असार १४, काठमाडौं ।बाबुको पहिचान नहुँदा नागरिकता पाउन नसकेकी उदयपुरगढी गाउँपालिका–८ खोल्मेकी २२ वर्षीया कमलकुमारी मगरले बल्ल आमाका नामबाट नागरिकता पाएकी छन् । काठमाडौंमा स्नातक तेस्रो वर्ष पढिरहेकी उनले जिल्ला प्रशासन कार्यालय उदयपुरबाट मंगलबार आमा रमिला मगरको नामबाट नागरिकता लिएकी हुन् ।
‘नागरिकता नहुँदा भविष्य नै अन्योल होला जस्तो थियो । बल्ल पढाइले सार्थकता पाएको छ, अब पढाइ पूरा गर्छु,’ उनले भनिन्, ‘बाबु नहुँदा जति पीडा थियो, नागरिकता नहुँदा त्योभन्दा बढी थियो ।’ भर्नादेखि परीक्षाका लागि भरिने फाराममा बुबाको नाम उल्लेख गर्नुपर्ने प्रावधानले बेलाबेला झस्काउने गरेको उनले सुनाइन् । क्याम्पसले स्नातक तेस्रो वर्ष पढ्दासम्म नागरिकता पेस गर्नुपर्ने सर्त राखेको थियो । ‘अब सबैभन्दा पहिले नागरिकता क्याम्पसमा लगेर बुझाउँछु,’ उनले भनिन्, ‘ढिलो भए पनि राज्यले न्याय गरेको छ ।’
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका हातबाट नागरिकता लिइरहँदा उनकी आमा ४० वर्षीया रमिला पनि छेउमै थिइन् । ‘छोरीको नागरिकता बनाउन काम लाग्ला भनेर बाउको एउटा फोटो राखेको थिएँ,’ रमिलाले भनिन्, ‘त्यो फोटो पनि घर आगलागी हुँदा जल्यो ।’ ठेगाना नै यकिन नभएका श्रीमान को अनुहार पनि बिर्सेको उनले बताइन् । ‘घर कहिले रामेछाप, कहिले दोलखा भनेर ढाँटेकाले पतिलाई खोज्ने ठेगाना नै थाहा भएन,’ उनले भनिन् ।
०५६ सालमा एसएलसी उत्तीर्ण गरेकी रमिला नेपाल रेडक्रसको सहयोगमा गाउँमा अनौपचारिक शिक्षा पढाउँदै थिइन् । तालिमका सिलसिलामा जनकपुर पुगेकी उनको एक मंगोलियन अनुहारका युवकसँग सम्बन्ध भयो । गर्भवती भएपछि ४र५ महिना सँगै बसे पनि बस्दा भएका सबै प्रमाण नष्ट गर्दै बेपत्ता भएको उनले सुनाइन् । २०५८ चैतमा माइती घरमै उनले छोरी जन्माइन् । ४ महिनापछि नाबालक छोरी बोकेर पति खोज्न रामेछाप गए पनि पत्ता लगाउन नसकेको उनको भनाइ छ ।
‘नाम–थर–ठेगाना केही थिएन, सँगै बस्दा पहिचान गरेको अनुहार र एउटा फोटो मात्रै थियो,’ रमिलाले भनिन्, ‘त्यसरी खोज्न जाँदा कसरी भेट्नु ?’ छोरीको विद्यालय जाने उमेर भएपछि आमाको मात्रै नाम उल्लेख गरेर जन्मदर्ता गरिदिएको उनी बताउँछिन् । बाबु नहुँदा नागरिकता बनाउन भोगेको समस्याभन्दा बढी सामाजिक व्यवहारले पोल्ने गरेको उनले सुनाइन् ।
कान्तिपुर