साउन १५, काठमाडौं । मेरी स्टोप्स सानैदेखि असाध्यै सुन्दर थिइन् । १२ वर्षदेखि उनले स्कुले केटाबाट प्रेम पत्र पाउँथिन् र मख्ख पर्थिन् । केही वर्षमै उनमा सौन्दर्यको घमन्ड बढ्न थाल्यो । उनका इन्जिनियर बुवा हेनरी स्टोप्सले यो कुरा थाहा पाए । यदि छोरीमा यस्तै घमन्ड बढ्दै जाने हो भने उनको भविष्य विग्रन्छ भन्ने पक्का थियो । बुवाले मेरीलाई सम्झाउँदै भने, ‘प्यारी मेरी, तिमी १६ वर्षकी भयौ । १६ वर्षमा सबै युवती सुन्दर नै हुन्छन् । त्यसमा के आश्चर्य भयो र रु जो महिला ६० वर्षमा पनि सुन्दर हुन्छन्, त्यो पो सुन्दरी हो ।’
मेरीको दिमागले यो कुरा टिप्यो । केही दिनपछि मेरीले बुवालाई सोधिन्, ‘बुवा तपाईंले भनेको कुरा सहि हो । मेरो स्कुलकी टिचर ५० वर्ष नपुग्दै नराम्री भैसकिन् । उनी पनि असाध्यै सुन्दर थिइन् रे । म ६० वर्षमा पनि सुन्दर हुन चाहन्छु, त्यसको लागि के गर्नुपर्छ ?’
हेनरीले मेरीको निधारमा चुम्बन गर्दै भने, ‘मेरी, तिमी यस्तो काम गर, जसले तिमीलाई सय वर्षसम्म पनि सुन्दर बनाउन सक्छ । जस्तो, समाजका लागि कुनै भलाईको काम, कुनै लेखन वा अभिनय।
म साप्ताहिकमा हप्तै पिच्छे यस्तै सुन्दरी भेट्छु, जसमा आफ्नो सौन्दर्यको ठूलो अभिमान हुने गर्छ । म फेसबुकमा दैनिक यस्ता युवती भेट्छु, जसको फोटोले पाएका सय लाइकलाई आफ्नो सौन्दर्यको मानक ठान्छन् । कसैसँग बोल्दा वा कुराकानी गर्दा उनीहरु ठान्छन्, उ मेरो सौन्दर्यमा मख्ख परिरहेको छ । १५ वर्ष यता मैले धेरै सुन्दरीहरुसँग भेटे । हाउभाउले लाग्छ, उनीहरुले स्कुल–कलेजमा केटाहरुबाट धेरै प्रेमपत्र त पाए तर मेरीको जस्तो उनीहरुको समस्या बुझिदिने बुवा पाएनन् । दोष सुन्दरीहरुको मात्र होइन, उनीहरुको अहमता बढिरहेको बुरा बुझ्न नसक्ने परिवारका सदस्यहरुको पनि हो ।
एउटा कुरा बताइहालुँ, बुवाले सम्झाएपछि मेरी स्टोप्स चर्चित यौनलेखिका भएर निस्किइन् । उनको पुस्तक ‘प्रेम विवाह कि विवाहपछि प्रेम’ पुस्तक विश्वका चर्चित पुस्तक मध्ये एक भयो । विश्वमा बढिरहेको जनसंख्या बृद्धिका लागि कन्डम, पिल्स जस्ता अस्थाइ साधनको वकालत गर्ने उनी महिलो पहिला हुन् । अहिले विश्वभरी नै उनको नाममा मेरी स्टोपप्स क्लिनिक खुलेका छन् ।
महिलाको सौन्दर्य जीवन बिमा होइन, जसको बलमा सुखी जीवन पाउन सकियोस् । यो उनीहरुलाई इश्वरले दिएको अनुपम बरदान हो । हे सुन्दरी, भगवानले तिमीलाई सुन्दर बनाएर नयाँ मेरी जन्माउन खोजिरहेका छन् । यो कुरा अहिले त बुझ्न सक्तिनौ, जब ६० वर्षकी हुनेछौ, त्यो बेला समय बितिसकेको हुनेछ ।
लेखक तथा पत्रकार आश्विनी कोइरालाको फेसबुकबाट साभार गरिएको लेखन् ।