सुनिता लामिछाने
भमद्र १३, काठमाडौं । चार्ल्स डार्बिनका पिता छोरालाई डाक्टर बनाउन चाहन्थे । तर डार्बिनको डाक्टर बन्ने चाहना पटक्कै थिएन । उनको चाहना प्रकृति विज्ञानतिर थियो । उनलाई प्रकृति विज्ञानले तान्यो । लामो समयको अनुसन्धान, खोजबाट विश्व प्रसिद्ध महान वैज्ञानिक बन्न पुगे । के उनी डाक्टरभन्दा कम बने त ? उनीहरूका अभिभावक दुःखी बने त ? विद्यार्थीको भविष्य शिक्षकको हातमा भर पर्छ ।
शिक्षकले जस्तो बनाउन चाह्यो, त्यस्तै बन्छ । जुन शिक्षकले विद्यार्थीको रुचि बुझेर उसलाई अघि बढ्न सुझाए भने त्यस्ता विद्यार्थीको भविष्य चम्कनेमा दुईमत रहँदैन ।
घरपरिवारको मायालु वातावरणबाट विद्यालयमा प्रवेश गरेका कलिला मस्तिष्कमा जस्तो प्रभाव पार्न सकियो, त्यसैले उनीहरूको भविष्य निर्धारण गर्छ । फरक–फरक वातावरणबाट आएका बालबालिका एउटै कक्षाकोठाभित्र बसे तापनि उनीहरूको रुचि एउटै हुँदैन । विद्यार्थीको क्षमता र रुचि अनुसार शिक्षा दिनु उचित हुन्छ । एउटा कक्षाकोठमा सबै विद्यार्थी समान स्तरका हुँदैनन् । हत्केलाका औँलाहरू पनि असमान हुन्छन् । तर विभिन्न क्षमता बोकेर उनीहरू कक्षाकोठामा छिरेका हुन्छन् । शिक्षकको पेलाइ र अभिभावकको चाहनाले मात्र बालबालिकाले उपयोगी शिक्षा आर्जन गर्न सक्दैनन् ।
अभिभावकले आफ्ना सन्तानलाई सक्षम र सुसंस्कृत बनाउन विद्यालय भर्ना गरिदिन्छन् । अनि ती साना बालबालिकाका सबैभन्दा नजिक शिक्षक नै हुन्छन् । शिक्षकलाई नै आफ्ना कुरा खोल्छन् । शिक्षकप्रति पूर्णरूपमा विश्वास राख्ने भएकाले उनीहरूबीच आत्मीयता बढाउन साथीकै व्यवहार गर्नु आवश्यक हुन्छ । कक्षाकोठाभित्र पसेदेखि नै उनीहरूका क्रियाकलापलाई बुझेर स्वभाव अनुसार शिक्षकले आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
जब शिक्षक कक्षाकोठा भित्र पस्छ, उसले विद्यार्थीको क्षमता पर्गेल्नसके, उसको इच्छा र रुचि अनुसार पढाउनसके कक्षा सिकाइ प्रभावकारी बन्न सक्छ । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले आफूलाई आज त्यो ठाउँमा पुर्याउने श्रेय आफू कक्षा ४ मा पढ्दा आफूलाई पढाउने गुरुआमालाई दिएका छन् । पढ्न अल्छी गरिरहेका बालकलाई बगैँचामा पुर्याएर एउटा रुखबाट चरा अर्को रुखमा कसरी उड्यो भन्ने गुरुआमाको प्रश्न थियो । त्यही कुराले उनको मनमा भौतिकशास्त्रका विषयमा जिज्ञासा जगायो । त्यही जिज्ञासु स्वभावले उनलाई भारतका ठूला वैज्ञानिक साथै राष्ट्रपतिसम्म बनायो । त्यस्ता जिज्ञासु बालबालिकालाई कसरी सिर्जनशील बनाउनुपर्छ भन्ने शिक्षकले बुझ्नुपर्छ । शिक्षकले विद्यार्थीलाई बद्मास, ठग भन्ने र विभिन्न आरोप लगाएर सजाय दिनु राम्रो होइन । उनीहरू भित्र रहेको सिर्जनशील प्रतिभालाई गालीगलौज र कारबाहीले मार्नु हुँदैन ।
शिक्षकले दिएको गृहकार्य नगर्नु, विद्यालय जान नखोज्नु, डराउनु, तर्सिनु, नियमित कक्षामा उपस्थित नहुनु, हल्ला गर्नु, कक्षाकोठामा बस्दा जहिले पनि पछि बस्न रुचाउनु जस्ता समस्या के कारणले भएको हो रु विद्यार्थीहरू यस्तो काम किन गर्छन् त रु यस विषयमा पनि शिक्षकले ध्यान पुर्याउन आवश्यक छ । विद्यार्थीका हरेक हाउभाउलाई चासो दिएर उनीहरूको उज्ज्वल भविष्य र सफलताका लागि शिक्षकको सर्वोपरि भूमिका हुन्छ । यसरी पढाइमा खस्कँदै गएको र पढ्न मनै नलगाउने विद्यार्थीका बारेमा उसैको मिल्ने साथीसँग पनि बुझ्न सकिन्छ । अनुशासन छैन, नैतिक शिक्षाको पाठ सिकेको छैन भनेर शिक्षकले अभिभावक र अभिभावकले शिक्षकलाई दोष थुपार्ने काम गर्नु राम्रो होइन । बालबालिकालाई उचित संस्कार सिकाउन शिक्षक र विद्यालय परिवारको उत्तिकै दायित्व हुन्छ ।
विद्यार्थीले समयमा गृहकार्य बुझाउन सक्दैन, अल्छी गरेर बस्छ, उसको पढाइ विस्तारै खस्कँदै गएको छ भने त्यो किन भयो भन्ने विषयमा शिक्षकले खोजी गर्नुपर्छ । विद्यार्थीको पढाइ खस्कनुमा विद्यार्थीलाई मात्र दोष दिनु हुँदैन । विद्यार्थीमा जब यस्ता समस्या देखापर्न थाल्छ, यसमा अवश्य पनि कुनै कारण हुनुपर्छ भन्ने बुझ्नुपर्छ । यसो हुनुमा उसको घरायसी वातावरणले हो कि रु विद्यालयको वातावरण उचित नभएर हो रु खराब साथीको संगतले पो हो कि रु वा शिक्षकले पढाएको नबुझेर हो रु उसले पढ्न मन नगर्नाको कारण के हो रु शिक्षकले पत्ता लगाउनु आवश्यक हुन्छ ।
शिक्षकले व्याख्यान विधिलाई मात्र प्रयोग गरेर पढाउँदा, विद्यार्थीलाई सहभागी नगराउँदा उक्त कक्षाका विद्यार्थीहरू निस्क्रिय बन्दै जान्छन् । अनि शिक्षकले गृहकार्य माग्दा न समयमा गृहकार्य बुझाउन सक्छ, नत उसको क्षमतामा नै वृद्धि हुन्छ । नयाँ पुस्ताले जान्नुपर्ने, सिक्नुपर्ने कुरालाई विचार गरेर तिनै कुरालाई बुझी शिक्षकले आफूलाई परिस्कृत गर्दै जानुपर्छ । पुराना मान्यता र विचारबाट शिक्षा प्राप्त गर्न सक्दैनन् । पुराना सोचाइ नराखी ममता र प्रेमले दिने शिक्षा नै त्यो बालकको लागि असल शिक्षा बन्छ ।
परीक्षाको नतिजामा मात्र केन्द्रित नभई शिक्षकले दिएको ज्ञान, सीप व्यवहारमा पनि लागू हुने खालको हुनुपर्छ । प्रमाणपत्रको लागिमात्र विद्यालय जानु नपरोस् कि उसले आफ्ना शिक्षक र विद्यालयबाट सिकेका कुरा व्यावहारिक होस् । राष्ट्रको समृद्धिमा सर्वोत्कृष्ट सकारात्मक प्रभाव पार्ने शिक्षा महत्त्वपूर्ण क्षेत्र हो । गुणस्तरीय शिक्षा प्रदान गरी कर्तव्यनिष्ठ र नैतिक नागरिक बनाउन शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनको उत्तिकै महत्त्वपूर्ण भूमिका भए तापनि एक आदर्श शिक्षकको योगदानले विद्यार्थीको समग्र उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
लेखिका शिक्षक हुन्।