काठमाडौं । महिला बेचविखन र पुर्नस्थापनाका क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले ३६ हजार बढी महिला तथा बालबालिकाको उद्दार गरेको बताएको छ । सन् १९९३ मा स्थापना भएको माइती नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा विहिबार उक्त जानकारी गराएको हो ।
सो अवसरमा माइती नेपालका निर्देशक विश्वराम खड्काले स्थापनाकालदेखी हालसम्म ३६ हजार ४५ जना महिला तथा बालबालिकालाई बेचबिखन हुनवाट बचाउन सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार २५ हजार ३२० जना महिलालाई पुर्नस्थापना गरिएको र ३ सय बढी बालबालिका माइती नेपालको संरक्षणमा रहेका छन् ।
निर्देशक खड्काले यो अवधिमा १ हजार ४ सयलाई औपचारिक शिक्षा, २ हजार ७ सय ६ जनालाई रोजगार तथा तालिम, १० हजार ६६५ घरेलु हिंसाका मुद्धा उपर कानुनी उपचार दिइएको बताउनुभयो । ५ सय महिला तथा बालबालिका संस्थाको आवास गृहमा रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष अनुराधा कोइरालाले पशुपति परिसरमा बच्चा अगाडी राखेर भिक्षा माग्ने महिला हिंसामा परेको थाहा पाएपछि दुई कोठावाट संस्थाको स्थापना गरेको बताउनुभयो । ‘मागेर गुजारा गर्ने महिला हिंसा पीडित भएको थाहा पाएपछि महिला हिंसा विरुद्ध काम गर्ने सोच बन्यो । त्यहि दुई कोठाबाट नेपाललाई चेलीबेटी बेचविखन मुक्त समाज बनाउन उद्देश्यले माइती नेपालको जन्म भएको हो’, अध्यक्ष कोइरालाले भन्नुभयो ।
संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, नेपाल प्रहरी लगायत माइती नेपाललाई सहयोग गर्ने विभिन्न विदेशी संस्थालाई पनि सम्मान गरेको थियो । त्यसैगरी संस्थामा २० वर्षदेखी कार्यरत ७ जना कर्मचारीलाई पनि सम्मान गरिएको थियो । महिला खबरमा प्रकाशित खबर ।