कक्षा पढ्दासम्म म खाली खुट्टा नै हिडेको हुँ, आठ कक्षामा हुँदा बिरेन्द्रशिल्ड जानको लागि पहिलो पटक चप्पल लगाएका हुन् मेरा गोडाले ! समग्रमा अभाबै अभावमा हुर्किएको बाल्यकाल हो मेरो !!
मसंग महिनावारी हुँदा रगत लुकाउन नसकेको कारण हरेक महिना एक दुई दिन बिद्यालय छाडेको तितो कथा छ। मेरो लवाई र लुकलाई लिएर साथीहरुको बुलीको शिकार बनेको व्यथा छ। कक्षा कोठामा कसैको कपी कलम हराउँदा शंकाको घेरामा परेको नमीठो पीडा छ।
म ब्राम्हण परीवारको छोरी ! यो मेरो प्रिभिलेज्ड !
यो प्रिभिलेज्डको कारण मैले समाजका अझ बिकराल समस्यालाई अनुभव गर्न सकिन, अझ भनौं आन्तरीकिकरण गर्न सकिन। म स्थानीय समुह समितीमा महिला र दलितलाई सहभागी हुनबाट रोक्नका लागि बनाईएका ब्राह्मण पुरुषबादी रणनीतिको साक्षी बनेको छु, तर मेरो प्रिभिलेज्डको कारण यो सामाजिक अन्याय थियो भन्ने बुझ्न मलाई बर्षौं लाग्यो।
म पहाडी समुदायको महिला! मेरो राष्ट्रियता कहिल्यै प्रश्नको घेरामा परेन।
म बंशजको नागरीकता धारक नेपाली नागरीक !
मैले नागरीकता बिहिन हुँदाको र अंगिकृत नागरीकता लिनु पर्दाको पीडा महसुस नै गरिन !
मेरा प्रिभिलेज्डका अरु पनि आयाम छन्, जसले मलाई धेरै सामाजिक सवाल/मुद्धा बुज्नबाट रोक्यो ! अहिले बिस्तारै बुज्दै छु !!
एस. एल. सी. पास गरेपछि म गाउँ छोडेर शहर पसें, अभावमा हुर्किएकी एउटा गाउँले बालिका शहर पसेपछिका सबै संघर्ष लेख्ने हो भने त महाकाव्य नै बन्ला ! अपमान, दुर्ब्यबहार, तिरस्कारको पहाड एउटी कलिली केटीले कसरी थेगी त्यसको कुनै हिसाब किताब नै छैन। त्यसैले म आफुलाई योद्धा नै मान्छु । बिना हतियारको योद्धा !
आफन्तहरुकोमा कहिले काहीं जाँदा पनि हत्य देखाउन आएको, नसके पढ्न छोडीदिनु नि, छोरीले पढेरै पनि के लछारपाटो लाउने हो र, यो उमेरको केटी घर छोडेर बाहिर बस्दा के के देख्नु सुन्नु पर्ने हो भन्ने जस्ता तिरस्कृत वचनबाणले अहिले पनि कानमा रगत आउने गरी घोच्छ।
आई एस्सी सकेपछि मैले गाउँ फर्किएर शिक्षण गर्न शुरु गरें, त्यो मेरो जीवनको टर्निङ्ग पोईन्ट नै बन्यो। त्यसपछि भने मैले त्यति ठूलो अभाव झेल्नु परेन। आज समाज फेरीएको छ भनिन्छ, तर दलित, महिला, सिमान्तकृतहरुको भोगाईमा तात्विक भिन्नता छैन।
मेरो आफ्नो कथासंग मिल्दो भएर होला मलाई रामजी रामले कलेजमा फी तिर्न नसकेर परीक्षा दिन नपाएको घटनाले पोल्छ, चरम अभावमा बाँचेका बालबालिकाको वास्तविकताले मुटु घोच्छ, हिंसा र दुर्ब्यबहारमा परेका छोरी किशोरीहरुलाई दोषी देख्ने समाजका ठेकेदारहरुसंग रोष छ।
आज कति आफन्त, नजिककाहरु मलाई घमण्डी देख्छन् ! तर यसले मलाई कुनै फरक पार्दैन; यसले हिंसा, असमानता, तिरस्कार, बहिस्करणका बिरुद्ध बोल्ने मेरो आवाजलाई रोक्दैन। किन कि उनीहरुले जुन कुरालाई घमण्ड मानेका छन् नि, त्यो मैले बर्षौं संघर्ष गरेर आर्जन गरेको स्वाभिमान हो ! त्यसैले म बोल्छु ।
साभार : सबिता ढकालको फेसबुक वालबाट
संन्दर्भ - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान