चैत १३ काठमाडौं । विश्वमा ५३ करोड बौद्धमार्गी रहेको र त्यसको सानो हिस्सा मात्रै पनि लुम्बिनी आए नेपालको पर्यटन सफल हुने लुम्बिनी बौद्ध विश्वविद्यालयकी सह-प्राध्यापक शारदा पौडेलले धारणा राखेकी छन् । उनले लुम्बिनीको पर्यटन सम्भावनाबारे बोल्दै त्यसका लागि बौद्ध दर्शन, कला, साहित्यमा ज्ञान बढाउन जरुरी रहेको उल्लेख गरिन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वानस् अन्तर्राष्ट्रिय उडान’ मा बोल्दै पौडेलले लुम्बिनीको दिगो विकासका लागि पर्यटन पूर्वाधारका साथै बौद्ध अध्ययन, बौद्ध दर्शन, कला र साहित्यमा अनुसन्धान र अध्ययन आवश्यक रहेको बताइन् ।
‘भगवान बुद्धले बौद्ध धर्मप्रति आस्थावान् वा शान्ति चाहने कुनै पनि मान्छेले लुम्बिनी, बोधगया, सारनाथ र कुसीनगर गरी चार स्थानमा जानु र त्यहाँ जानेले परम शान्ति पाउँछन् भन्नु भएको छ,’ उनले महापरिनिर्वाण सुत्तको सन्दर्भ दिँदै भनिन्, ‘हामी बुद्ध, बुद्ध भनिरहेका छौँ तर बुद्धका दर्शनको मनन गरिरहेका छैनौँ ।’
सह-प्रा. पौडेलका अनुसार विश्वभर करिब ५३ करोड बौद्ध धर्मावलम्बी छन् । तीमध्ये ०।५ प्रतिशत अर्थात् २६ लाखजति मात्रै लुम्बिनीमा भित्र्याउने वातावरण बनाउन सकिए पनि नेपालको पर्यटन उद्योगमा उल्लेखनीय वृद्धि हुने उनको भनाइ छ । ‘बौद्ध दर्शनको राम्रो जानकारी भएमा बौद्ध पाहुनाहरू हाम्रो आचरण र व्यवहारबाट आकर्षित हुन्छन् र फेरि(फेरि लुम्बिनी आइरहन चाहन्छन्,’ उनले भनिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हाल ‘कोर बुद्धिजम’ र ‘अप्लाइड बुद्धिजम’ दुवै विषय अध्यापन हुँदै आएको उल्लेख गर्दै उनले विगत सात वर्षदेखि ट्राभल एन्ड टुरिजमका विद्यार्थीहरू उत्पादन भइरहेको जानकारी दिइन् । ‘हाम्रा विद्यार्थीहरूले भैरहवा र बुटवलका होटल तथा रेस्टुरेन्टमा इन्टर्नसिप गरेका छन् र अहिले चीनमा गएर थप अध्ययन गरिरहेका छन्,’ उनले भनिन्, ‘त्यस्तै, हामीकहाँ २ सय चिनियाँ विद्यार्थी अध्ययनरत छन् ।’
उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न शिक्षा, अनुसन्धान र व्यवहारिक ज्ञानको संयोजन आवश्यक रहेकोमा जोड दिइन् ।