१ जेष्ठ काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । उनलाई खोज्न प्रहरीले आजदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ ।
वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।
घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् । उनीहरुलाई स्थानीयले पनि सघाइरहेका छन् ।
बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न सकेको छैन । आज बिहीबार चौथो दिनदेखि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ ।
काभ्रेमा वैशाख २९ गते मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।