संघर्षनगर (बर्दिया) । मुक्त कमैया परिवारकी बालकुमारी चौधरीका चार छोराछोरी छन् । कान्छो अमृत दुई वर्षका छन् । छोराछोरीलाई स्याहार्नमै उनको दिन बित्थ्यो । काम गर्न जाँदा सँगै लिएर जानु पर्ने बाध्यता । काममा निस्किएपछि बच्चाहरु घरमा नहुने फर्किएपछि गाउँभरि खोजेर ल्याउनु पर्थ्यो । एक्लै छोडेर काममा जाँदा बालबालिका जोखिममा पर्ने डर छँदै थियो । तर, कमैया महिला जागरण समाजले गाउँमा शिशु स्याहार केन्द्र स्थापना गरेपछि समस्या टरेको छ । उनी दुई वर्षे छोरालाई बिहान ८ बजे स्याहार केन्द्रमा छोडछिन् र निर्धक्कका साथ तरकारी बिक्री गर्न बजार जाने गरेकी छन् । ‘स्याहार केन्द्र बनेपछि निकै सहज भएको छ । बच्चालाई त्यहाँ छोडेर तरकारी बिक्री गर्न राजापुर बजार पुग्छु,’ राजापुर नगरपालिका ४ संघर्ष नगरकी बालकुमारी भन्छिन्,‘अहिले छ छोरोछोरी हराउने चिन्तै भएन । दिनभरी मजाले आफ्नो काम गर्न पाइएको छ । कामबाट फर्किएपछि छोरालाई घर ल्याउने गरेको छु ।’
स्याहार केन्द्रले यहाँका मुक्त कमैयाहरुको दैनिक कार्यमा निकै सहज पुर्याएको छ । छोराछोरी स्याहार्नमा दिन बिताउने उनीहरु सानातिना व्यवसायमा लागेका छन् । खेतबारीको काममा जाँदा पनि छोराछोरी बाधक बनेका छैनन् । मजाले काममा जुट्न पाएका छन् । छोराछोरी स्याहार्ने बोझ उनीहरुलाई घटेको छ । ‘छोरालाई शिशु स्याहार केन्द्रमा राखेर आर्यआर्जनको काममा लाग्ने अवसर पाएकी छु । घरमै तरकारी खेती गरेको छु’उनले भनिन्,‘हाट बजारसम्म लगेर बिक्री गर्छु । स्याहार केन्द्रले त्यसमा निकै सहयोग पुर्याएको छ’वर्षा सिजनमा ३० हजारको तरकारी बिक्री गरेको उनले बताइन् ।
संर्घषनगरमा एकसय मुक्त कमैया परिवारको बस्ती छ । मुक्तिपछि उनीहरु यहाँ बसेका हुन् । निकै लामो संघर्षपछि जग्गा पाएकाले गाउँको नाम संघर्ष नगर राखिएको स्थानीय बताउँछन् ।
मुक्त कमैया परिवारका महिलाहरुको घरायसी र बाहिरी कामको बोझ छ । मजदुरी र सानातिना व्यवसाय नगरे छाक टर्दैन । उनीहरुको कार्यबोझ कम गर्ने उद्देश्यले स्याहार केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रमा मुक्त कमैयाका एकसय बालबालिका बिहान ८ देखि साँझ ५ बजेसम्म बस्छन् । ती बालबालिकाहरुलाई सरसफाईबारे सिकाइन्छ । पोषिलो नास्ता र खानसँगै खेलाएर अक्षर चिनाइन्छ । ‘मजदुरी जाँदा पनि बच्चासँगै लानु पर्ने हुन्थ्यो । बच्चा लिएर जाँदा काममा बाधा पुग्ने भन्दै काम दिनै नमान्ने पनि भेटिन्थे । अहिले आनन्द छ । बच्चालाई स्याहार केन्द्रमा छोड्यो अनि काम हिँड्यो,’ स्थानीय सरिता थारुले भनिन्,‘बच्चा भोकै बस्ने डर पनि भएन । मजाले काममा जान पाइएको छ । बच्चाको स्याहार्ने समस्या हल भएको छ ।’
यहाँ अधिकांश मुक्त कमैया परिवाहरु अझै पनि ज्याला मजदुरी गर्दै आएका छन् । आमाबुबा काममा जाँदा छोराछोरीहरु घरमा बस्ने कुरै भएन । उनीहरु नजिकैको खोलानालामा खेल्न जाँदा जोखिममा पर्ने डर हुने गरेको थियो । तर, स्याहार केन्द्रले मुक्त कमैया परिवारलाई काममा सहयोग पुग्नुका साथै जोखिम पनि कम गरेको छ । ‘छोरालाई दिनभरी स्याहार्न नपरेपछि जहाँ पनि काम गर्न जान पाइएको छ । त्यतिमात्रै होइन, बच्चाहरुको व्यवहारमा पनि परिवर्तन आएको छ,’ मुक्त कमैया जुगमानीले भनिन्,‘शिशु स्याहार केन्द्रमा सिकेका कुराहरु घरमा आएर भन्छन् ।’ यो खबर कान्तिपुरमा छापिएको छ ।