बैशाख ३१, काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले आफूलाई त्यहीँ पढ्ने छात्रले मानसिक प्रताडन दिइरहेको विषयमा पटकपटक विश्वविद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले ध्यान नदिएको पाइएको छ। उनले प्रशासनलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि आत्महत्या रोजेको घटना विवरणले देखाउँछ।
‘पहिलोपटक जानकारी गराउँदा किट विश्वविद्यालय प्रशासनले सुनुवाइ गरेको थिएन। दोस्रोपटक त्यसरी ह्यारेसमेन्ट गर्ने छात्रलाई प्रशासनले तीन महिनाका लागि निष्कासन गरेको थियो। त्यसपछि विश्वविद्यालय गएका ती छात्रले प्रकृति लम्साललाई मानसिक रूपमा थप दुःख दिएको पाइयो। यस विषयमा जानकार हुँदाहुँदै पनि विश्वविद्यालय प्रशासनले ती छात्रलाई कडा कारबाही गरेको देखिएन,’ भुवनेश्वरस्थित प्रहरी कमिसनर कार्यालय स्रोतले भन्यो।
अद्विक श्रीवास्तव नाम गरेका ती छात्रलाई विश्वविद्यालयले थप कारबाही नगर्दाको परिणाम प्रकृतिको ज्यान गएको स्रोतको दाबी छ। यो विषयमा किटका प्रमुख जनसम्पर्क अधिकृत श्रद्धाञ्जली नायकले पनि प्रकृतिलाई दुरुत्साहन भएको स्वीकार गरेकी छिन्।
उनले त्यतिबेला किटका तर्फबाट केही कमजोरी भएको र आत्महत्याका लागि दुरुत्साहन गर्ने छात्रलाई एकपटक तीन महिनाका लागि विश्वविद्यालयबाट निष्कासन गरेको पनि सकारेकी छिन्। ‘आत्महत्याका लागि दुरुत्साहन गर्ने छात्रलाई विश्वविद्यालय प्रशासनले तीन महिनाका लागि निष्कासन गरेको थियो, ऊ फेरि विश्वविद्यालयमा आएपछि प्रकृतिले आत्महत्या गर्नुपर्यो। यसमा विश्वविद्यालय प्रशासनको पनि कमजोरी रह्यो कि भन्ने हाम्रो बुझाइ छ,’ उनले नागरिकसँग भनिन्। प्रकृतिले आफूलाई ती छात्रले मानसिक रूपमा प्रताडित गरिरहेको भन्दै दुई पटक विश्वविद्यालय प्रशासनलाई जानकारी गराएकी थिइन्। तर प्रशासनले त्यसलाई गम्भीर रूपमा नलिँदा दुःखद घटना हुन पुगेको देखिन्छ।
प्रकृतिलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका छात्र भाग्ने क्रममा भुवनेश्वर विमानस्थलबाट पक्राउ परेका थिए। प्रकृतिका आफन्तले इन्फोसिटी प्रहरी चौकीमा दिएको उजुरीका आधारमा २१ वर्षीय अद्विक श्रीवास्तवलाई भुवनेश्वर विमानस्थलबाट पक्राउ गरिएको थियो।
गत फेब्रुअरी १६ मा प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले दिएको उजुरीका आधारमा सोही दिन श्रीवास्तवलाई विमानस्थलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उजुरीको दर्ता नम्बर ५४ छ। भुवनेश्वर प्रहरी कमिसनर डा। सुरेश देवदत्त सिंहले अरोपित थुनामा रहेको र माथिल्लो अदालतमा अपिल गरेको जानकारी दिए।
‘आत्महत्या दुरुत्साहन मुद्दामा श्रीवास्तव अहिले थुनामा छन्,’ सिंहले भने। सिंहका अनुसार पूर्णतः प्रताडन गरेको प्रमाण फेला पारेपछि प्रहरीले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
भारतीय दण्ड संहिताअन्तर्गत आत्महत्या दुरुत्साहनमा पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। त्यतिबेला प्रहरीले अनुसन्धान प्रक्रियाका लागि सम्बन्धित दस्तावेज तथा विद्युतीय सामग्री जफत गरेको थियो। ‘आरोपी श्रीवास्तवमाथि आत्महत्या उक्साहटसम्बन्धी कसुर र साइबर मुद्दा दर्ता भएको छ,’ कमिसनर सिंहले भने, ‘मृतकको मोबाइल, ल्यापटपलगायत बरामद गरेर जाँच गर्दा प्रमाण पुष्टि भएको छ।’
भारतीय दण्ड संहिताको धारा ३०६ मा आत्महत्या गर्न उक्साउने कसुर प्रमाणित भए अधिकतम १० वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ ।
प्रकृतिको मृत्यु प्रकरणमा आरोपित जेल चलान भएपछि प्रहरी अनुसन्धान टुंगिएको छ। लम्सालका नातेदार सिग्देलको किटानी जाहेरीमाथि अनुन्धान गरी भुवनेश्वर प्रहरीले त्यहाँको अदालतमा आरोपपत्र दर्ता गराएको हो। लम्साल नाताले सिग्देलकी बहिनी ९कजन० हुन्।
जाहेरीमा किट विश्वविद्यालयमा बिटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवलाई प्रतिवादी बनाइएको छ। जाहेरीमा श्रीवास्तवको उत्पीडनका कारण प्रकृतिले आत्महत्या गरेको दाबी गरिएको छ। ‘जाहेरवालाको आरोप प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि अदालतमा आरोपपत्र दर्ता भएको हो, अहिले अभियुक्त जेलमा छन्,’ कमिसनर सिंहले भने।
त्यसबेला विश्वविद्यालयका उपकुलपति प्राध्यापक सरनजित सिंहले विश्वविद्यालयमा भएको अप्रिय घटनाबाट आफूहरू अत्यन्तै दुखी भएको बताएका थिए। उनले विश्वविद्यालयसँग सम्बन्धित केही कर्मचारीले आन्दोलनकारी विद्यार्थीमाथि गरेको व्यवहारप्रति दुःख व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘उनीहरूलाई सेवाबाट समेत हटाइएको छ ।’ तर प्रकृति प्रकरणमा जोडिएका कर्मचारी अहिले त्यहीं कार्यरत छन्।
बिटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृतिको मृत्युलाई विश्वविद्यालयले आत्महत्या भनेको थियो। तर विश्वविद्यालय प्रशासनको भनाइबाट आक्रोशित विद्यार्थीले छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसलगत्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो। पछि किट प्रशासनले विद्यार्थीमाथि भएको दुव्र्यवहारप्रति माफी माग्दै आउनेजाने खर्च बेहोर्ने जनाएको थियो। त्यसपछि नेपाल आएका विद्यार्थी पढ्न गएका थिए।
किटमा अध्ययन गर्नेमा भारतीयपछि नेपाली विद्यार्थी धेरै छन्। एक विद्यार्थीका अनुसार नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी किटमा छन्। नेपाली विद्यार्थीको संख्या १३ सयभन्दा बढी छ।
प्रकृतिको मृत्यु सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगले घटना हुनुमा किट प्रशासन जिम्मेवार भएको ठहर गरेको थियो। आयोगले विद्यार्थीको सुरक्षामा किट प्रशासनले लापरबाही गरेको पनि जनाएको थियो। विश्वविद्यालयले प्रकृतिका नाममा हरेक वर्ष एक नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा पनि गरेको छ।
प्रकृतिको मृत्युबारे नेपाल सरकारले गहिरो चासो व्यक्त गरेपछि उडिसा राज्य सरकारले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग बनाएको थियो। प्रकृति फेब्रुअरी १६ मा विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी थिइन्।
भुवनेश्वर प्रहरी कममिसनर सिंहले प्रकृतिको मृत्यु सम्बन्धमा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान भएको बताएका छन्। ‘प्रकृतिको मृत्यु घटनामा प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान गरेको छ,’ उनले भने, ‘अर्की नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु घटनामा पनि प्रहरीले गहिरो अनुन्धान गरिरहेको छ। दोषीमाथि कानूनी कारबाही हुन्छ,’ उनले भने, ‘नेपाली मात्र होइन, यहाँ अध्यनरत सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ।’
नेपाली विद्यार्थीको आकर्षण रहेको सो कलेजमा प्रकृतिको मृत्यु भएको करिब तीन महिनापछि अर्की छात्रा प्रिसा साहको पनि शंकास्पद मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका– ८ स्थायी घर भइ पर्साको वीरगन्ज महानगरपालिका–१५ भिस्वा बस्दै आएकी साह गत वर्ष त्यहाँ पढ्न गएकी थिइन्।
प्रकृतिको मृत्यु तरंग
छात्रावासको कोठामा प्रकृतिको शव भेटिएलगत्तै नेपाली विद्यार्थी आन्दोलित भएका थिए। त्यसपछि फेब्रुअरी १७ मा किट विश्वविद्यालय प्रशासनले विद्यार्थीको आन्दोलनलाई अनुशासनहीन कार्य भन्दै नेपाली विद्यार्थीलाई छात्रावास छाड्न निर्देशन दिएको थियो।
प्रशासनले पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई बसमा राखेर ४० किलोमिटर टाढाको रेल स्टेसनमा लगेर छाडेको थियो। किट छात्रावासबाट नेपाली विद्यार्थीलाई हटाउने कार्यविरुद्ध नेपाल सरकारले कूटनीतिक स्तरबाट दबाव बढाएपछि फेब्रुअरी १७ कै साँझ प्रशासनले नेपाली विद्यार्थीमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध फिर्ता लिँदै उनीहरूलाई छात्रावासमा फर्किन अपिल गरेको थियो। विश्वविद्यालयका सुरक्षाकर्मीले नेपाली विद्यार्थीमाथि गरेको दुव्र्यवहारको विरोधमा फेब्रुअरी १७ मै भुवनेश्वर प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीउपर सुनवाई गर्दै प्रहरीले किटका सुरक्षागार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पनि पक्राउ गरेको थियो।
खलबलियो रोटी–बेटी सम्बन्ध
नेपाल र भारतबिच ऐतिहासिक, सांस्कृतिक र भौगोलिक अर्थात् रोटी–बेटी सम्बन्ध छ। तर किट विश्वविद्यालयमा भएको प्रकृति र प्रिसाको मृत्युले रोटी–बेटी सम्बन्ध खलबलिएको छ। प्रकृति र प्रिसाको मृत्यु घटनाले किटमा नेपाली विद्यार्थीले सुरक्षित वातावरण प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि उठेको छ। त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले भने, ‘प्रकृतिको मृत्यु घटनामा विश्वविद्यालय गम्भीर बनेको भए प्रिसाको मृत्यु घटना दोहरिने थिएन होला।’
‘किटमा नेपालीको मृत्यु समान्य होइन’
प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले किटमा नेपाली विद्यार्थीको मृत्यु समान्य घटना नभएको बताएका छन्। प्रकृति लम्सालको मृत्यु घटना सेलाउन नपाउँदैै अर्की प्रिसा साहको मृत्युले नेपाल सरकारको कूटनीति र किटको व्यवस्थापनमाथि गम्भीर प्रश्न तेर्सिएको उनले बताए। ‘कुनै शिक्षण संस्था आफ्ना विद्यार्थीको सुरक्षा र भलाइ गर्न असफल हुन्छ भने त्यो सम्पूर्ण सामाजिक र शैक्षिक व्यवस्थापनमा असफलता हो,’ उनले नागरिकसँग भने, ‘प्रकृतिको मृत्यु घटनामा नेपाल सरकार र कूटनीति गम्भीर बन्यो। तर प्रिसाको घटनामा सरकारको उपस्थिति कतै देखिएन। किटमा नेपाली मिडिया पुग्यो, सरकार पुगेन। यो विडम्बना हो।’
प्रतिनिधिसभा र राष्ट्रियसभामा जति प्रकृतिको मृत्यु घटनाले स्थान पायो त्यति प्रिसाको मृत्यु घटनाले नपाएको बताउँदै उनले भने, ‘यसले नेपाल सरकारको विभेदकारी चरित्र उदांगो पारिदिएको छ। हामीले संसद्मा सभामुखमार्फत प्रिसा मृत्यु प्रकरणमा सरकारको धारणा र अनुसन्धान उपलब्धि माग गरेका छौं तर कुनै जवाफ पाएका छैनौं। प्रिसाको आत्महत्या हो कि हत्यारु हामीले नेपाल सरकारसँग जवाफ चाहेका छौं। न्याय पाउन दलकै कार्यकर्ता वा कार्यकर्ताको छोरी हुनुपर्ने हो तरु’
प्रतिनिधसभाका अर्का सदस्य प्रभु साहले प्रिसा साहको मृत्युबारे सरकारले अहिलेसम्म संसद्लाई आधिकारिक जानकारी गराउन नसक्नु दुःखद भएको बताए। ‘हामी यस घटनामा नेपाल सरकारलाई गम्भीर बन्न र धारणा प्रष्ट पार्न आग्रह गर्छौं,’ उनले भने।