Advertisement
Advertisement
Advertisement
Advertisement

उबेलाको अभिव्यक्ति स्वतन्त्रता
घर–माइतीमा खुलेर बह पोख्न नपाएका चेली तीजमा समूहमा गीतका माध्यमले आफ्ना दर्द पोख्थे । इतिहास भइसकेका त्यस्ता गीत समाजशास्त्रीय अध्ययनका महत्त्वपूर्ण सामग्री हुन् ।

उबेलाको अभिव्यक्ति स्वतन्त्रता

अलका आत्रेय चुडाल

भाद्र २४, काठमाडौं । नेपालको सामाजिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व बोकेको गाईजात्रा बाहेक अर्को महत्त्वपूर्ण सामाजिक र धार्मिक चाड छ– तीज । यस पर्वमा लुकेको यो महत्त्वपूर्ण पक्षबारे खासै चर्चा गरिएको छैन ।

 

महिलाको पर्वका रूपमा महत्त्वका साथ मानिँंदै आएको तीज के रातो सारी, मिठो खाना र माइती गाउँको मात्र चाड हो ? राम्रो पति पाउन र उसको दीर्घायुको कामना गर्नमात्र हो यो ? वा यो लुगा–गहना लगाउने एउटा मौकामात्र हो? यी सबै प्रश्नको एउटै उत्तर छ– होइन । हिन्दु धर्ममा यसको धार्मिक महत्त्व जस्तोसुकै भए पनि नेपालको सन्दर्भमा अति नै ठूलो सामाजिक महत्त्व छ । किन यो चाड सबै नेपाली नारीको प्रिय बन्न पुग्यो ? बाहुनवादको वर्चस्वले भन्ने तर्क आउला, जुन पूर्णतया खण्डित हुन्छ ।

 

धेरै वर्षअघि हाम्रोजस्तो पितृसत्तात्मक मुलुकमा नारीको अवस्था कस्तो हुँदो हो ? तिनलाई माइतमा होस् वा घरमा वा अन्यत्रै, कतै पनि अभिव्यक्ति स्वतन्त्रता थिएन । त्यस्तो अवस्थामा तीजको निहुँमा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्थे, आफ्ना दुस्खपीडा व्यक्त गरेर । एक्लै कोठामा त जो पनि रुन्छ, त्यसका लागि कुनै स्वतन्त्रताको हक चाहिँदैन ।

 

तर समूह र समाजमा आफूमाथिका आत्याचार र शोषण विरुद्ध बोल्न पाउने हकले भने धेरै महत्त्व रख्छ । तीजका गीत महिलाको जीवनका यथार्थसँग सम्बन्धित हुन्थे । संयुक्त पारिवारिक जीवनका समस्या, सासू, नन्द, आमाजुले दिने बुहार्तन, माइतीको बेवास्ता, माया या हेला गर्ने पतिको बयान, घाँस–दाउरा, खेतीपाती गर्दाका दुस्ख आदि वर्षभरि गुम्सिएका भावना अभिव्यक्त गर्ने स्वतन्त्रता तीजले मात्र दिएको थियो । घर–माइतीमा खुलेर आफ्ना कुण्ठा व्यक्त गर्न नपाएका चेली तीजमा समूहमा आफ्नो दर्द पोख्थे ।

 

दस मैना लाएर पैदा गरिन् आमाले
कैले छोरी ठूली होली भने बाबाले 
दुईजना आएर बाबासँग बोलेका
हाम्रा बाबा पापीले छोरी मोलेका

हामी चेली बेचिएर किनिएको गैरी खेत
आइज पानी दरर- लैजा सलल !

विरोध वा असन्तुष्टि पोख्ने माध्यम बनाएर महिलाले स्वस्फुर्त अनगिन्ती गीतहरू रचे, गाए र आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरे । यो असन्तुष्टि वा विरोध सम्बन्धित निकायले सुन्योरसुनेन, बेग्लै कुरा । तर आफ्नो आक्रोश, दर्द, पीडा र असन्तुष्टिको आवेगमा फनफनी नाचेर उनीहरूले मनलाई हलुंगो पारे ।

 

ती गीत कुनै सुधारको अपेक्षा गरेर गाइएका पनि हुँदैन थिए । ती गीतको उद्देश्य मात्र दुस्ख विसर्जन हुन्थ्यो । त्यो समयमा ती चेलीलाई यस्ता पारिवारिक र सामाजिक प्रताडनाको विरोध गर्न सकिन्छ र यसको उपाय पनि हुन्छ भन्ने हेक्का थिएन । दुस्खलाई अभिव्यक्तमात्र गर्न पाउँदा उनीहरू सन्तुष्ट थिए । हरेक वर्ष आफूजस्ता धेरै चेलीको उस्तै–उस्तै पीडा पोख्ने पर्व बन्यो, तीज । कसैले कल्पना गर्न सक्छ, माथिका शब्दको लय र तालमा आएको आक्रोशको हुरीमा ती चेलीलाई कुन शक्तिले फनफनी नचायो होला रु पीडाको चरमोत्कर्षमा पनि उनीहरूले गाए ।

 

कति पर्‍यो मेरी आमा तीनै आँठे डोरीलाई
जन्म नदेऊ भावीले अब छोरीलाई 
खुट्टा खायो चैतको धुपले
कर्म रूखो के गर्ने रूपले

यसरी अभिव्यक्ति स्वतन्त्रताका रूपमा तीज तथाकथित सम्भ्रान्त परिवारका महिलाको होइन, गाउँले, अशिक्षित र असम्पन्न परिवारका नारीको पर्व थियो । सम्भ्रान्त तथा तथाकथित शिक्षित एवं प्रतिष्ठित परिवारका नारीलाई चौतारीमा भेला भएर तीजमा गाउने र नाच्ने स्वतन्त्रता थिएन ।

 

त्यस्ता परिवारले यस्तो अभ्यासलाई असभ्य र गाउँले भनी हेय दृष्टिले हेर्थे । र आफ्ना चेलीलाई नाच्न र गाउन प्रतिबन्ध लगाएका हुन्थे । नाच्नु–गाउनु नै चरित्रहीनता हो भन्ने छाप बाल्यकालमै पारिएको हुन्थ्यो । उनीहरू आफ्नै महलभित्र रातो सारी र गहनामा सजिन्थे र धेरै भए शिव मन्दिरसम्म त्यो पनि निगरानीमा मात्र जान पाउँथे । त्यस्ता परिवारका महिला तीजले दिलाएको अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित थिए ।

 

त्यो समयले महिलालाई यो स्वतन्त्रता पनि त्यत्तिकै दिएको होइन । हाम्रा चेलीले तथाकथित पितृसत्ताको कठोर सर्त पालना गरेबापत यसको उपभोग गर्न पाएका हुँदाहुन् । त्यस स्वतन्त्रताको सर्त थियो– पतिको दीर्घायु र सुस्वास्थ्यका लागि निराहार र निर्जल उपवास । धर्मको पासो कुशलतापूर्वक फ्याँकियो– कुमारीहरूले व्रत गरे उत्तम वर पाउने, विवाहिताले गरे पति दीर्घायु हुने र सन्तान–सम्पत्ति प्राप्त हुने । जे होस्, यसै सर्तमा पनि निराहारै चेलीहरूले पर्वले जुराएको अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपभोग गरे ।

 

हिन्दु धर्मावलम्बीले तीज चाड नेपालमा मात्र होइन, भारतमा पनि मनाउँछन् । नेपालकै मधेसमा पनि तीज एउटा धार्मिक पर्वका रूपमा मनाइन्छ । तर अन्यत्रका महिलाले अभिव्यक्ति स्वतन्त्रताको पर्वका रूपमा मनाएनन् ।

 

तीज तिनका लागि एउटा विशुद्ध धार्मिक पर्वमात्र रह्यो । तर नेपाल, त्यो पनि पहाडी भेगमा कसरी यो पर्व नाचगानसँग जोडियो रु किन दरबार र शिक्षित परिवार अनि सामान्य जनताको तीजमा भिन्नता आयो ? यस प्रश्नको उत्तर खोज्नु सान्दर्भिक छ । ठोस प्रमाण अभावमा अनुमान गर्न सकिन्छ ।

 

कुनै व्रतपूजापछि भजन–कीर्तन गर्ने हिन्दु परम्परा छ । तीजको दिन नदी किनारमा भेला भएका चेलीहरूलाई शिवलिङ्गको पूजा गराइसकेपछि पुरेत हिँंडे । फुर्सद पाएका चेली भेला भएर गफ गर्न थाले । त्यसै क्रममा खोलामा काम विशेषले आएका मगर वा गुरुङ्सेनी चेली पनि सामेल भए ।

 

गफैगफमा एउटीले सँगीको विलौनामा लय हालिदिइन् । अर्कीले शब्द थपिन् । एउटी दुखियाले अर्की दुखियाको भाव बुझे । गीतको तालमा सँगै बसेकाले थपडी बजाए । भावविभोर भएर मन थाम्न नसकी अर्की जुरुक्क उठेर नाच्न थालिन् र तीज गीतको पहिलो उद्भव भयो । साँझ ती चेली छुट्टिए । अर्को वर्ष फेरि भेट्ने वाचाका साथ । फरक–फरक गाउँबाट माइती आएका ती चेली तीजपछि आ–आफ्ना घर फर्के, तीजको गीत र नृत्यको नयाँ अनुभव लिएर ।

 

घर पुगेर सँगीहरूलाई नयाँ अनुभव सुनाए । अर्को वर्ष अरू थुप्रै गाउँमा नयाँ दुख थपेर नयाँ भाकामा गीत रचिए होलान् । यसरी तीज–गीतको परम्पराको थालनी भयो होला । जात र धर्मको भेदभाव नराखी चेलीहरू चौतारामा भेला भए, आखिर दुख त एउटै थियो । समयले कोल्टे फेर्‍यो, समाजले काँचुली । नेपाली समाजले परिवर्तनका ठूलठूला फड्को मारिसक्यो । अब चेलीलाई अभिव्यक्ति स्वतन्त्रताका लागि तीज पर्खिरहनु पर्दैन । त्यसैले आज तीजको महत्त्व र चलन फेरिएको छ । धार्मिक महत्त्व पनि हराउँदैछ । विस्तारै अब तीज भद्दा कोठेगीतको चाड बनेको छ ।

 

हामी किन सामेल हुन नपाउने भनेर पुरुषको पनि आवाज उठ्न थालेको छ । उनीहरू पनि श्रीमतीसँगै तीजको दर खान ससुराली जान थालेका छन् । उहिले ‘तीजको ज्वाइँ’ भन्ने उखान अब अर्थहीन भयो । अब चेलीलाई तीजमा एक्लै माइती आउने आवश्यकता पनि रहेन । तीजका आधुनिक म्युजिक भिडियोमा चेलीसँगै पुरुष पनि नाच्न थालेका छन् । यी सबै बीच मुख्य प्रश्न हो– वर्तमान समयमा तीज किन महत्त्वपूर्ण छ ? तीज किन मनाउने ? यी प्रश्नको उत्तर आउँदै गर्ला ।

 

तर अहिले नेपाली महिलाबारे अध्ययन गर्नेले चेलीको अभिव्यक्ति स्वतन्त्रताको पाटो र पुराना तीज गीतहरू, जो अब लोप हुने अवस्थामा पुगेका छन्, तिनको संकलन र जोहो गर्नेतर्फ पहल गर्नु आवश्यक भैसकेको छ । ती गीतमा धेरै कुरा लुकेका छन् । इतिहास भैसकेका ती गीत समाजशास्त्रीय अध्ययनका महत्त्वपूर्ण सामग्री हुन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement