वैशाख १६ काठमाडौं । घरभित्रको पीडा, असमझदारी र झगडापछि आक्रोशमा एक आमाले चालेको कदमले एउटा चारवर्षे निर्दोष बालकको जीवन समाप्त भएको छ । सप्तरीको राजविराज नगरपालिका– १, चनौराकी २५ वर्षीया आमा काजल साफी विराटनगरस्थित नोबेल अस्पतालको आइसियूमा जीवन–मृत्युको संघर्ष गरिरहेकी छिन् ।
प्रहरीका अनुसार काजलले आफ्ना नाबालक छोरालाई विष खुवाएर आफैँ पनि ज्यान लिने प्रयास गरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काजलले आइतबार साँझ छोरा सौरभलाई विष खुवाएर आफूले पनि खाएकी हुन् ।
तर, तीनवटा अस्पताल दौडाउँदा–दौडाउँदै सौरभको सोमबार बिहान विराटनगरको नोबेल अस्पतालमा ज्यान गएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । नोबेलमै उपचाररत काजलको अवस्था पनि गम्भीर छ । उनको जीवन जोगाउन चिकित्सकले प्रयास गरिरहेका छन् ।
उनीहरूलाई आइतबार साँझ राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो । त्यहाँबाट आइतबार राति नै विराटनगरको नोबेल अस्पताल लगिएको थियो । तर, सौरभलाई भने जोगाउन सम्भव भएन ।
एक साताअगाडि धनुषाको सहिदनगर– ५, वासुदेवपट्टीमा पनि यस्तै हृदयविदारक घटना घटेको छ । एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँ पनि ज्यान लिन खोजेकी थिइन् । ३० वर्षीया गर्भवती पविता साहले ६ वर्षीय छोरा आदित्य, चारवर्षीया छोरी आकृति र दुईवर्षीया छोरी आरुषीलाई विष खुवाएकी थिइन् ।
विष सेवनबाट तीनै नाबालक सन्तानको ज्यान गएको थियो । पछि उपचारका क्रममा आमा पविताको मृत्यु भएको छ । शल्यक्रिया गरेर निकालिएका नवजात शिशुको जनकपुरस्थित रामजानकी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।