चैत २९ काठमाडौं । धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको हत्या आरोपमा देवर, देवरानी, नन्दसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान ६, पानबारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या आरोपमा प्रहरीले उनीहरुलाई झापा र मोरङको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अर्का व्यक्तिबारे भने प्रहरीले परिचय खुलाएको छैन । घटनामा अन्यको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो चुनकुमारी अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन्। धनकुटाको महालक्ष्मी नगरपालिका १ माइती भएकी उनको घाँटी र शरीरका अन्य भागमा चोट थिए। श्रीमान वैदेशिक रोजगारीमा रहेकाले उनी छोरालाई लिएर इटहरीमा बस्दै आएकी थिइन् । उनलाई फकाएर जंगलमा लगी हत्या गरिएको खुलेको प्रहरीको दाबी छ ।