भदौ १९, काठमाडौ । काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात अढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । निर्वाध उपचार सेवामा खटिनु पर्दा घर जाने समय मिलेको छैन, उहाँलाई । यो समयमा गर्भवती महिलाको केस बढी आउने भएकोले घर जान नपाईएको बताउनुहुन्छ, उहाँ ।
डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत हुनुहुन्छ । डा.दम्पती घरयासी मामलालाई भन्दा सेवालाई प्रधान ठानेर अहोरात्र खटिरहनुभएको छ । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आउनु भएकी डा.बस्न्यात र उहाँका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आउनुभएको छ ।
“यतिबेला विश्व कोरोना महामारीको चपेटामा छ । सामान्य अवस्थामा त आफ्नो ड्युटी पूरा गर्नुपर्दछ भने यो विषम घडीमा पछि हट्ने कुरै भएन”, उहाँले भन्नुभयो, “यहाँका महिलाको स्वास्थ्य सेवामा कमि हुन नदिन म सेवामै खटिएकी छु ।” शुरुमा छोरीका लागि तीन/तीन महिनाको अवधिमा घर जाने गरेपनि अहिले कोरोनाले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो ।
मेडिकल अफिसरका रुपमा पाटन अस्पतालमा काम गर्दै गर्दा प्रतिष्ठान जुम्लाका तत्कालीन उपकुलपति डा.पारसकुमार आचार्यको सहयोगमा विसं.२०७० सालमा डा.सुबी र उहाँको श्रीमान् डा. रविन जुम्ला आउनुभएको थियो । प्रतिष्ठानकै सहयोगमा डा.सुबीले एमडीईन गाईनोलोजी र डा. रविनले एमडीईन एनेस्थेसिया गर्नुभएको छ ।
काडमाडौं महानगपालिका १५ छाउनी स्थायी घर हुनुभएका डा.दम्पतिलाई जुम्ला प्रवेश शुरुमा असामान्य थियो । यद्यपि प्रवेश गरेको पहिलो महिनामा यहाँका खसभाषी महिलाको उपचारमा खटिँदा छोटै समयमै घुलमिल हुन सकिएको अनुभव डा.सुबीले सुनाउनुभयो । यो सात वर्षको अवधिमा कर्णालीका महिलालाई उपचार सेवा दिन पाउँदा निकै सन्तुष्टि मिलेको डा.दम्पतीले बताउनुभयो । नागरिकको सेवालाई पहिलो ठानेर सात महिनादेखि अढाई वर्षको छोरीलाई काठमाडौंमै छोडेर डा.दम्पति प्रतिष्ठानमा अनवरत रुपमा काम गर्दै आउनुभएको छ । यो खबर राससले प्रकाशित गरेको छ ।