वैशाख १५ काठमाडौं ।आइतबार नयाँ बानेश्वरमा शिकहरुको प्रदर्शनको रिपोर्टिङ गरिरहेकी पत्रकार प्रहरीले हानेको पानीको फोहराले लागेर घाइते भइन्।
शिक्षकहरूले निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने सूचना पाएर उनी त्यसको रिपोर्टिङका लागि मध्याह्न १२ बजे शिक्षकहरूले आन्दोलन गर्दै आएको बानेश्वर क्षेत्र पुगेकी थिइन्।
उनी त्यहाँ पुग्दा शिक्षकहरू नाराबाजी गर्दै निषेधित क्षेत्र नजिक पुगिसकेका थिए। भिडिओ रेकर्डिङका लागि मोबाइल झिक्नै लाग्दा प्रहरीले शिक्षकतिर हानेको पानीको फोहराले लागेर ढलिन्।
पानीको फोहराले उनको आँखामा लागेको थियो। सडकमै ढलेपछि प्रहरीले नै उद्धार गरेर उनलाई बानेश्वरकै सिभिल अस्पताल पुर्याएको थियो।
त्यहाँबाट उनलाई थप उपचारका लागि तिलगंगा अस्पताल पुर्याइएको थियो।
तिलगंगामै उपचाररत उनले आइतबारको घटनाबारे यसरी बताइन् —
संसद भवन घेराउ गर्छौं, हाम्रै शैलीले उत्रिन्छौं भनेर खबर गरिएको थियो । त्यही हिसाबले हामी १२ बजे बानेश्वर पुग्यौं। त्यतिबेला निषेधित क्षेत्रमा जुलुस आइपुगिसकेको थियो।
त्यसपछि एकैचोटी शिक्षकहरू निषेधित क्षेत्र तोड्न नाराजुलुस गर्दै उत्रिनुभयो। उहाँहरू आक्रोशित भएर निषेधित क्षेत्र तोड्न खोजेपछि एक्कासि प्रहरीले पानीको फोहरा हान्न थाल्यो। म मोबाइल झिकेर भिडिओ खिच्न लागेँ।
देब्रेपट्टिको साइडमा थिएँ। भिडिओ खिच्नका लागि क्यामेरा अन गर्न पाउँदा नपाउँदै पानीको फोहरा एक्कासि आएर अनुहार झ्याप्पै लाग्यो। त्यसपछि केही देखिनँ। दिमाग एकदम ब्ल्यांक भयो। धुलमुल भएपछि आँत्तिए। त्यसपछि एकजना म्याम आएर प्रहरीलाई खबर गर्नुभयो।
त्यसपछि प्रहरीले बोकेर सिभिल अस्पताल लैजानुभयो।
प्रहरीले गाडीमा लैजाँदै गर्दा प्राइम टेलिभिजनमा फोन गरिदिन भने। उहाँहरूले अस्पताल पुर्याएपछि गरिदिनुभएछ। पानीको फोहरा लागेको दाहिने आँखाले हेर्न मिल्दैन। देब्रे आँखाले चाहीँ हेर्न मिल्छ।
निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेका शिक्षकहरूलाई प्रहरीले रोक्न खोजेपछि आइतबार बानेश्वरमा प्रहरीसँग झडप भएको थियो।
त्यसपछि प्रहरीले शिक्षकहरूमाथि लाठीचार्ज र पानीको फोहरा प्रहार गरेको थियो।
आन्दोलनको नेतृत्व गरेको शिक्षक महासंघले सरकारले संरक्षण गरेको ुभिजिलान्तेु हरू शान्तिपूर्ण भइरहेको आन्दोलनमा पसेर ढुंगामुढा गरी स्थिति भड्काएको आरोप लगाएको छ।
घटनापछि सोमबार विज्ञप्ति जारी गरी महासंघले स्थितिलाई भड्काएर त्यसैको आडमा प्रहरीबाट शिक्षक(कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको बताएको छ।
महासंघले ६२ जना शिक्षकहरू घाइते भनेको छ। यद्यपि प्रहरीले भने पत्रकार र प्रहरीसहित २३ जना घाइते भएको बताएको छ।