असार २१, ललितपुर । माइतीले दिएको पेवामा छोराबुहारीले आँखा गाडेपछि ७५ वर्षीया तारादेवी खड्कीलाई ज्यान जोगाउनै मुस्किल भएको छ ।
ललितपुरको लगनखेल थापाहटीकी ७५ वर्षीया तारादेवीलाई सम्पत्तिका लागि आफ्नै छोराबुहारी दुस्मन हुँदा कतिखेर ज्यान जाने हो भन्ने पिरलो भएको हो ।
‘कपाल सेताम्मे छ । आँखा पनि राम्ररी देख्दिनन् । गाला खुम्चिएर मुजा परेका छन् । तर बुढेसकालमा उनको मनमा शान्ति छैन । आफ्नै छोराले कतिखेर मार्ने हो । कति खेर पिट्ने हो भन्ने त्रासमा छन्, उनी ।
‘के गर्ने नानी, सम्पत्तिकै कारण अहिले छोराहरु सत्रु भएका छन् । कतिखेर मार्छन् थाहा छैन’ दुई हप्ताअघि ललितपुरको लगनखेलस्थित वकिल कार्यालयमा भेटिएकी खड्कीले दुःखको पोको यसरी फुकाइन् ।
१३ वर्षको उमेरमा विवाह गरेकी खड्कीले दश सन्तान जन्माइन् । तर अहिले चार छोरा र तीन छोरी गरी सात सन्तान मात्रै जीवित छन् । छोरा र छोरी मध्ये कान्छो छोरा र एक छोरी मात्रै उनीसँगै बस्दछन् ।
आफूसँग भएका छोराछोरीको कमाइ नहुँदा र अन्य विवाह गरेर अन्यत्र बसेपछि उनी विचल्लीमा छिन् । विचल्लीमा मात्रै होइन, सन्तानबाटै असुरक्षामा छन् ।
आफ्नै सन्तानबाट मार्ने धम्की
सम्पत्तिमै कुरा नमिल्दा काइलो छोरा मनोजले मार्ने धम्की दिन्छन् । ‘चक्कु देखाएर यही चक्कुले काट्छु भन्छ । कुट्छ । लात्ताले छातीमा हिर्काउँछ’ तारादेवीले आँशु चुहाउँदै भनिन् ।
मनोजले रातीको समयमा घरमा आएर डरत्रास देखाउँने गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘मार्दिन्छु भन्छ । उसलाई देख्यो कि आधा प्राण जान्छ । आफैले जन्माएको सन्तानले यसो गर्दा निकै पीडा हुन्छ ।’ छोराले घरमै पुलिसको भ्यान ल्याएर आफूलाई प्रहरीबाट पक्राउ गराएको पनि तारादेवीले बताइन् ।
२०५५ साल साउनमा श्रीमान पूर्ण बहादुरको मृत्यु भएपछि आम्दानीको स्रोत नहुँदा श्रीमानको नाममा रहेको सम्पत्ति बेचबिखन गरी खड्कीले छोराछोरीलाई लालन पालन गर्दै आएको बताइन् ।
अहिले उनीसँग माइतीले दिएको आठ आना जग्गा छ । उनको आमा पनि माइतीमै बस्दै आएकी थिइन् । उनी पनि सोही घरमा बसेकी थिइन् ।
माइतीपट्टिकी हजुर आमाको एक मात्रै छोरी भएकाले पनि तारादेवीले सो सम्पत्ति पाएकी थिइन् । सोही सम्पत्तिकै कारण घरले जाजा र घाटले आइजा भन्ने उमेरमा छोराहरुले शारीरिक र मानसिक यातना दिने गरेको बताइन् ।
‘मेरो पेवालाई अंशबण्डा गर्नुपर्छ भन्छन् । तर आमाको रेखदेख गर्नुपर्छ भन्ने ज्ञान छैन । उल्टै छात्तीमा लात्ताले हान्दै मार्न खोज्छ छोराले’ तारादेवीले दुखेसो पोखिन् ।
आफूलाई आमाले अंश नदिएको र आमा बस्दै गरेको घरलाई नै भाग लगाएर बाँडफाँड गर्नुपर्ने भन्दै छोरा मनोजले पाँच वर्षअघि जिल्ला अदालत ललितपुरमा मुद्दा समेत हालेको उनले बताइन् ।
अदालतले मनोजकै पक्षमा फैसला गरिदियो । तर उनले घर नै आधा पाउनुपर्ने माग राखेसँगै सम्पत्ति भने बाँडफाँड हुन नसकेको उनी बताउँछिन् ।
अल्सरको बिरामी
७५ वर्षीया खड्की लामो समयदेखि अल्सरको बिरामी हुन् । दायाँ खुट्टामा किला बिझेसँगै उनको खुट्टामा अल्सर भएको छ । उनी काभ्रेस्थित आनन्दवन हस्पिटलमा उपचाररत छिन् । उपचारमा कुनै पनि छोरा बुहरीले सहयोग नगरेको उनले बताइन् ।
स्वेच्छाले बेच्ने चाहाना
खड्की आफ्नो आमाले दिएको सम्पत्ति स्वेच्छाले बेच्न चाहान्छिन् । उनी भन्छिन्, ‘यो घरजग्गा मेरो माइतीले दाइजोका रुपमा दिएकाले म स्वेच्छाले बेच्न चाहन्छु ।’ आफू बिरामी हुँदा समेत छोराहरुको हेरचाह नपाउँदा स्वेच्छाले घर र जग्गा बेच्न चाहेको उनले बताइन् ।
उनका अनुसार सोही सम्पत्तिका लागि जेठी बुहारीले समेत मुद्दा दर्ता गराएकी थिइन् ।
जीवन रक्षाको माग गर्दै प्रशासनमा निवेदन
खड्कीले छोराबाटै असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय ललिपपुरमा २०७४ असोजमा आफ्नै छोरालाई विपक्षी बनाएर निवदेन दिइन् ।
निवदेनमा यस कार्यालयबाट यथाशिघ्र पक्राउ गरी जीउ ज्यान, धन सम्पत्तिको रक्षा गरी शान्ति सुरक्षा कायम गरी यस्तो अमानवीय किसिमको कार्य भएको भन्दै बारबाहीको माग गरिएको थियो ।
प्रशासनले छोरालाई समेत प्रशासनमा झिकायो । वृद्धा आमालाई डरधम्की नदिने र लालनपालन गर्ने कागज पनि भयो । तर छोरा मनोजले भने आफूलाई शारीरिक र मानसिक यातना दिन नछोडेको उनी बताउँछिन् ।
के छ कानूनमा
मूलुकी ऐनको महल १४ को स्त्री अंश धन सम्बन्धि व्यवस्थामा कन्या, सधवा वा विधवा स्वास्नीमानिसले आफनो आर्जनको चल अचल आफनो खुश गर्न पाउँछन् भनेर उल्लेख छ ।