प्रज्ञा दाहाल -
माघ ५, काठमाडौं । पाँच दिन अगाडी आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले एक खालको विनाशकारी महाभुकम्प सम्झाउने गरी तितो अनुभव दियो । हरेक वर्ष एयरलाइन्सका केहीन केही खबर आजभोली सुनिन्छन् । कहिले पोखरा उडेको विमान भैरहवा पुग्छ, कहिले विमानको चक्का अड्केर ल्याण्ड हुन नसकेको खबर सुनिन्छन् । वर्षेनि आउने तिथि जस्तो आकाश खुलेको दिन, मनोरम पोखर शहर अनि माघे सक्रान्तिको दिन, लामो समयदेखि नभेटिएका आतुर मन र अनेकन रहर उत्सर्ग गर्ने माहोलमा एकाएक कालो बादल लाग्यो । उक्त घटनाले नमिठो घाउ दिएको छ । मन रुझाउने विमान दुर्घटनाको आलो घाउमा खाटा पर्न समय लाग्नेछ । बाँचुन्जेल मुटु बिजाउने खाटा त बाँकी रहिरहने भो ।
एकाएक आफन्त भेट्न आतुर मन र ति मनका अनेकन रहरहरु अवसान भए । २० वर्ष सेवा गरेका ति निर्धक्क विश्वास गर्न सकिने अव्वल हातहरु जीवनसाथीका अधुरा सपना पूरा गर्न अठोट बोकेका मन एकाएक चिरनिन्द्रामा परे । कोही जिम्मेवारीको भारीलाई थोरै बिसाएर सात समुन्द्रपारबाट परिवारसँग खुसी साट्न आएकाहरु घरको संघार अगाडीनै अनन्त यात्राको बाटोमा एक्लै फर्किए । यता परिवारका आँखा र मन हेर्दाहेर्दै कालो बादलमा परिणत भए । विगत १६ वर्ष अगाडी टुक्रिएको आफ्नो जीवनसाथीको सपना पूरा गर्ने अठोट बोेकेको मन पनि उहि दुर्घटनाको चोटले निल्यो । १० महिने नाबालको नरबली पनि एकछिनको कालो समयले गर्यो । शरीरका हड्डि जोड्ने हातहरु टुक्रिए ।
'गो टु नेपाल' लेखेका ति विदेशी पाहुनाका हातहरु पनि आफ्नो प्राण भन्दा प्यारो जन्मभूमि भन्दा कतै पर आएर खरानीमा परिणत भए । कलम चलाउने ति पत्रकारले 'टाइमट्राभल' गरि दुर्घटनाको खबर सम्पादन गर्न नसक्ने भए । गिटार बजाउने हात, मञ्च गुन्जाउने त्यो सुरिलो आवाज, अरुको सुन्दरतामा निखार ल्याउने हात, आकाशमा उड्ने केहि एयर होस्टेसका सपना रंगिन हुनु अगाडी नै रंगहिन भएका क्यानभासहरु सबै उजाडिए । शव्दले व्यक्त गर्न नसकिने जलेका ७२ शरीर भित्रका सपना, उत्साह, रहर भावना अनि धेरै कुराहरु भन्दा पर क्षणभरमा बिलिन भए ।
सरप्राइज दिन आएका केहीलाई जीवनको अन्तिम यात्राले नै बाटो छेकिदियो । पोखराको सुन्दर प्रकृती हेर्न विदेशी भूमिबाट आएकाले आफ्नो परिवारभन्दा टाढा प्रलयको सामान गर्नुपर्यो । यस्ता अनेकन भावना, आवेग अर्थात आँखा र मनको भेल जति प्रस्तुत गरेपनि अन्त्यहिन हुन्छ । तर, हामी बाँचेका र सरकारमा रहेका सम्वद्ध निकायले विमान दुर्घट्ना किन र कसरी भयो भन्ने स्पष्ट कारणको खोजी नगर्ने हो भने आउँदो दिनपनि यस्ता दुर्घट्ना नदोहोरिएलान भन्न सकिन्न । फेरि ७२ मृत आत्मालाई शान्ती नमिल्ला ।
उच्चस्तरिय छानबिन समिति बन्छ तर कुनै प्रतिवेदन प्रस्तुत हुँदैन् । आइतबार भएको एयरलाइन्स दुर्घटनाको आज पाँचौ दिन भयो, केहि ठोस परिणाम आएको छैन् । आउन समय लाग्ने पनि होला । तर, उहि पहिले जस्तै ब्ल्याक बक्स हेरिन्छ, पोस्टमार्टम गरिन्छ, र चालक दोषी ठहरिन्छ । पहिला भए जस्तै इन्स्योरेन्स दावी गरिन्छ । पहिल्यै ढाडिएका जुकाहरु अझै ढाडिन्छन् । फेरी पहिले जस्तै एयरलाइन्सले 'क्लिन सिट' पाउँछन् ।
अब पन्ध्रदिन फेसबुक, टिकटक र इन्स्टा तात्नेवाला छन् । रमिते हामी, एम्बुलेन्स छेके जसरी दोषि एकअर्कालाई देखाउँछौं र फेरि कामगर्ने हातहरु छेक्छौ र बाटो रोक्छौ । एक हप्ता टिभी र पत्रपत्रिका रंङ्गिन्छन् । मृत आत्माहरुको नाममा १३ र ४५ औं पुण्यतिथिका दिन संवेदना श्रद्घाञ्जलीका शब्द गुच्छा अर्पिइन्छ । काम सकियो ।
एक दिन राष्ट्रिय शोकमा बिदा दिइयो । अब सम्झनामा एउटा पार्क पनि बन्ला । विदेशी ऋण लिएर किन नहोस् भव्य उद्घाटन हुन्छ । अनि फेरि सोही पार्क हामी रमितेको फोटो खिच्ने र टिकटक बनाउने स्टुडियो बन्छ। पार्टीका झोलेहरुको चियापान र शुभकामना आदानप्रदान गर्ने निःशुल्क अखडा बन्छ ।
बिकास जस्ता बिशाल मन र सहयोगी हातहरु अझै कम हुन्छन् । अनि ७२ जना नै एकादेशको कथा हुन्छन् । मानिस हो, मृत्यु अकाट्य छ । मृत्यु र जन्म संसार चलाउने रित हुन भन्ने भाष्य पनि ठिक होला । तर असमायिक निधन त्यसमा पनि दुर्घटनाबाट भएको मृत्यु केहि समयका लागि भएपनि टार्न सक्ने थुप्रै माध्यमहरुलाई हामी आफै हेलचेक्राइ गरिरहेका हुन्छौ । जस्तो भर्खरै भएको यो दुर्घटनाको कारण वा कारक पत्ता लगाउन सक्ने हो भने आउँदो दिनमा हुने भवितव्य टार्न सकिन्थ्यो होला ।
के, ति ७२ मांसपिण्डका १४४ रंगका सपनाहरुले 'क्लिन सिट' पाउँछन्? सात समुन्द्र तरेर नेपाल घुम्न आएका पर्यटकका आफन्तको मानसपटलमा बसेका कालरुपी नेपाली विमान एयरलाइन्स कम्पनी र मुकदर्शक नेपाली सरकारले क्लिन सिट पाउँछन् ?
आखिर कसले पाउँछ त्यो भ्रष्टाचारले रंगिएको, घिन्लाग्दो ७२ शरीरमा रगतले लिपिएको, परिवारको आँसुले ओसिएको, कति परिवारको रोटी खोसेको क्लिन सिट पाइन्छ त केबल 'डर्टी सिट फर डर्टी ओर्क' । अन्ली डर्टी सिट फर डर्टी ओर्क ।
शोकाकुल परिवार र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् । मृत आत्मालाई शान्ती मिलोस् । हार्दिक श्रद्घञ्जली ।