लीला लुइँटेल
भाद्र २१, काठमाडौं । परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो । यसको समाप्तिपछि महिलालाई मानवभन्दा तल्लो स्तरमा राखेर व्याख्या र व्यवहार गर्न प्रारम्भ भयो ।
पाश्चात्य साहित्यशास्त्रका चिन्तक एरिस्टोटलले ‘केही गुणको कमीका कारण नारी नारी भएको हो’ भन्दै महिलाका त्रुटि एवं कमजोरीतर्फ सङ्केत गरेका छन् । सेन्ट टमस एक्विनसले नारीलाई ‘अपूर्ण मानिस’ भनी नारीकै खोट देखाउन परिश्रम गरे । अर्कोतिर मनोविश्लेषक फ्रायडले नारीमा पाइने ‘शिश्न ईश्र्या’को सन्दर्भ उल्लेख गर्दै नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम भनी व्याख्या गरे ।
फ्रायडले गरेको शिश्न ईष्र्याको सन्दर्भचाहिँ समाजमा कतै–कतै देखिन सक्छ । तर यस प्रकारको शिश्न ईष्र्या नारीभित्र रहेको प्रकृति प्रदत्त गुण वा अवगुणका कारण नभई परिवार एवं समाजद्वारा गरिने लैङ्गिक विभेदले उत्पन्न हुनसक्ने ईष्र्या हो भन्ने नबुझ्ने कोही छैन होला । यसरी अधिकांश दार्शनिक, चिन्तक, वैज्ञानिक, नेता, विद्वान्ले पुरुष भएकैले नारीलाई पुरुषभन्दा हीन ठानेर व्याख्या गरेको स्पष्टै देखिन्छ ।
पूर्वीय एवं पाश्चात्य क्षेत्रमा भएका अनुसन्धानले सन्तानका लागि बुद्धि निर्माण, विकास र विस्तार गर्ने कोषमा बाबुको कि आमाको अंश बढी हुन्छ भनेर निक्र्योल गर्नसकेको जानकारी कतै पाइँदैन । भू्रण निर्माणमा बाबुको शुक्रकीट अनिवार्य भए पनि यसको विकास र विस्तारमा सम्पूर्ण भूमिका आमाकै रहने ध्रुवसत्य हो ।
भ्रूणका रूपमा रहँदा महिलाकै रगतको भरणपोषणबाट शरीर निर्मित हुन्छ । मानवका रूपमा जन्मिसकेपछि लामो समयसम्म ऊ महिलाकै सेतो रगतमा आश्रित हुन्छ भनी यहाँ व्याख्या गरिरहनु पर्दैन । यस्तो प्रत्यक्ष सत्य दृष्टिगोचर हुँदाहुँदै पुरुषहरूले कुन विवेकलाई साक्षी राखेर ‘आइमाईको बुद्धि हुँदैन’ भन्छन् । बुद्धि लैङ्गिक पहिचान गरेर पुरुषकै शरीरमा मात्र स्वचालित एवं अनियन्त्रित ढङ्गले पलाउने र विस्तार हुने ऐँजेरु होइन होला ।
नेपाली समाजमा पनि महिलाबाट हुने झिनामसिना गल्तीलाई स्वीकार्न नसकेर वा नचाहेर ‘आइमाईको बुद्धि हुँदैन’ भनेर होच्याउने अभीष्टले क्षूद्र टिप्पणी गरिएको जताततै सुनिन्छ । अर्कोतिर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भनेर सन्तानको बुद्धिमा आमाको प्रत्यक्ष प्रभाव रहने कुरा व्यक्त गरिएको पाइन्छ । तर ‘दूधगुन बुद्धि कुलगुन ज्ञान’ भन्ने उखान पनि कुनै सन्तानले गलत बाटो पहिल्यायो भने आमालाई होच्याउन मात्र प्रयोग गरिन्छ ।
सन्तानले सुमार्ग रोज्यो भने आमालाई श्रेय दिन यस्तो टिप्पणी गरिँदैन । अझ सन्तानले झिनामसिना कुनै गल्ती गर्दा बाबुले ‘हाम्रो छोरोरहाम्री छोरी’ नभनी ‘तेरो छोरो, तेरी छोरी’ भन्दै आमातिरै औँला ठड्याएको देखिन्छ । तिनै सन्तानले राम्रो काम गरेको आभास हुनासाथ नाक फुलाउँदै ‘देखिस्, मेरो छोरो, मेरी छोरी’ भन्दै आमालाई इख्याउँछन् । यसरी लामो समयदेखि नै पुरुषले सकारात्मक सन्दर्भका जशजति आफ्नो भागमा पार्दै नकारात्मक सन्दर्भका दोषजति महिलाकै टाउकोमा खन्याएर आफू महान हुन खोजेको स्पष्टै देखिन्छ ।
विद्युतीय सञ्चारको युगमा पुरुषले गरेका र गर्नसकेका प्रत्येक काम महिलाले सफलतापूर्वक सम्पन्न गरिरहेका उदाहरण प्रशस्तै छन् । तर हाम्रा कतिपय विधिव्यवहार सूक्ष्म रूपमा हेर्ने हो भने महिलाले सहजतापूर्वक गरिरहेका काम सहजतापूर्वक गर्न पुरुषलाई हम्मे परिरहेको पाइन्छ ।
बुद्धि लगाउनुपर्ने भनिएका कुनै पनि काममा पुरुषजत्ति नै अवसर प्राप्त महिलाको सहभागिता उत्साहजनक देखिन्छ । महिला संलग्न भएकै कारण त्यस्ता काम असफल भएको देखिँदैन । सफलता र असफलताको निर्धारण लिङ्गका आधारमा नभएर व्यक्तिले पाएको अवसर तथा उसको लगन एवं परिस्थितिमा भर पर्ने यथार्थ सबैले बुझेकै हुनुपर्छ । अवसर पाएका पुरुषले आफूलाई महान देखाउनकै लागि अवसरबाट वञ्चित आफ्नै आमालाई होच्याउने अभीष्टले यस्तो टिप्पणी गर्नु सभ्य व्यक्तिलाई कत्तिको सुहाउँछ, त्यो व्यक्ति स्वयंले अनुभूत गर्ने कुरा हो ।
लामो समयदेखि फुक्काफाल भएर महिलालाई मानवभन्दा तल्लो स्तरमा राखी शासन गर्ने अवसर पाएको पुरुषले महिलालाई कमजोर ठानेर उसलाई होच्याउन यस्ता टिप्पणी गरेको स्पष्टै देखिन्छ । यस्ता उखानको विरोध गर्नु यस लेखको अभीष्ट होइन ।
विज्ञान सम्मत नभएका अनि व्यवहारले पनि पुष्टि गरिसकेका सत्य–तथ्यलाई समेत बेवास्ता गर्नु र सकारात्मक सन्दर्भका जशजति पुरुषका भागमा पार्न खोज्दै नकारात्मक सन्दर्भका अपजशजति महिलामाथि थोपर्न खोज्ने पितृसत्तात्मक मानसिकताका उपजलाई समाजले त्याग्न ढिलो भइसकेको छ ।
महिला हिंसा शारीरिकमात्र नभई मानसिक पनि हुन्छ । यस खाले टिप्पणी नगरे महिला हिंसा न्यूनीकरण मात्र होइन, स्वस्थ एवं समतामूलक समाज निर्माणमा सघाउ पुग्थ्यो कि ?
जेठ १६,काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले...
फागुन १९, धनुषा । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले...
फागुन ९, काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई...
माघ १९, काठमाडौं । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक...
माघ १३, काठमाडौं । नयाँ वानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन...
माघ ११, काठमाडौं ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स...
माघ ९, धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना...
माघ ८, काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ...
पुष २७, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा आज मिति २०७९...