१ जेष्ठ काठमाडौं । रौतहटको कटहरिया नगरपालिका– ३, बडेरवा टोल स्थायी ठेगाना भई हाल कटहरिया–५ बजार क्षेत्रमै बस्दै आएका अहमद राय भाटको छोरा अरमान राय भाटकी पत्नी सानिया प्रवीनको शङ्कास्पद मृत्युबारे माइतीपक्षले गम्भीर छानबिनको माग गरेको छ ।
२१ वर्षीय सानिया गत आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो । पोष्टमार्टमपछि मृतकको शव माइती पक्षले बुझेर अन्तिम संस्कार गरिसकेको छ ।
सानियाका सासु–ससुरा लगायतले उनको मृत्युलाई ‘आत्महत्या’ भनेका छन् । माइती पक्षले भने सानियाको हत्या भएर ‘आत्महत्या’मा परिणत गर्न शव झुण्ड्याइएको भन्दै छानबिनको माग गरेका छन् ।
सानियाका माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् । उनीहरूले ईलाका प्रहरी कार्यालय गरुडामा आएर प्रहरीलाई घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेका छन् । सानियाका श्रीमान अरमान राय भाट भने फरार भएका छन् ।
मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला, सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण सानियालाई दैनिकजसो अरमानसहित परिवारका सदस्यले कुटपिट गर्दै आएका थिए ।
६ महिना अघि विवाह भएको बताउँदै उनले विवाहपछि परिवारका सदस्यले आफ्नी छोरीलाई एकपटक पनि माइत जान नदिएको दाबी गरे । घटनाको अघिल्लो दिन छोरी सानियासँग फोनमा कुराकानी भएको र सम्धी अहमद राय सानियालाई माइत पठाउन सहमत भएको र आफूलाई लिन बोलाएको पनि रौशनले बताए ।
सानियाको मृत्यु हुनुभन्दा दुई घण्टा अघि भिडियो कल गरेर आमासँग पनि कुरा गरेको बताइएको छ । त्यसको २ घण्टापछि उसले आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको भन्दै रौशनले घटना शङ्कास्पद रहेको जिकिर गरे ।
आफूले विवाहमा दाइजोस्वरुप फर्निचर, फ्रिज, कुलर पंखा, विभिन्न गहना दिएको तर ज्वाइँले कहिले मोटरसाइकल, कहिले १ लाख भारु माग गरेको उनको भनाइ छ । केही दिन अघिमात्र घरमा एसी जडान गरिदिन माग गरेको पनि उनले बताए ।
रौशनले आफ्ना दुई छोरीलाई अहमदकै दुई छोरासँग विवाह गराएका थिए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी राजन कार्कीका अनुसार रौशनकी जेठी छोरी (मृतककी दिदी) नगमा र उनका पति (अहमदकै अर्को छोरा) लालबाबुसँग बयान लिइसकिएको छ । प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने उनको भनाइ छ ।