माघ २२ काठमाडौं । जब लुइसा टोस्कानोले आफूलाई स्तन क्यानसर भएको थाहा पाइन्, तब उनी आश्चर्यमा परिन् । ब्राजिलमा बस्ने दुई सन्तानकी आमा ३८ वर्षीया टोस्कानो भन्छिन्– ‘यो कुरा निकै अपत्यारिलो थियो, किनकि म जवान, स्वस्थ, फिट थिएँ । त्यसैले मलाई क्यानसर देखिनु कुनै जोखिम कारण नै थिएन, लाग्थ्यो मलाई हुँदै हुँदैन । मलाई क्यानसर लागेको कुरा मैले विश्वास नै गर्न सकिनँ । किनकि क्यान्सर मेरो कल्पनाभन्दा धेरै टाढाको कुरा थियो ।’
लुइसालाई मार्च २०२४ मा स्टेज ३ क्यान्सर भएको पत्ता लागेको थियो, जसको अर्थ यो पहिले नै धेरै उन्नत चरणमा थियो । उनले स्तनको शल्यक्रीया गर्नुका साथै साढे चार महिनाभन्दा बढि समयसम्म किमो थेरापी र रेडियोथेरापी गराएकी थिइन् । उनको उपचार अगस्टमा पूरा भएको थियो, तर उनले फेरि पनि क्यान्सरजस्तो घाटक रोग नलागोस् भनेर औषधिको सेवन गरिरहेकी छिन् ।
‘किमोथेरापीको मात्रा धेरै थियो, तर मेरो शरीरले यसलाई राम्रोसंग सम्हाल्यो’, उनी सम्झन्छिन्– ‘म यो मेरो शल्यक्रिया र शारीरिक सहनशक्तिको लागि ऋणी छु।’ शल्यक्रियाको सन्दर्भमा उनले भनिन् – ‘मैले पूरै स्तन निकाल्नु परेन, अनि सबैभन्दा गाह्रो कुरा कपाल झर्नु थियो । यो प्रकृया धेरै छिटो र ठूलो मात्रामा भयो । एेनामा आफूलाई हेर्दा म डराउँथे र यसले मेरा सन्तानलाई पनि असर गर्यो ।’
वास्तवमा यो लुइसाको मात्र कथा होइन, क्यान्सर रोग अहिले रोग विश्वभरि नै बढिरहेको छ । धेरै भन्दा धेरै युवाहरु क्यान्सर जस्तो घातक रोगको जोखिममा प्रवेश गरिरहेका छन्, जसको विगतमा क्यान्सरको पारिवारिक इतिहास नै छैन ।
जैविक, वातावरणीय र जीवनशैलीका कारण क्यान्सर सामान्यतया वृद्ध–वृद्धामा हुने गर्छ । उदाहरणका लागि,सेल विभाजन पनि उमेरको साथ बढ्छ, जसले गर्दा उत्परिवर्तन बढाउँछ र क्यान्सरको जोखिम पनि बढाउँछ ।
यसैले, अन्कोलोजिस्टहरुले लामो समयदेखि के विश्वास गरेका छन् भने कि अनुवांशिक कारकहरु युवाहरुमा क्यान्सरको पछाडि छन्, जस्तै स्तन क्यान्सरमा बिआरसीए १ र बीआरसीए २ उत्परिवर्तनको उपस्थिति हुन्छ । यद्यपि, लुइसा जस्ता अन्य बिरामीहरुमा आनुवांशिक उत्परिवर्तनको कुनै स्पष्ट संकेत थिएन ।
क्यान्सरका बढ्दा घटनाहरू
सानै उमेरमा क्यान्सरसम्बन्धी एक रिपोर्टका अनुसार स्तन क्यान्सरका घटनामा वृद्धि भएको छ । बिएमजे अन्कोलोजीमा हालै प्रकाशित एक रिपोर्टअनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सरका घटना विश्वभर ७९ प्रतिशतले बढेको छ ।
सोही उमेर समूहमा क्यान्सरका कारण हुने मृत्युमा २८ प्रतिशतले वृद्धि भएको छ । यस अध्ययनमा २०४ देशमा २९ प्रकारका क्यान्सरको विश्लेषण गरिएको थियो । त्यस्तै, द लान्सेट पब्लिक हेल्थको एक रिपोर्टअनुसार अमेरिकामा सबै पुस्तामा १७ प्रकारका क्यान्सरहरू लगातार बढेका थिए, विशेष गरी सन् १९६५ देखि १९९६ को बीचमा जन्मेकाहरूमा धेरै मात्रामा क्यान्सरको जोखिम बढ्यो ।
अमेरिकन क्यान्सर सोसाइटी (एसीएस) को एक नयाँ रिपोर्टअनुसार सन् २०१२ देखि २०२१ को बीचमा ५० वर्षभन्दा कम उमेरका गोरा वर्णका महिलामा स्तन क्यान्सरका घटनामा वार्षिक १।४ प्रतिशतको दरले वृद्धि भएको छ भने सोही अवधिमा ५० वर्ष वा सोभन्दा बढी उमेरका गोरा वर्णकामहिलामा क्यान्सरको घटना वार्षिक ०।७ प्रतिशतले बढेको छ । त्यस्तै, बिएमजे ओन्कोलोजी रिपोर्टका अनुसार युवामा नासोफरेन्जियल, पेट र आन्द्राको क्यान्सर पनि बढेको छ ।
सम्भावित कारणहरू
लुइसाले आफ्नो परिवारको सहयोगले स्तन क्यान्सरविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
अनुसन्धानकर्ताहरूले अझै पनि कारणहरू पहिचान गर्ने प्रयास गरिरहेका बेला ल्यान्सेट अध्ययनले के चेतावनी दिएको छ भने यस्ता केसहरूमा लगातार वृद्धिले क्यान्सर रोकथाममा दशकौंको प्रगतिलाई उल्टाउन सक्छ ।
बीएमजे ओन्कोलोजी र द ल्यान्सेटको रिपोर्टअनुसार मासु, सोडियम, रक्सी र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग गर्नुलाई क्यान्सरको प्रमुख कारण मानिएको छ । यसबाहेक फलफूल, तरकारी र दूध कम खाँदा पनि यस्तो हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपना क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित छ, किनभने मोटोपनाले शरीरभित्र जलन र हर्मोनमा परिवर्तन ल्याउँछ । ल्यान्सेटको रिपोर्टअनुसार अमेरिकामा १७ मध्ये १० जना युवामा हुने क्यान्सर मोटोपनसँग सम्बन्धित छ । यसमा मृगौला, अण्डाशय, कलेजो, प्यान्क्रियाज र पित्तथैलीको क्यान्सर पर्दछन् ।
तथापि, यी कारकहरूले सबै घटनाहरूको कारणहरूमा प्रकाश पार्दैन। वैज्ञानिकहरूले थप सम्भावित कारणहरू पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
कोही–कोही भन्छन्– ‘इलेक्ट्रोनिक उपकरण वा सडकबत्तीबाट अप्राकृतिक प्रकाशको निरन्तर सम्पर्कमा आउँदा शरीरको जैविक घडीमा बाधा पुग्छ। यसले स्तन, आन्द्रा, डिम्बग्रंथि र प्रोस्टेट क्यान्सरको खतरा बढाउँछ ।’
अन्य अध्ययनहरूले देखाएअनुसार राति अबेरसम्म प्रकाशको सम्पर्कमा आउने सिफ्टले मेलाटोनिनको स्तर घटाउँछ, जसले क्यान्सर बढाउन मद्दत गर्छ ।
अन्य अनुसन्धाताहरूले प्याक गरिएका खानेकुरामा मिसाइएको रसायन, जस्तै इमल्सिफायर र कलरेन्ट्सले आन्द्रामा जलन गराउँछ र डिएनएलाई क्षति पुर्याउँछ भन्ने तर्क गरेका छन् ।
अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चका अनुसार पेट दुख्नु आन्द्राको क्यान्सरको कारण मात्र होइन, स्तन र रगतको क्यान्सरको कारक पनि हो ।