भदौ ११, काठमाडौं । दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ। आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि निर्देशन दिएको हो।
बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गर्न समितिले निर्देशन दिएको छ।
डेरीहरुबाट प्लाष्टिकमा राखेर, रवरले बाँधेर बेचिने दूधको गुणस्तर कति हो थाहा नहुने भएकाले खुल्ला बिक्री गर्न नदिने महानगरले जनाएको छ। बैठकमा सहभागीले भने,‘दूधमा चिल्लोको मात्रा वा अन्य आवश्यक गुण कति छ थाहा हुँदैन। कहिले उत्पादन भएको हो, भन्न सकिँदैन। तर यस्ता पसलहरु घर भाडामा लिएर, फ्रिज राखेर दूध, दही, मही विक्री वितरण गर्छन्। अर्कोतिर प्याकेजिङ् गरिएका दूधहरु सडक किनारामा बेचिन्छन्। यसलाई व्यवस्थित गरेर दूध तथा दुग्धजन्य खाद्यवस्तुको स्वच्छ सञ्चय तथा विक्री प्रबन्ध मिलाउनु पर्नेमा बैठकका सहभागीहरुले जोड दिनुपर्छ।’
बैठकमा उपमेयर डंगोलले भनिन्, ‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री प्रणाली मात्र हो। यस प्रणालीमा किसानदेखि व्यापार गर्नेहरु सबैको लाभ हुने व्यवस्था मिलाउनु पर्छ। तर, प्रणाली मिलाउँदा मिलाउँदै बजारलाई अस्वच्छ र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँ कतैबाट गल्ती गर्न पाइँदैन।’
बैठकमा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सरकारले वितरण गर्ने पानीको गुणस्तरमा नागरिकलाई विश्वस्त बनाउन सके बजारबाट पानी किनेर खानु नगर्ने बताए। उनले भने, ‘खानेपानी वितरणमा चावी खोल्नेहरुले लापरबाही गर्दा कतै धेरै पानी जान्छ। कतै थोरै जान्छ। कतै पानी नै जाँदैन। यो असन्तुलन कसरी मिलाउन सकिन्छ। साझेदारसँग छलफल गर्नुपर्ने भएको छ।
डिप बोरिङ् गर्नेहरुले पानीको शुद्धिकरण कसरी गर्छन्रु यस्ता विषयमा अनुगमनबाट यथार्थ अभिलेखन गर्नुपर्छ।’