मंसिर २३, काठमाडौं । ‘कर्णालीका महिलाहरुको स्वास्थ्य अवस्थाले अहिले पनि बेलाबेलामा मलाई झस्काइरहन्छ । सन् २०१७ तिरको कुरा हो । आजभन्दा ४ वर्ष अगाडि मलाई र मेरो श्रीमान डा. विनोद अर्याललाई कर्णाली एकाडेमी हेल्थमा काम गर्न जाने अवसर जुर्यो । त्यहाँ पुगेपछि मलाई कर्णालीमा महिलाको जीवन सुनेभन्दा पनि कहालीलाग्दो लाग्यो ।’ यो यथार्थ भोगाइ हो हाल ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिकी नर्सिङ्ग डाइरेक्टर उमा श्रेष्ठको । नर्सिङ्ग पेशाको भोगाई, बुझाई र उनको संघर्षका बारेमा नेप्लिजवुमनले खोतल्ने प्रयास गरेको छ ।
श्रेष्ठले कर्णालीका थुप्रै महिलाहरुको जटिल स्वास्थ्यका बारेमा थाहा पाएकी छिन् । र, उनीहरुको उपचारमा संलग्न भएका बिरामीहरुलाई आज पनि स्मरण गर्छिन् । एकपटक कर्णाली अस्पतालमा पाठेघर कुँहिएर दुर्गन्धले छेउमै जान नसकिने अवस्थामा १८ वर्षिया युवतीलाई डेलिभरीका लागि अस्पताल ल्याइएको थियो । आमाको अवस्था नै नाजुक थियो । बच्चाको त धड्कन नै थिएन । हतार हतार अपरेशन गरेर मरिसकेको बच्चालाई बाहिर निकालियो । उनको शरीरमा जहाँ छोयो त्यहाँ रगत बेस्सरी बग्थ्यो । कर्णालीमा त्यो बेला ब्लड बैंक थिएन । आर्मीहरुलाई बोलाएर रगत पनि दिइयो । तर अप्रेसन सकिएर ट्रलिमा राखेपछि बिरामको मृत्यु भयो । यो घटनाले श्रेष्ठको दिमागमा ‘अब मैले आमा र बच्चाको विषयमा केही चेतनामूलक र प्रभावकारी काम गर्नुपर्छ’ भन्ने अठोट पस्यो । त्यसपछि उनले त्यहाँका महिलाहरुको स्वास्थ्यको विषयमा निकै नै काम गरिन् । आमा र बच्चाका विषयमा नाटकमार्फत चेतनामूलक अभियानमा सक्रिय भइन् । आफ्नो ड्युटीका अलावा पनि महिला तथा किशोरीहरुका विषयमा समुदायमा गएर बुझ्ने र उनीहरुलाई सचेत गराउने गर्थिन् । यो अवधिमा उनले महिलाहरुको अवस्था निकै जिर्ण पाइन् । पुरुषहरु रक्सी खाने र श्रीमतीलाई सहयोग नगर्ने । सुत्केरी अवस्थामा पनि श्रीमानहरुले जबरजस्ती शारीरिक सम्बन्ध राख्ने गरेका कारण धेरै महिलाहरुको पाठेघर खस्ने, च्यातिने लगायतका पाठेघरमा विभिन्न समस्या भएका कलिला आमाहरुको दर्दनाक अवस्थाले श्रेष्ठको मुटु दुख्थ्यो ।
नर्सिङ्ग पेशा आफैमा मानव सेवाको उपल्लो स्तर हो । मानव जीवनमा आइपर्ने स्वस्थ्य संकटबाट बिरामीहरुलाई मुक्त गराउन उपचार पद्दति बमोजिम कर्तव्य पूरा गर्नु नै नर्सिङ्ग पेशाको धर्म पनि हो । यस्तै नर्सको दायित्व र कर्तव्य पूरा गर्दागर्दै दुई दशकभन्दा बढी समय ब्यतित भएको पत्तो नै भएन श्रेष्ठलाई । मृदुभाषी, शालीन र हँसिलो मुहारकी उमासँग नर्सिङ्ग पेशामा जोडिएका मानिसहरुको थुप्रै तितामिठा अनुभवहरुको सँगालो छ ।
आधुनिक नर्सिङ फाउण्डर फ्लोरेन्स नाइटिङ्गेल रातभर जागेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले उनलाई ‘द लेडि विद द ल्याम्प’को नामबाट आज विश्वले चिन्छ । यस्तै, श्रेष्ठ ओम अस्पतलमा बिगत ३ वर्षदेखि नाइटिङ्गेलकै शैलीमा अहोरात्र बिरामीहरुको सेवामा खटिएर पनि आफूजस्तै २०५ नर्सहरुको प्रमुख जिम्मेवारी सम्हालेर काम गरिरहेकी छिन् । यसका अलावा उनीसँग नेपालका विभिन्न अस्पतालमा काम गरिसकेको अनुभव पनि छ । जीवनको २३ बसन्त त उनले शिक्षण अस्पताल महाराजगञ्ज(टिचिङ अस्पताल)मा काम गरेर बिताइसकेकी छिन् । जहाँ उनले नर्सिङका विषयमा आफूलाई निखार्ने अवसर पाइन् ।
नेपालको दुर्गम क्षेत्र जुम्लामा काजका बेलामासमेत सेवा गर्न भ्याइन् । अहिले पनि जुम्लाका महिलाहरुको जीवन सकसपूर्ण रहेको उनी बताउँछिन् । रजस्वाला भएकै कारण छाउगोठमा भोग्नुपरेको तीतो यथार्थ उनले आफ्नै आँखाले देखेपछि महिला स्वास्थ्यका विषयमा अझै गम्भीर भएर काम गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाएकी छिन् ।
उनले लमजुङ्ग अस्पतालमा समेत भोल्युन्टरको रुपमा काम गरिन् । जुम्लामा जस्तै लमजुङ्गमा पनि महिलाहरुको अवस्था दयनीय रहेको उनले पाइन् । नेपालगञ्ज अस्पतालमा काम गरेको छोटो अनुभव लिने मौका पनि उनलाई जुर्यो ।
यसैबीच, श्रेष्ठ र उनका पति डा. विनोद अर्याल लगायतको टिमले सोलुखुम्बुमा सात वर्ष लामो मेडिकल क्याम्प आयोजना गरेको थियो । उक्त क्याम्पमा पाठेघर खसेको, मोतिविन्दु, दाँत, सर्जिकल क्याम्प लगायत बिरामीलाई निःशुल्क औषधी प्रदान गर्दै धेरै बिरामी उपचार गरिन्थ्यो । हाल श्रेष्ठ संलग्न उक्त मेडिकल क्याम्प काठमाण्डू युनिभर्सिटी(केयू)ले सञ्चालन गरिरहेको छ । श्रेष्ठले नेपालका विभिन्न अस्पतालमा असिस्टेन्ट प्रोफेसर र नर्सिङ्ग डाइरेक्टरको जिम्मेवारी सम्हालिसकेकी छिन् । अहिले पनि उनी स्वास्थ्य क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुन्छिन् ।
काठमाडौंको रैथाने सम्पन्न घरानामा जन्मिहुर्किएकी श्रेष्ठ सामाजिक सेवाप्रति रुचि राख्ने आमाबुबाको सातौमध्येकी काँइलो सन्तान हुन् । उनको पारिवारिक धरातलले पनि उनलाई शिक्षा र समाजसेवालाई बुझ्न खासै समय लागेन । विवाहपश्चात पनि पति क्यान्सर विशेषज्ञ डा. डाक्टर अर्याल(जो राजधानीमा चिनिएका र रुचाइएका स्वास्थ्यकर्मी हुन्)को साथले पनि उमाभित्र काम गर्ने उर्जा थपिदियो ।
ओम अस्पतालमा नर्सिङ्ग डाइरेक्टरको रुपमा काम गर्न थालेपछिका दिनहरु श्रेष्ठका लागि अझ विशेष भए । उनले अस्पतालमा कार्यरत नर्सहरुको क्षमता अभिवृद्धि लगायतका विषयमा उदाहरणीय काम गरिन्। नयाँ कर्मचारहरुलाई प्रभावकारी सञ्चारमा आधारित अभिमुखीकरण र इन्डक्सन कार्यक्रमको आधार तयार गरेकी छिन् । नर्सहरुका लागि आधारभूत तालिम कार्यशाला, अन्तर विभागमा कर्मचारीहरुको हेरफेर, नयाँ कार्यसम्पादन मूल्याङ्कन नयाँ तथा पुराना कर्मचारीहरुका लागि नियमित रुपमा नर्सिङ मिटिङ सञ्चालन, उत्प्रेरणाका लागि अवार्ड, सबै नर्सिङ कर्मचारीहरुलाई वार्ड व्यवस्थापन डिभाइस अभिमुखीकरण लगायतका विभिन्न कार्य सम्पादन गरेर हाल कार्यान्वयनमा ल्याउन सफल भएकी छिन् ।
उनी भन्छिन्, ‘नर्स एउटा त्यस्तो पेशा हो जहाँ मानव जीवनको स्वास्थ्यको जिम्मेवारी हुन्छ। बिरामीको स्याहार गर्न सजिलो छैन । एउटा सानो गल्तीले मानिसको ज्यान जानसक्ने ठाउँ हो अस्पताल र एउटा नर्सको केयरले जीवनको अन्तिम चरणमा पुगिसकेको मानिसले पुनर्जीवन पाउनसक्छ । यहीकारण, नर्स इज द लाइट अफ लाइफ पनि भनिएको हो ।’
चौध वर्षको उमेरमै एसएलसीसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ विद्यालयमा पनि उत्कृष्ट अंक ल्याएर पास हुन्थिन् । श्रेष्ठले ढाका युनिभर्सिटी बंगलादेशबाट बिएसी नर्सिङ, राजीव गान्धी युनिभर्सिटी भारतबाट एमएसी तथा त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छिन् ।
सानो छँदा स्वास्थ्य क्षेत्रमा खासै रुचि नराख्ने श्रेष्ठलाई अध्ययन पूरा भएपछि बिरामीको सेवा गर्दा भने कहिल्यै दिक्क लागेन, बरु झन जोसजाँगरका साथ काम गर्ने इच्छा जाग्यो । यही मेहेनत र हुटहुटीले उनलाई जीवन जगत नै महसुस गर्न पाएकोमा अहिले आफ्नो पेशाप्रति गर्व लाग्छ । साथै जीवनसाथी पनि एउटै क्षेत्रको भएर काम गर्न उनलाई निकै सहज छ । पतिपत्नी दुवैले मानिसहरुको जीवनलाई स्वास्थ्य जटिलताबाट बाहिर निकाल्न सफल भएका छन् । कतिपटक त बिरामीको रगत अभाव हुँदा आफ्नै रगत दिएर पनि श्रेष्ठले बिरामीलाई बचाएकी छिन्। आफूले यसरी काम गरेको सम्झिँदा उनलाई गर्व महसुस हुन्छ।