फागुन ४, काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानका क्रममा हालसम्म १३ लाख किशोरीले खोप लगाएका छन् । २२ माघमा सुरु भएको अभियान ६ फागुनमा सम्पन्न हुँदै छ । यस अवधिमा सरकारले करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अभियानलाई सफल पार्न खटिने स्वास्थ्यकर्मी, सहयोगी विद्यालयलगायत सबैलाई धन्यवाद दिएका छन् । ६ फागुनभित्र खोप लगाउन छुटेका ६ देखि १० कक्षासम्मका छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई समेत खोप दिने कार्यमा सहयोग गर्न मन्त्री पौडेलले अनुरोध गरेका छन् ।
बाँकेमा ७९।४५ प्रतिशत किशोरीले लगाए खोप
बाँकेका ७९ दशमलव ४५ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् । २२ माघबाट सुरु भएको खोपअन्तर्गत ३ फागुनसम्म १४ वर्षमुनिका २९ हजार तीन सय ५८ जनाले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा सञ्चालित खोप अभियानअन्तर्गत २ फागुनसम्म नेपालगन्जका ८५ प्रतिशतले खोप लगाएका छन् । कुल नौ हजार तीन सय १९ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार नौजनाले खोप लगाएको उनले बताए । कोहलपुरमा लक्ष्यको ८३ प्रतिशतले एचपिभी खोप सेवा लिएका छन् । कुल सात हजार चार सय ४८ किशोरीलाई खोप दिने लक्ष्य रहेकोमा त्यहाँका ६ हजार एक सय २२ जनाले खोप सेवा लिएको श्रेष्ठले बताए । उनका अनुसार खजुरा गाउँपालिकामा लक्ष्यको ८७ प्रतिशतले खोप लगाएका छन् । पाँच हजार आठ सय ७२ जनालाई खोप लगाउने लक्ष्य लिएकोमा पाँच हजार एक सय ३७ जनाले खोप लगाएको उनले बताए ।
सबैभन्दा धेरै जानकी गाउँपालिकाका किशोरीले एचपिभी खोप लगाएका छन् । त्यहाँ लक्ष्यको ११० प्रतिशतले खोप लगाएका छन् । गाउँपालिकामा एक हजार ९५९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा दुई हजार १७० जनालाई खोप सेवा दिइएको छ । राप्तीसोनारी गाउँपालिकामा ८६ दशमलव ७७ प्रतिशत, बैजनाथमा ६० दशमलव ५४ प्रतिशत, डुडुवामा ६० दशमलव २ र नरैनापुर गाउँपालिकामा ४५ प्रतिशतले खोप सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकामा तीन हजार एक सय ८३ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको थियो । गाउँपालिकामा दुई हजार सात सय ६२ जनाले खोप लिएको श्रेष्ठले बताए । बैजनाथ गाउँपालिकामा चार हजार ११४ जना किशोरीलाई खोप सेवा दिने लक्ष्य रहेकोमा दुई हजार चार सय ९१ जनाले खोप लिँदा डुडुवाका एक हजार एक सय ५१ जनाले खोप सेवा लिएका छन् । त्यहाँ दुई हजार पाँच सय ८४ जनालाई खोप सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।
नरैनापुर गाउँपालिकाका एक हजार एक सय १६ जनाले सेवा लिएका छन् । यहाँ दुई हजार चार सय ८० जनालाई खोप सेवा दिने लक्ष्य लिइएको छ । बाँकेका आठ पालिकाका ३६ हजार नौ सय ५० जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको छ । ‘खोप अभियानमा देखिएको उत्साहले लक्ष्य पूरा हुने देखिन्छ,’ खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले भने, ‘अन्य खोपको तुलनामा एचपिभी खोप लगाउने किशोरीको संख्या अधिक छ ।’ उनले छुटेका किशोरीको घरमै पुगेर खोप लगाउने बताए । ‘खोप केन्द्रमा लगाउन छुटेकालाई घरमै पुगेर लगाइनेछ,’ उनले भने ।