जाजरकोट । सानो झुप्रो । त्यहीँभित्र एक्लै बस्नुपर्ने बाध्यता । जाजरकोट जुनीचाँदे गाउँपालिका लुहादहकी १४ वर्षीया बिर्मी खड्का पहिलोपटक महिनाबारी हुँदा सात दिनसम्म छाउगोठमा एक्लै बस्न बाध्य हुनुभयो । आदर्श माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उहाँले महिनाबारी हुँदा छाउगोठमा नबस्ने अठोट गर्नुभएको थियो । तर घरपरिवार र समाजका अगाडि उहाँको अठोट पूरा हुन सकेन । उहाँ त्यही छाउगोठमै बस्न बाध्य हुनुभयो । घरनजिकै बनाइएको छाउगोठ पानी चुहिने, फोहोर, चिसो भुइँ भएको चर्पीजस्तो झुप्रोमा एक्लै बस्नु उहाँको रहर नभई बाध्यता हो ।
सात दिनसम्म उहाँले छाउगोठमा अत्यन्त असुरक्षित महसुस गर्नुभयो । ‘पहिलेदेखि चलिआएको चलन हटाउनुहुँदैन, देवीदेउता र पुर्खा रिसाउँछन् भन्दै छाउ बार्न लगाइन्छु, उहाँले भन्नुभयो, ‘यो रूढीवादी परम्परा त्याग्नै मान्दैनन् गाउँलेहरू । हामीलाई कसैले साथ दिँदैनन्, सबैले छाउ बार्नुपर्छ मात्र भन्छन् । मलाई निकै डर लाग्यो छाउगोठ बस्न।"
सोही ठाउँकी ९ कक्षामा अध्ययनरत निर्मला शाही पनि महिनाबारी हुँदा छाउगोठमा बस्नु जेल बस्नुजस्तै ठान्नुहुन्छ । तर पनि अभिभावकको अगाडि उहाँ निरीह हुन बाध्य हुनुहुन्छ । ‘विद्यालयमा सरहरूले महिनाबारी भएको बेला सरसफाइमा विशेष ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । छाउ बार्न छुट्टै गोठमा जानुपर्दैन । यो प्राकृतिक र जैविक प्रक्रिया हो भन्नुहुन्छ । तर बाआमाले देउता रिसाउँछन् भनेर मान्नुहुन्न, उहाँले भन्नुभयो, ‘हाम्रो कुरा कसैले सुन्दैन । गाउँमा गएर सरहरूसमेत बोल्न सक्नुहुन्न ।"
महिनाबारीको ७ र सुत्केरीको १८ दिन महिलाले अरूलाई, घरको जग तथा भित्तासमेत छुन पाउँदैनन् । शुद्ध नुहँदासम्म उनीहरूलाई दूधसमेत खान दिइन्न । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।
बिर्मी र निर्मलाजस्तै जुनीचाँदेका सबै किशोरी र महिला छाउ बार्न बाध्य छन् । लुहादह गाउँका सबै महिलालाई महिनाबारी भएको बेला छाउगोठमा नबसी धरै छैन । छाउगोठमा खाट परै जाओस्, ओछ्यानका नाममा पराल तथा खर र ओड्ने कपडाका नाममा झुत्रो कम्मलबाहेक अरू केही हुँदैन । लुहादहका ६६ घरपरिवारका महिला महिनाबारी र सुत्केरी हुँदा छाउगोठमा बस्न बाध्य छन् । उनीहरूलाई महिनाबारी हुँदा ५ दिन र सुत्केरी हुँदा १३ दिन छाउगोठमा बस्नुपर्ने बाध्यता छ । महिनाबारीको ७ दिन र सुत्केरी भएको १८ दिन नबित्दासम्म महिलाले अरूलाई छुन र घरको जग तथा भित्तासमेत छुन पाउँदैनन् । महिनाबारी र सुत्केरी भएर शुद्ध नुहँदासम्म दूधसमेत खान दिइँदैन महिलालाई ।
महिनाबारीको बेला गोठमा ल्याइदिएको खाना खाने, अरू व्यक्तिलाई छुने तथा खानेकुरा र घर छुन नमिल्ने स्थानीय ५५ वर्षीया मैना शाहीले बताउनुभयो । ‘घरभित्र पस्ने र जथाभावी अरूलाई छुने गरे देवीदेउता रिसाएर शरीर बांगिने, हात(खुट्टा सुन्निने, बिरामी पर्ने र घरमा अनिष्ट हुने हुँदा छाउ बार्नुपर्छु, उहाँले भन्नुभयो, ‘पुस्तौंदेखिको चलन हो, त्यसलाई हामीले मानेका छौं ।"
सशस्त्र द्वन्द्वमा समेत छाउप्रथा हटाउन नसकिएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । ‘गाउँका महिला युद्धमा होमिन तयार भए, उहाँले भन्नुभयो, ‘तर छाउपडी हटाउन तयार भएनन् । गाउँलेहरू रुढीवादी छन् । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धाले मान्दैनन् ।" गाउँपालिकालाई छाउमुक्त बनाउने उहाँको योजना छ ।
महिला तथा बालबालिका कार्यालयलगायत दर्जनौं संघसंस्थाले समाज रूपान्तरणका नाममा करोडौं बजेट खर्च गर्दै आएका छन् । बर्सेनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहे पनि छाउप्रथा उन्मूलन हुने सङ्केत छैन ।